गाँजाले दिमाग दोब्बर भ्रमित, स्मरणशक्तिमा असर ! « Arthapath.com
७ फाल्गुन २०७९, आईतवार

गाँजाले दिमाग दोब्बर भ्रमित, स्मरणशक्तिमा असर !



काठमाडौं । शिवरात्री पर्व मनाउने नाममा खुलेरै लागुपदार्थ गाँजा खानेहरु पाईन्छन् । त्यसो त शिवरात्रीलाई खुल्ला रुपमा विकृति फैलाउने र गाँजा तथा भाङ खाने पर्वका रुपमा लिएको पाइन्छ । प्रहरीले कडाई गरेपनि प्रहरीको आँखा छलेर पशुपति क्षेत्रमा साधुहरुले लुकेर गाँजा बेचिरहेका हुन्छन् ।

भगवान शिवले भांङ, धतुरो आदि विभिन्न पदार्थहरू सेवन गर्ने र एक पौराणिक कथा अनुसार विष समेत पिएको हुनाले भाङ प्रयोग गरी शिवजी जत्तिकै शक्तिशाली या कमसेकम उनको भक्त ठान्ने बाबाजीहरू शिवरात्रीको बेलामा भेटिन्छन् । त्यही मौकामा गाँजा तान्ने र भांग खाने-पिउने युवायुवती पनि भेटिन्छन् । त्यतिमात्र होईन कैयौ सेलिब्रेटी तथा सामाजिक व्यक्तित्वहरु समेत यसमा जानी-नजानी सामेल हुने गरेका छन् ।

जसले उनीहरुले सामाजिक जीवनमा ठुलो हैरानी समेत बेहोर्नुपरेको सुन्न पाइन्छ । एउटा गाँजा को विरुवामा झण्डै ४ सय रसायनिक तत्वहरू हुन्छन् । यिनीहरू मध्ये चार तत्वहरूले मस्तिष्कमा विशेष असर पु-याउछ भने यसको दीर्घ सेवनले डिप्रेसन, आत्तिने रोग र कडा मानसिक रोग (साइकोसिस) हुने गर्दछ ।

गाँजाको असर

यसको प्रयोगले मानिसको मनमस्तिष्क र शरीरमा विविध असरहरु उत्पन्न हुन्छ । मानसिक रुपमा यसको सेवनपछि तत्कालीन असर स्वरुप कतिलाई छट्पटी र मनोत्राससम्म भएको देखिन्छ । कतिपय मानिसलाई केहि कुरामा ध्यान केन्द्रित हुने, सोचबिचार र एकाग्र हुने गर्ने, केहि अवस्थाप्रति स्वतः प्रतिक्रिया जनाउने र निर्णय लिने क्षमतामा प्रतिकूल असर गर्छ ।

त्यस्तै कतिपय मानिस छट्पटाउने, डराउने, रुने, कराउने आदि हुन्छ । जबकि अरुलाई यसको असर रहुञ्जेल रमाइलो, आनन्द, स्वच्छन्द, आराम, चैन र पिडारहित अनुभव दिन्छ । शारिरीक असरहरु पनि हुन्छन्, जस्तैः मुटुको चाल बढ्ने, रक्तचाप बढ्ने, सास छिट्छिटो फेर्ने, आँखा रातोपिरो हुने, मुख सुक्ने, भोक लाग्ने आदि ।

दिर्घकालीन र अत्याधिक सेवनले यसकै लत र दुव्र्यसन हुनेगर्छ र अरु विभिन्न मानसिक शारिरीक तथा जटिलताहरु पनि निम्तिन्छन् । कतिलाई अरु अझै हानिकारक लागुपदार्थको समस्यातिर धकेल्ने,उदासिन, पागलपन, छट्पटी लगायत्दख धेरैखालका मानसिक समस्याहरु उव्जिने तथा शारिरीक दृष्टिले कुपोषण, क्षयरोग एड्स लगायतका संक्रमणहरुको सम्भावना बढ्ने गरेको देखिन्छ ।

यस्ता मानसिकरोगको सम्भावना वंशानुगत र अन्य हिसाबले भएका व्यक्तिहरुमा यसको सेवनले सुरुवात हुनमा सघाउ पुयाउने गर्छ । यसले मानसिक समस्या, विशेष गरेर स्किजोफ्रेनिया जस्ता कडा मनोरोग भैसका स्थितिमा रोगलाई जीर्ण र अरु गम्भीर बनाउनपनि भुमिका खेल्नेगर्छ ।

गाँजा सेवनले दिमाग दोब्बर भ्रमित, स्मरणशक्तिमा असर !

विकसित मुलुकहरू प्रतिबन्धित लागूऔषध गाँजाको औषधीय गुण र आर्थिक सम्भावना चिनेर धमाधम ‘गाँजा–युग’ मा फर्किरहेका छन् । नेपालमा पनि यसलाई खुला गर्नुपर्ने बहस शुरू भएको छ । बेलाबेला गाँजा खेतीलाई वैधता प्रदान गर्नेबारे बहस चल्ने गर्छ। गाँजामाथिको प्रतिबन्ध कायमै रहँदा पनि गाँजाबाट निर्मित पतञ्जलिका उत्पादन नेपालमा भित्रिन रोकिएको छैनन् ।

नेपाली सुपरमार्केटमा चीनबाटै भित्रिएको भाङ्गोको दाना पनि निर्बाध बिक्री भइरहेको छ, जुन कानूनतः नेपालमा उत्पादन र बिक्री–वितरण गर्न प्रतिबन्धित छ । तर, भन्सार तिरेर भित्रिएका ती सामग्रीमा कुनै रोकतोक छैन । गाँजामाथिको प्रतिबन्ध हटाउनुपर्ने पक्षधरहरू यो प्रतिबन्धले नेपालीलाई आर्थिक लाभ लिने बाटो समेत छेकेको बताउँछन् ।

विभिन्न अध्ययनको निचोडलाई मान्ने हो भने, गाँजा कुनै बेला नेपालको ग्रामीण अर्थतन्त्रकै मेरुदण्ड थियो । अध्ययनहरूका अनुसार, गाँजामाथिको प्रतिबन्ध यति डरलाग्दो बन्यो, जसले बढाएको गरीबी र अभावले देशमा दशक लामो हिंसात्मक विद्रोहलाई उभिने आधारभूमि र मलजल प्रदान गर्‍यो ।

गाँजामाथि प्रतिबन्ध लाग्नुभन्दा पहिले नेपालमा हेरोइन जस्ता कडा लागूऔषध नै नभएको विज्ञहरुको दावी छ । अहिले एक लाखभन्दा बढी नेपाली हेरोइनको दुर्व्यसनमा छन् । गाँजाको सेवन मुख्यतया दुईथरी हुने गर्छ– औषधिजन्य र मनोरञ्जनका लागि गाँजा स्वास्थ्यका लागि लाभदायक हुने बताएपनि अमेरिकामा गरिएको एक अध्ययनले विपरीत नतिजा देखाएको छ।

प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार गाँजाको नियमीत सेवनले स्मरणशक्तिमा प्रतिकूल असर पर्ने बताएको छ। सोधमा संलग्न मास्ट्रिच्ट युनिभर्सिटी नेदरल्याण्डका प्राध्यापक जोहानेस रामेकर्सका अनुसार, एक सर्को गाँजा सेवन गर्दा दिमाग दोब्बर भ्रमित हुन्छ। अध्ययनका अनुसार, गाँजा सेवन गरेको मान्छेहरू सजिलै भ्रमित हुन्छन्। यसलाई वैज्ञानिकहरूले ‘मिसइन्फर्मेसन इफेक्ट’ भनेका छन्।

यसको अर्थ हो, गाँजा पिएको मान्छेको स्मृतिमा नशामा भएका बेला घटेका घटनाबारे गलत सूचनाहरू संग्रहित भएका हुन्छन्। सेवनकर्ता यति भ्रमित हुन्छ कि, अर्काले सुनाएका कुरा पनि उसलाई आफैँले भोगे झैं भान हुन्छ। झुटो कुरा पनि साँचो प्रतीत हुन्छ। ‘अमेरिकामा एकपछि अर्को राज्यले गाँजालाई वैधता प्रदान गरिरहेका बेला प्रकाशित यो रिपोर्टले निकै अर्थ राख्छ’, अर्की सोधकर्ता एलिजाबेथ लोफ्टसले भनिन्, ‘खासगरी आपराधिक घटनाहरू बढाउन यसले ठूलो भूमिका खेल्ने देखिन्छ।’

एलिजाबेथ क्यालिफोर्निया विश्वविद्यालयमा कार्यरत् मनोविज्ञान विषयकी प्राध्यापक हुन् । भन्छिन्, ‘अनुसन्धान अधिकारीहरूका लागि पनि यो अध्ययन कामलाग्दो छ। नशाको अवस्थामा भएका व्यक्तिहरूसँग सोधपुछ गर्दा प्राप्त हुने सूचना भ्रामक हुनसक्ने रिपोर्टले देखाएको छ।’

नेपालमा कुनै बेला परम्परागत रूपमै गाँजाबाट बनाइएको आयुर्वेदिक औषधि प्रयोग हुन्थ्यो । आयुर्वेदमा ‘विजया’ भनिने गाँजाबाट निर्मित औषधि अनिद्रा, नाकबाट पानी बग्ने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक रोग जस्ता समस्यामा प्रयोग हुने गरेको सिंहदरबार वैद्यखानाको अभिलेखमा देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्