सिमेन्टको व्यापारमा ‘युनाइटेड’ को उचाइ : एक वर्षमै साढे २ अर्बको व्यापार, साढे ६ अर्बको कर्जा क्षमता

काठमाडौं । नेपाली निर्माण बजारमा सशक्त उपस्थिति जमाउँदै आएको युनाइटेड सिमेन्टले व्यापार विस्तारमा जोड दिएको छ ।
नेपाली सिमेन्ट उद्योगमा कम्पनी आफ्नो पकड थप मजबुत बनाएको छ । कम्पनीले एकै वर्ष साढे २ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ ।
कम्पनीले गत वर्ष सन् सन् २०२४ मा २ अर्ब ४६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । केएल दुगड ग्रुप अन्तर्गत सञ्चालनमा रहेको यस कम्पनीले अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत व्यापार वृद्धि गर्न सफल भएको देखिन्छ ।
पछिल्ला केही वर्षहरूमा कम्पनीको कारोबार स्थिर रूपमा बढ्दै गएको देखिन्छ । सन् २०२३ मा २ अर्ब ३८ करोड ६० लाख, सन् २०२२ मा २ अर्ब ७ करोड ९० लाख र सन् २०२१ मा २ अर्ब ३४ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
व्यापारसँगै कम्पनीको नाफामा पनि बढोत्तरी नै देखिएको छ । गत वर्ष सन् २०२४ कम्पनीले ३.३४ प्रतिशत बढाएको थियो । लगातार सुधार हुँदै आएको मुनाफाको अनुपातले कम्पनीको व्यवस्थापन तथा बजार रणनीति प्रभावकारी रहेको संकेत गर्छ ।
सन् २००७ मा स्थापना भएको युनाइटेड सिमेन्टले क्लिंकर उत्पादनदेखि सिमेन्ट ग्रान्डिङसम्मको प्रक्रिया आफ्नै उद्योगमार्फत सञ्चालन गर्दै आएको छ । धादिङको नौबिसेमा अवस्थित यस उद्योगले वार्षिक ३ लाख ३० हजार मेट्रिक टन क्लिंकर र ३ लाख ६६ हजार ३ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ ।
कम्पनीले दुई ब्राण्डमार्फत उत्पादन बजारमा ल्याउने गरेको छ । ओपीसी सिमेन्ट युनाइटेड ब्राण्ड अन्तर्गत र पीपीसी सिमेन्ट राजधानी ब्राण्डमार्फत बजारमा आफ्नो बलियो उपस्थिति जनाएको छ ।
सन् २०२४ को जुनमा कम्पनीले पब्लिक कम्पनीको रूपमा रूपान्तरण भएसँगै थप विस्तार र पारदर्शिता अभिमुख योजनाहरू अघि बढाएको छ । वर्तमानमा युनाइटेड सिमेन्टमा नरेश दुगड, कुमुदकुमार दुगड र विकास दुगडको समान रूपमा ३३–३३ प्रतिशत स्वामित्व रहेको छ ।
साढे ६ अर्बको कर्जा क्षमता
आर्थिक पक्षमा कम्पनीले दीर्घकालीन र अल्पकालीन दुवै प्रकारका कर्जाका लागि कुल ६ अर्ब ४२ करोड ९० लाख रुपैयाँ बराबरको रेटिङ गराइसकेको छ । जसमध्ये ४ अर्ब २२ करोड ९७ लाख दीर्घकालीन र २ अर्ब २० करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि हुने बताइएको छ ।
निरन्तर उत्पादन वृद्धि, सुसंगत बजार नीति र पारदर्शी वित्तीय योजनाका साथ युनाइटेड सिमेन्टले नेपाली निर्माण क्षेत्रमा दीगो प्रभाव पार्ने संकेत देखाउन थालेको छ ।