पानीका कारण किन बढ्दै छ संसारभर युद्ध जोखिम ?, यता महाकालीमा नेपाल नाङ्गै « Arthapath.com
२ असार २०८०, शनिबार

पानीका कारण किन बढ्दै छ संसारभर युद्ध जोखिम ?, यता महाकालीमा नेपाल नाङ्गै



काठमाडौं । आजभन्दा १ हजार वर्षअघि दक्षिण भारतमा चोल बंशले राज्य विस्तार गर्दै थियो । करीब १५ सय वर्ष राज गरेको यो बंशले आफ्नो सीमा श्रीलंका र माल्दिभ्समात्रै होइन, पूर्वमा इण्डोनेसिया, मलेसिया र भियतनामसम्म विस्तार गरेको थियो । त्यही चोल बंशी सम्राट राजेन्द्र प्रथमले गंगाजल (गंगा नदीको पानी) लिनका लागि २ हजार किलोमिटर यात्रा गरेका थिए ।

चार वर्षको उक्त सैन्य अभियानमा उत्तरी भारतका कयौं राज्यसँग लडाईँ भए । अनुमानित १ लाख सिपाही लिएर हिँडेका राजेन्द्रले उडिसा, मध्येप्रदेश, छत्तिसगढ, बिहार, बंगाल लगायत क्षेत्रमा सबै युद्ध जितेपछि गंगाजल लगेर गए ।

उक्त गंगाजलले हालको तमिलनाडु राज्यमा ‘गंगाईकोण्ड चोलपुरम’ भन्ने नयाँ राजधानीको शीलान्यास गरे । त्यसैबेला निर्माण भएको वृहदेश्वर मन्दिर आज पनि दक्षिण भारतको शान बनेर ठडिएको छ ।

पानीका लागि संसारभर लगाइँ हुँदै आएका छन् भन्ने यो एक प्राचिनतम उदाहरणमात्रै हो । पछिल्ला दशकमा जलवायु परिवर्तनका कारण हिउँ पग्लिने र मुल सुक्ने समस्याले पानीमाथि नयाँ संकट देखिन थालेको छ । पृथ्वीका हर हिस्सामा पानीको समस्या बढेका छन् । १८ औं शताब्दीसम्म संसारभर राज गरेको स्पेन अहिले खँडेरीसँग जुधिरहेको छ ।

बार्सिलोना वरपरका मानिसको प्यास बुझाउनेवाला सयौं तालहरु सुक्न थालेका छन् । पछिल्लो ११५ वर्षयताकै सबैभन्दा खराब खँडेरीका कारण अहिले स्पेनका तलाउहरुमा १० प्रतिशत पनि पानी बाँकी छैन । जलमग्न रहने तालहरु अहिले सुख्खा मरुभूमिमा बदलिन थालेका छन् । यही कारण सिंचाईको पानी आधा घटाउन भनिएको छ । स्पेनमात्र होइन, सिंगो युरोपको हालत योभन्दा भिन्न छैन ।

साहरा मरुभूमि चिरेर बग्ने नील नदी अहिले अफ्रिकाका ११ देशको नयाँ तनावको विषय बन्न थालेको छ । क्षेत्रीय राज्यहरु पानी, खाद्य र ऊर्जा सुरक्षाका लागि नील नदीमाथि प्रतिस्पर्धा गरिरहेका छन् । इथियोपियाले निल नदीमा सन् २०११ बाट ‘ग्राण्ड इथियोपियन रिनेस्सेन्स ड्याम (जर्ड) को निर्माण थालेको थियो । त्यसबेला देखि नै इथियोपिया र इजिप्ट (मिश्र) बीच जल सुरक्षालाई लिएर विबाद सुरु भएको थियो ।

२०२० मा यो बाँध पुुरा भएपछि दुई देशबीचको सम्बन्ध झन बिग्रेको छ । साढे चार दशक अघि सन् १९७९ मा इजिप्टका तेस्रो राष्ट्रपति मुहम्मद अनवार एल सदातले भनेका थिए, ‘यदी इजिप्टले फेरि युद्ध गर्नु पर्यो भने त्यो पानीका लागि हुने छ ।’ उता इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले ५ कात्तिक २०७६ मै संसदको सवालजवाफमा भाग लिँदै भनेका थिए, ‘यदी युद्धको आवस्यकता पर्यो भने हामी लाखौं (सेना) तयार गर्न सक्छौं । कसैले क्षेप्यास्त्र प्रहार गर्छ भने अर्काले बमको प्रयोग गर्न सक्छ ।’ अहमदले त्यही साल २०१९ को नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए ।

अहिले उत्तर अफ्रिकाको नेतृत्व गरिरहेको इजिप्टले नीलको बिबादलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा पनि पुर्याएको छ । यी दुई देश अहिले सैनिकलाई आम्नेसाम्ने राखेर बसेका छन् । पछिल्लो समय सुडान पनि यो बिवादमा अघि सरिरहेको छ । अर्कातिर हालैमात्र इरान र अफगानिस्तानबीच पानीकै कारण सैन्य मुटभेड भएको थियो ।

इरान तालिबान मुटभेड

हेलमन्द नदी बिबादका कारण तालिबान सरकारले इरानमाथि हमला गर्दा केही दिनअघि मात्रै इरानका ३ र तालिबानको १ सैनिक मारिएका छन् । इरानसँग अत्यन्त बलियो सेना र मारक हतियारको भण्डार भएर पनि ऊ अहिले कयौं देशको आर्थिक प्रतिबन्धमा पिल्सिरहेको छ । अफगानिस्तानमा तालिबान सरकारलाई अन्तरराष्ट्रिय मान्यता प्राप्त नै छैन । तै पनि यो मुटभेड भएको छ ।

सन् १९७३ मा इरान र अफगानिस्तानबीच जलसंधी भएको थियो । यस सन्धीले इरानलाई हरेक वर्ष ८५ करोड घनमिटर पानी उपलब्ध गराउने व्यवस्था गरेको छ । सन्धी लगत्तै सन् १९९६ मा अफगानिस्तानले ‘कमाल खान’ बाँध बनाउन सुरु भएसँगै दुई देशबीच युद्धको विऊ रोपिएको थियो ।

त्यसको केही महिनामै अफगानिस्तानमा युद्ध सुरु भएपछि बाँध निर्माणको काम रोकिन पुग्यो । सन् २०१४ मा तत्कालिन अफगान राष्ट्रपति अशरफ गनीले पुनः बाँध निर्माणको काम सुरु गरे र २०२० मा बाँध तयार भयो । सन् २०२१ मार्च मा यसको उद्घाटन भयो ।

यो बाँध बनेसँगै इरानले सन् १९७३ को सन्धीमा भनिएजति पानी आफूलाई उपलब्ध नगराएको आरोप लगाउँदै आएको छ । यो बाँधले पानी रोकिदिएपछि सन्धीले भनेजति पानी आफ्नो देशले नपाएको इरानको आरोप रहँदै आएको छ । यदी सन्धीमा भनिएजति पानी उपलब्ध नहुने हो भने इरानको दक्षिणपूर्वी भागमा चरम जलसंकट देखिने अवस्था छ, जहाँ खाने पानी र सिंचाईका लागि हेल्मन्दकै भर पर्नुपर्ने अवस्था छ ।

इरानको ९७ प्रतिशत भूभागमा पछिल्लो ३० वर्षदेखि खँडेरी परेको छ । त्यहाँ अत्यन्त कम वर्षा भइरहेका कारण सिंगो इरान विस्तारै मरुभूमिकरण भइरहेको छ । यही कारण उसलाई हेलमन्द नदीको पानी अत्यन्त आवस्यक छ । तर अफगानिस्तानले भने नदीको बहाव (जलस्तर) घटेका कारण भनेजति पानी उपलब्ध गराउन नसकेको तर्क दिँदै आएको छ ।

वर्षौंदेखि वर्षात नभएका कारण हेलमन्द नदीको बहाब घटेकाले आफ्ना नागरिकलाई खानेपानी र सिंचाई उपलब्ध गराउन कमाल खान बाँधको उपयोग गरिरहेको बताउँदै आएको थियो । अब तालिवानले आफ्नो विद्युत् आवस्यकता परिपूर्ति गर्न यही बाँधमा जलविद्युत् आयोजना पनि लगाउन चाहेको छ ।

त्यही कारण तालिबान अब ५० वर्षअघिको सन्धी संशोधन गर्ने वा त्यसलाई खारेज गरेर नयाँ सन्धी गर्ने मनसायमा छ । तर इरान उक्त सन्धीको पुनरावलोकन गर्न तयार छैन । यही कारण अब विबाद भइरहेको छ । भलै, दुबै देशले आफ्ना नागरिकको हित र राष्ट्रिय स्वार्थका निम्ति लडिरहेका छन्, तर यो विबादले मध्ये एसियामा अशान्ति बढाएको छ ।

हेलमन्द अफगानिस्तानको सबैभन्दा लामो नदी हो । हिन्दुकुश हिमालयबाट सुरु भएर इरानको दक्षिण पश्चिम भागमा पर्ने हामून तालसम्म करीब ११५० किलोमिटर बग्छ यो नदी । समुद्रसम्म नपुगी एक तालमै नदी टुंगिने भएका कारण यो नदीको पानी इरानको खानेपानी र सिंचाईमा अत्यन्त महत्वपूर्ण बनेको छ ।

उता अफगानिस्तानसँग हेलमन्द, काबुल, अमु दर्या, अर्गन्दाब, कुनार, खसजस्ता थुप्रै नदी छन् । तर लामो समयदेखि आन्तरिक द्वन्द्वमा फसेको यो देशले अहिलेसम्म जलसञ्चय गर्ने बाँध लगायतका पुर्वाधार खासै तयार पार्न सकेको छैन । अफगानिस्तानको सबैभन्दा लामोमात्रै होइन, सबैभन्दा धेरै जल भएको नदी पनि हेलमन्द नै हो । अफगान भूमिमा सबैभन्दा लामो बहाब भएका कारण यहाँको खाने पानी र सिंचाईमा हेलमन्दको महत्व अत्यधिक छ ।

यही परस्पर अधिक आवस्यकताले यो नदीको पानी दुई मुस्लिम मुलुकबीच नयाँ युद्ध खतराको कारण बन्न थालेको छ । पहिले रुसी महासंघ र अहिले अमेरिकाजस्ता महाशक्तिहरुलाई हराउन सफल भएको तालिबान उच्च मनोबलमा छ । त्यसमाथि अमेरिकाले तालिबानलाई अधिक मात्रामा अत्याधुनिक हतियार र सैन्य सामग्री छाडेर गएको छ । संसारकै सबैभन्दा मारक हतियार भेटेको विश्वकै मारक सेनाले इरानमाथि हमला बोलेको थियो ।

पानीले निम्त्याएको द्वन्द्व

नील र हेलमन्दमात्रै होइन, नदीले राज्यहरुलाई शक्ति प्रदर्शनमा धकेलेका धेरै उदाहरण छन् । मेसोपोटानियाको सभ्यता विकास भएको उद्गम थलोमा बग्ने युफ्रेट्स र टिग्रिस नदीलाई लिएर टर्की, सिरिया र इराकबीच तनाव छ । जोर्डन नदीको पानीलाई लिएर इजरायल, लेबनान, जोर्डन र प्यालेस्टाइनबीच त्यस्तै विबाद छ ।

हेल्मन्दजस्तै समुद्रसम्म नपुगि जमीनमै विाउने नदीको संख्या धेरै छ पृथ्वीमा । त्यसमध्ये एक हो, एरल सागर । मध्येएसियाको यो नदीका कारण रुसी महासंघबाट अलग्गिएका कजाख्तान, उज्बेकिस्तान, तुर्कमेनिस्तान, ताजिकिस्तान र किर्गिजस्तानबीच द्वन्द्व देखिँदै आएको छ । यीनै देशहरुबीच अमु दर्या र सिर दर्या नदी बेसिनको जलस्रोत उपयोगलाई लिएर पनि बिबाद छ ।

युरोपमा जर्मनी, फ्रान्स, स्वीट्जरल्याण्ड र नेदरल्यण्डबीच राइन नदी बेसिनको पानीलाई लिएर ऐतिहासिक विबाद कायमै छ । नेपाल र भारतबीच भएको महाकाली सन्धीपछि पनि भारतले महाकालीको पानी नेपाललाई नदिएर एक्लै लगिरहेको छ । सन्धीमा सुनिश्चित गरेको पानीको बाँडफाँटसम्बन्धी व्यवस्था कार्यान्वयन नै हुन सकेको छैन । अब त भारतले महाकालीको पानीमा यमुनाको समेत पानी मिसाएर राजस्थानहुँदा गुजरातसम्म सिंचाई गर्ने गरी नदी जोड्ने योजना अघि सारेको छ ।

भारत–पाकिस्तानबीच सन् १९६० मा सिन्धु जलसन्धी भए पनि पानीको बाँडफाँटलाई लिएर अझैसम्म बेलाबखत तनाव उत्पन्न हुने गरेको छ । चीनले मेकोङ नदीमा एक दर्जन बाँध बाँधेर पानी रोकिदिएपछि तल्लो तटीय क्षेत्रका म्यानमार, लाओस, थाइल्याण्ड, कम्बोडिया र भियतनामा पछिल्ला मनसुनमा समेत १०० वर्ष यताकै कम पानी बहिरहेको छ ।

चीनले ब्रह्मपुत्र नदीमा विशाल बाँध बनाएर जलविद्युत् उत्पादन गर्ने योजना अघि बढाएसँगै पछिल्ला वर्षमा चीन, भारत र बंगलादेशबीच पानीको बाँडफाँटलाई लिएर नयाँ समस्या जन्मिएका छन् । चीनले नै साल्वीन नदीमा पनि जलविद्युत बनाउन थालेपछि म्यानमार, थाइल्याण्डजस्ता तल्लो तटीय क्षेत्रका देश रिसाएका छन् ।

कोलोराडो नदी बेसिनको जल उपयोगलाई लिएर अमेरिका र मेक्सिकोबीच द्वन्द्व त रहँदै आएको छ नै, अमेरिकाभित्र पनि अन्तरप्रान्त संघर्ष छ । क्यालिफोर्निया, एरिजोना र कोलोराडोबीच पानीको अभाव, सुख्खा र कृषि एवम् सहरी विकासका आवस्यकता पुरा गर्न पानीमाथि हानथाप छ । जर्मनी, अस्ट्रिया, स्लोभाकिया, हंगेरी, क्रोएसिया, रोमानिया, बुल्गेरिया र युक्रेनबीच डेनुब नदी बेसिनको पानीलाई लिएर उस्तै विबाद छ ।

पश्चिम अफ्रिकाको नाइजर नदी बेसिनको पानी बाँटफाँटमा भाग नमिल्दा गिनी, माली, नाइजर, नाइजेरिया र चाडबीच विबाद छ । पानीको अभाव, सिंचाई र जलविद्युत सम्बन्धि विबाद टुंगोमा पुग्न सकेको छैन । दक्षिणी अफ्रिकाको करीब १४ लाख बर्गकिलोमिटर क्षेत्रमा फैलिएको जाम्बेजी बेसिनको पानी भागबण्डा लाउने कुरामा मत नमिल्दा एङ्गोला, नामिबिया, बोत्स्वाना, जिम्बाब्बे, मोजाम्बिक , मालावी, तान्जानिया र जाम्बियाबीच विबाद छ ।

चाड तालको पानीमा पनि जलवायु परिवर्तन, जनसंख्या बृद्धि र अस्थिर जलस्रोत उपयोगका कारण क्यामरुन, नाइजर, चाड र नाइजेरियाबीच विबाद बनेको छ । एंगोला, नामिबिया र बोत्स्वानाबीच ओकाभाङ्गो नदी बेसिनको पानीलाई लिएर असन्तुष्टि छ । ल्याटिन अमेरिकामा पनि अर्जेण्टिना, ब्राजिल, पाराग्वे र उरुग्वेले ला प्लाटा नदी बेसिनमा जलविद्युत् आयोजा बनाउने होडले नयाँ बिबाद सुरु गरेको छ । मध्येअमेरिकाको भेनेजुयला, कोलम्बिया, ब्रजिल र गुएना पनि ओरिनोको नदी बेसिनमा जुधिरहेका छन् ।

एक अमेरिकी संस्था ‘प्यासिफिक इन्सिटच्युट’ले पछिल्ला ४५०० वर्षमा विश्वमा जलस्रोतलाई लिएर झण्डै १३ सयको संख्यामा प्रमुख हिंसात्मक घटना भएको विवरण सार्वजनिक गरेको छ । यस्ता बिबादले भविष्यमा पानीका लागि विश्वमा अझै ठूलो द्वन्द्व हुने खतरा बढाउँदै छ ।

यस्तो बेला नेपाल भने भएभरका नदीनालाहरु जलविद्युत् आयोजनाको नाममा भारतीय कम्पनीहरुलाई सुम्पिने नीतिमा अघि सरेको देखिन्छ । यसले भावि पुस्तालाई आवस्यक मात्रामा पानी उपलब्ध गराउन सक्ने अवस्था गुम्न सक्छ ।


प्रतिक्रिया दिनुहोस्