चौधरी ग्रुप र बिकाजी फुड्सको सहकार्य, अब प्रिमियम भारतीय स्न्याक्स नेपालमै उत्पादन हुने
काठमाडौं । नेपालको स्न्याक्स बजारलाई नयाँ स्तरमा पुर्याउने उद्देश्यसहित चौधरी ग्रुपले भारतको अग्रणी स्न्याक्स ब्रान्ड बिकाजी फुड्ससँग रणनीतिक साझेदारी गरेको छ ।
चौधरी ग्रुप र बिकाजी फुड्स इन्टरनेशनल लिमिटेड बीच भएको ५०–५० प्रतिशत साझेदारीमा आधारित यो सम्झौतामार्फत भुजिया, नमकीन, पापड र प्याकेज्ड मिठाईजस्ता प्रिमियम गुणस्तरका बिकाजीका परिकारहरू नेपालमै उत्पादन हुनेछन् ।
नेपालमै अत्याधुनिक उत्पादन फ्याक्ट्री स्थापना गर्न दुवै कम्पनीले पूँजी संयुक्त रूपमा लगानी गर्ने भएकाले उत्पादन छिट्टै सुरु हुने र बजारमा उपलब्ध हुने दुवै कम्पनीहरुले विश्वास लिएका छन् ।
सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले यस साझेदारीले चौधरी ग्रुपको नेपालमा विश्वस्तरीय नयाँ ब्राण्ड विस्तार गर्ने योजनामा थप मद्दत पुगेको बताए ।
‘यसले रोजगारी सिर्जना गर्ने, आपूर्ति श्रृंखलालाई सुदृढ बनाउने र खाद्य उद्योगलाई गतिशील बनाउन मद्दत गर्नेछ। हामी भारतका विविध स्वादलाई नेपालीहरूको दैनिक जीवनको सहज हिस्सा बनाउने लक्ष्यमा छौं’, चौधरीले भने ।
त्यस्तै, बिकाजी फुड्स इन्टरनेशनलका प्रबन्ध निर्देशक दीपक अग्रवालका अनुसार नेपाल एक रणनीतिक बजार हो र यो सम्झौता बिकाजीको विश्वव्यापी विस्तार यात्रामा महत्वपूर्ण उपलब्धि समेत हो ।
‘सीजीको बलियो बजार नेतृत्व र गहिरो स्थानीय बुझाइको संयोजनले हामीलाई नेपाली उपभोक्ताका लागि गुणस्तरीय र सुलभ उत्पादन पु¥याउन सक्षम बनाउनेछ । व्यापारभन्दा बाहिर पनि यो साझेदारीले समुदाय सशक्तीकरण, आपूर्ति श्रृंखला मजबुत बनाउने र नेपालकै खाद्य प्रणालीलाई उन्नत बनाउने लक्ष्य राखेको छ,” उनले भने ।
नेपालको एफएमसीजी बजार अहिले तीव्र गतिमा विस्तार भइरहेको छ । करिब ३ करोड जनसंख्या र शहरी उपभोक्तामाझ मागको वृद्धिसँगै, एफएमसीजीको बजार वार्षिक २० प्रतिशतको दरले वृद्धि भैरहेको छ ।
नेपालमा एफएमसीजीको बजार १ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ। बिकाजीको भरोसायोग्य ब्रान्ड र उत्पादनको उत्कृष्टता तथा सीजीको स्थानीय दक्षता, राष्ट्रव्यापी वितरण नेटवर्क र उपभोक्ता बुझाइको संयोजनले यो साझेदारीलाई दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
रणनीतिक साझेदारी अन्तर्गत चौधरी ग्रुपको नेतृत्वमा नेपालमै अत्याधुनिक उत्पादन तथा प्याकेजिङ्ग इकाइ स्थापना गरिनेछ । यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ, स्थानीय उद्यमशीलता र आपूर्ति श्रृंखला सुदृढ बनाउनेछ, स्वच्छ, सुलभ र नेपाली संस्कृतिसँग मेल खाने उत्पादन उपभोक्तासम्म पु¥याउनेछ र नेपाललाई क्षेत्रीय खाद्य निर्यातमा बलियो मुलुकका रूपमा स्थापित गर्नेछ । दुवै कम्पनीले नवप्रवर्तन प्रवद्र्धन, समुदाय सशक्तीकरण र नेपालकै आर्थिक तथा औद्योगिक वृद्धिमा योगदान पु¥याउने साझा अडान व्यक्त गरेका छन् ।
चौधरी ग्रुप हाल ३५ देशमा २०० भन्दा बढी कम्पनी सञ्चालनमा गरिरहेको नेपालको पहिलो बहुराष्ट्रिय कम्पनी हो । एफएमसीजी, आतिथ्य, शिक्षा, पूर्वाधार, अटोमोबाइल तथा वित्तीय क्षेत्रमा सक्रिय चौधरी ग्रुप विश्वव्यापी रूपमा मुख्यतः ‘वाईवाई’ नूडल्सका लागि परिचित छ ।
बिकाजी फुड्स इन्टरनेशनल लिमिटेड १९९३ मा स्थापना भई बिकानेरमा मुख्यालय रहेको भारतको तेस्रो ठूलो एफएमसीजी ब्रान्ड हो । भुजिया, नमकीन, मिठाई, पापड र फ्रोजन फुड्सजस्ता उत्पादनमा यसको पोर्टफोलियो छ, जसका परिकारहरू २५ भन्दा बढी देशमा निर्यात हुन्छन् र भारतसहित विश्वभर लाखौं उपभोक्तालाई सेवा पु¥याइरहेको छ ।















