इरान–इजरायल द्वन्द्वको छायामा दुबई, नेपाली लगानीकर्ताको भविष्य अनिश्चित भएको हो ?
काठमाडौँ। मरुभूमिको यो चकाचौध सहर, जुन दशकौँदेखि विश्वकै सुरक्षित लगानीको ‘स्वर्ग’ मानिँदै आएको छ, आज क्षेत्रीय भू–राजनीतिको एउटा कठिन मोडमा उभिएको छ।
इरान र इजरायलबीचको बढ्दो सैन्य तनावले खाडी क्षेत्रको आकाशलाई मात्रै धुमिल बनाएको छैन, दुबईको घरजग्गा (रियल इस्टेट) र पर्यटनमा आधारित अर्थतन्त्रमा समेत अनिश्चितताको कालो बादल मडारिन थालेको छ।
खाडीको यो अशान्तिले दुबईमा साम्राज्य खडा गरेका नेपाली व्यवसायीदेखि लिएर आफ्नो पुँजी बाहिर पठाउने मारवाडी समुदायसम्मलाई एउटा गम्भीर प्रश्नको घेरामा ल्याइदिएको छ- के दुबई अझै सुरक्षित छ?
‘रेन्टल इन्कम’ को संकट र मूल्यको लुकामारी
दुबईको अर्थतन्त्रको मेरुदण्ड मानिने रियल इस्टेट बजार अहिले ‘पर्ख र हेर’ को अवस्थामा छ। विगतमा दुबईमा एउटा सामान्य ‘स्टुडियो अपार्टमेन्ट’ (एउटै कोठाभित्र किचन र बेड समेत सबैथोक भएको)को मूल्य २ देखि ५ लाख दिरामसम्म पर्ने गर्थ्यो।
सहरी केन्द्रमा ५ लाख र अलि टाढाका क्षेत्रमा २ लाख दिराममा पाइने यी कोठाहरू लगानीकर्ताका लागि ‘सोफामा बसेर खाने’ माध्यम थिए। १० लाख दिराम (करिब साढे ३ करोड नेपाली रुपैयाँ) हालेर ‘वान बीएचके’ फ्ल्याट किन्नेहरूले मासिक भाडाबाटै बैंकको किस्ता र खर्च धान्ने गर्थे।
तर, इरान युद्धको रापले यो गणित बिगारिदिएको छ।
१. पर्यटनमा पूर्णविराम: युद्धका कारण हवाई मार्ग असुरक्षित हुँदा र मानिसहरूमा डर पैदा हुँदा दुबईको पर्यटन आयमा ह्रास आएको छ। यसले गर्दा ‘सर्ट टर्म रेन्टल’ व्यवसाय धराशयी भएका छन्।
२. रोजगारी र पलायन: कयौँ साना व्यवसायहरू बन्द हुने चपेटामा छन्, जसका कारण मानिसहरूको रोजगारी गुमेको छ। भाडामा बस्नेहरू नहुँदा घरधनीहरूलाई बैंकको किस्ता तिर्न धौ–धौ पर्ने संकेत देखिन थालेका छन् ।
३. बिक्रीको चाप: यदि युद्ध लम्बिएमा ‘उबर’ चलाउने सामान्य चालकदेखि ठूला अपार्टमेन्ट होल्डरहरूले आफ्ना सम्पत्ति र सवारी साधन बेचेर बाहिरिने सम्भावना बढेको छ।
यद्यपि, बजारका जानकारहरूका अनुसार दुबईको जग यति सजिलै ढल्नेवाला छैन। मूल्य केही स्तरसम्म तल झर्नेबित्तिकै नयाँ लगानीकर्ताहरू ‘सस्तो’ मा उठाउन तयार भएर बसेका छन्। आंशिक क्षतिले यो सहरको अर्थतन्त्रलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्दैन।
‘गोल्डेन कार्ड’ को मोह
दुबईको यो उतारचढावपूर्ण बजारमा नेपाली व्यवसायीहरूले कसरी अवसर खोज्छन् भन्ने एउटा उदाहरण हुन्- नेत्रप्रसाद सापकोटा। ‘सिल्भर स्पून’ रेस्टुरेन्ट मार्फत नेपाली स्वाद पस्किरहेका सापकोटाले कोभिड महामारीको चरम संकटलाई अवसरमा बदलेका थिए।
महामारीका बेला जब सबै डराएका थिए, उनले २० लाख अमेरिकी डलर पर्ने प्रोपर्टी मात्र ५ लाख डलरमा खरिद गरे। कोभिड सकिएपछि दुबईको बजारमा आएको ‘बूम’ ले उनको सम्पत्तिको भ्याल्यूएशन ह्वात्तै बढायो।
सोही सम्पत्तिको मूल्यांकनलाई आधार बनाएर उनले युएईको प्रतिष्ठित ‘गोल्डेन कार्ड’ (१० वर्षे गोल्डेन भिसा) प्राप्त गरे। युएईको नियम अनुसार १० लाख डलर (करिब १३ करोड नेपाली रुपैयाँ) बराबरको प्रत्यक्ष लगानी गर्ने वा त्यति मूल्यको सम्पत्ति जोड्ने विदेशीले यो भिसा पाउँछन्।
युद्धका कारण यदि ठूला लगानीकर्ताहरू दुबईबाट बाहिरिए भने, नेपाल जस्ता ‘तेस्रो विश्व’ का लगानीकर्ताहरूका लागि सस्तोमा सम्पत्ति किनेर गोल्डेन भिसा हत्याउने यो अर्को सुनौलो मौका हुन सक्छ।
पुँजी पलायन: फर्किँदैन मातृभूमिको याद
नेपालका लागि सबैभन्दा ठूलो चिन्ताको विषय दुबईको युद्ध होइन, बरु यहाँबाट बाहिरिरहेको पुँजी हो। बैंकर र आर्थिक विश्लेषकहरूका अनुसार नेपालको मारवाडी समुदाय र ठूला घरानाहरूले आफ्नो लगानी भारत र दुबईतर्फ केन्द्रित गरिरहेका छन्।
नेपालमा राम्रो व्यावसायिक पहिचान बनाएका चन्द्रप्रकाश (सीपी) खेतान को उदाहरण यसका लागि पर्याप्त छ। गोर्खा ब्रुअरीको स्वामित्व ‘आइसबर्ग इन्डिया’ लाई बेचेर भारतको ठूलो औद्योगिक स्वामित्व लिएका खेतान अन्ततः नेपाल फर्किएनन्।
नेपालमा करिब ३ करोड रुपैयाँमा फुटबल फ्रेन्चाइज किन्न सकिने अवस्था हुँदाहुँदै उनले स्विट्जरल्याण्डमा ‘बी ग्रेड’ को फुटबल क्लब किन्नु र दुबई-सिंगापुरमा लगानी विस्तार गर्नुले के संकेत गर्छ भने- नेपाली पुँजीले अब स्वदेशमा भविष्य देख्न छाडेको छ।
त्यसैगरी, विद्यार्थी भिसामा अस्ट्रेलिया गएका युवाहरूले पनि आफ्नो कमाइ र पुँजी उतै घरजग्गामा खन्याइरहेका छन्। जानकारहरू भन्छन्, “एकपटक पैसा र मान्छे बाहिरिएपछि उनीहरू फर्केर आउने सम्भावना निकै कम छ।”
इरान युद्धले दुबईको चमक केही समयका लागि धमिलो बनाउन सक्छ, तर यसले नेपाली लगानीकर्ताका लागि ‘सस्तोमा किन्ने’ नयाँ झ्याल पनि खोलिदिएको छ। तर, दुःखद पक्ष के छ भने, यो लगानी र यसबाट हुने मुनाफा कहिल्यै नेपाल फर्कने छैन।
दुबईको मरुभूमिमा नेपाली पसिना र पुँजीले महल त बनाउला, तर नेपालको अर्थतन्त्र भने यो ‘पुँजी पलायन’ को मारमा परिरहने देखिन्छ।















