भटमासको तेलमात्रै झण्डै १ खर्बको निर्यात, तर छैन आन्तरिक उत्पादन « Arthapath.com
२४ असार २०८२, मंगलबार

भटमासको तेलमात्रै झण्डै १ खर्बको निर्यात, तर छैन आन्तरिक उत्पादन



काठमाडौँ । नेपालले पछिल्लो ११ महिनामा भटमासको तेलमात्रै ९३ अर्ब ५१ करोड ६७ लाख ६२ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । यो रकम गत वर्षको यति नै अवधिको तुलनामा १०७ प्रतिशत बराबर हो । अर्थात् पोहोरभन्दा १०६ प्रतिशतले यस्तो तेलको निर्यात बढेको देखिएको छ ।

यो आर्थिक वर्षमा नेपालको कुल निर्यात २ खर्ब ४७ अर्ब ५७ करोडमध्ये यो एउटै वस्तुले ३७.७८ प्रतिशत हिस्सा ओगट्छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ११ महिनाको आर्थिक तथ्यांकले यस्तो देखाएको हो ।

नेपालबाट निर्यात हुने शीर्ष २० वस्तुले कुल निर्यातको ७४ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने भए पनि सूचीको पहिलो स्थानमा रहेको भटमासको तेलमात्रै ३८ प्रतिशत हाराहारी पुगेको हो ।

ठीक एक वर्ष अघिको स्थिति हेर्ने हो भने जिंक सिट (जस्तापाता बनाउने अर्ध–तयारी वस्तु) र पोलिस्टर धागोको निर्यात शीर्ष सूचीमा थियो ।

यस पल्ट पनि पोलिस्टर धागो दोस्रो स्थानमै छ, तर यसको हिस्सा कुल निर्यातमा केवल ५ प्रतिशत छ । यसरी साढे २ खर्बको निर्यातमा झण्डै १ खर्बको विशाल हिस्सेदारी देखाएको भटमासको तेलबारे थप तथ्यांकहरु के छन् त ?

यो पुरै तेल भारतमा निर्यात भएको हो । नेपालको सबैभन्दा ठूलो निर्यात भएजस्तै, भारतमा भएको सर्वाधिक निर्यात पनि यही हो । यस अवधिमा नेपालबाट भारतमा निर्यात भएकोमध्ये ४६.५५ प्रतिशत हिस्सा भटमासको तेलले ओगटेको छ ।

त्यसो त, भारतमा पोलिस्टर धागो, जिंक सिट, जुटका सामान, जुस, अलैँची, चिया, आयल केक, कपडाजस्ता वस्तुको पनि उच्च अंकमै निर्यात् भएको छ ।

क्यानडा, चीन, भारत, अमेरिकाबाट भटमास आयात भएको देखिन्छ । त्यस्तै, डेनमार्क, हङकङ, अस्ट्रेलिया, बेल्जियम, इटली, जापान, ब्रिटेन र अमेरिकामा भटमास निर्यात पनि भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

यही ११ महिनामा नेपालले ९४ अर्ब ७७ करोड ५१ लाख ७२ हजारभन्दा धेरैको कच्चा सोयाबिन तेल आयात गरेको छ । उक्त तथ्यांकले झण्डै ९५ अर्बको कच्चा तेल आयात गरेर साढे ९३ अर्बको तेलमात्रै निर्यात भएको देखिन्छ ।

यसरी देशको सबैभन्दा मुख्य निर्यात वस्तुको हालत यहाँको उत्पादनसँग जोडिएको छैन । बरु कच्चा तेलको प्रशोधन गरेपछि नेपालभित्रै पनि आयातित भटमासको तेल खपत भइरहेको देखिन्छ ।

तेल उद्योगीहरुको दाबीलाई पत्याउने हो भने उनीहरुले नेपालमा ४० प्रतिशत मूल्य अभिबृद्धि गरिरहेका छन् । यदी त्यसो हो भने नेपालमा आयत भएको भटमासको कच्चा तेलमध्ये करीब ४१ प्रतिशत स्वदेशमै खपत भएको हुनुपर्छ । त्यसलाई मूल्यमा हेर्ने हो भने ३८ अर्ब ६६ करोड ५१ लाख हाराहारी हुनुपर्ने हो ।


प्रतिक्रिया दिनुहोस्