घरेलु टायल उद्योगमा ‘पशुपति सेरामिक’ को गतिशील प्रवेश, व्यापार रफ्तार कस्तो ? « Arthapath.com
२० असार २०८२, शुक्रबार

घरेलु टायल उद्योगमा ‘पशुपति सेरामिक’ को गतिशील प्रवेश, व्यापार रफ्तार कस्तो ?



काठमाडौं । नेपाली निर्माण क्षेत्रको बढ्दो मागसँगै भुइँ र पार्केटिङ टायल उत्पादनमा होमिएको पशुपति सेरामिक प्रालिले छोटो समयमा नै उल्लेखनीय व्यापारिक उपस्थिति देखाएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कुल ७५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।

सन् २०२४ को अप्रिलदेखि व्यावसायिक उत्पादन सुरु गरेको कम्पनीले पहिलो वर्षको तीन महिनामै १५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२३ मा स्थापना भएको यस कम्पनीले छोटो समयमै घरेलु टायल बजारमा बलियो आधार बनाउँदै आएको छ।

बारा, सिमरास्थित आधुनिक उत्पादन इकाइमार्फत कम्पनीले वार्षिक ८१ हजार मेट्रिक टन टायल उत्पादन गर्ने क्षमता राख्दछ । पशुपति सेरामिकले बजारमा भुईँ टायलदेखि पार्केटिङ टायलसम्मका विभिन्न वर्ग र डिजाइनका सामग्री बिक्री वितरण गर्दै आएको छ ।

सन् २०२५ को ९ महिनामा ७५ करोड रुपैयाँभन्दा बढीको कारोबारबाट कम्पनीले २५ प्रतिशत नाफा कमाएको जनाएको छ, जुन निर्माणाधीन कम्पनीका लागि उल्लेखनीय मानिन्छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९४ करोड रुपैयाँको रेटिङ गराइसकेको छ, जसमा ६४ करोड दीर्घकालीन र ३० करोड अल्पकालीन कर्जाका लागि हो ।

कम्पनीले सुरुमा निर्माण लागत ८१ करोड ८० लाख रुपैयाँ अनुमान गरेको भए पनि कच्चा सामग्रीको मूल्यवृद्धिका कारण लागत बढेर हाल एक अर्ब रुपैयाँ पुगेको छ । अहिलेसम्म लगानीकर्ताहरूबाट ३३ करोड रुपैयाँ बराबरको पूँजी संकलन भइसकेको छ ।

पशुपति सेरामिकको बजार सम्भावनालाई थप बल पु¥याउने पक्ष सरकारी नीति हो । टायलको आयातमा ४० प्रतिशत भन्सार शुल्क लाग्ने भए पनि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा मात्र ५ प्रतिशत शुल्क लाग्ने व्यवस्था छ । यसले घरेलु उत्पादनलाई अन्तर्राष्ट्रिय टायलसँग प्रतिस्पर्धा गर्न सहयोग पु¥याइरहेको कम्पनीको विश्वास छ ।

कम्पनीमा तुलसी साहको ४८ प्रतिशत, अशोककुमार चाङ्नानलाल भिवानीको २६ प्रतिशत र याग्नेस नग्जीभाइ तथा साराङभाइ दिनेसभाइको समान रूपमा १३–१३ प्रतिशत स्वामित्व रहेको छ ।

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै विदेशी आयातमा निर्भरता घटाउने लक्ष्य लिएको पशुपति सेरामिकले निकट भविष्यमा अझ विस्तार हुने संकेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस्