पृथ्वीबारे १० तथ्य : के हिन्दु शास्त्रमा उल्लिखित ‘८४ लाख योनि’ पुष्टि हुँदै छ ? « Arthapath.com
११ बैशाख २०८१, मंगलवार

पृथ्वीबारे १० तथ्य : के हिन्दु शास्त्रमा उल्लिखित ‘८४ लाख योनि’ पुष्टि हुँदै छ ?



काठमाडौं । संयुक्त राष्ट्र संघले हरेक साल २२ अप्रिललाई अन्तरराष्ट्रिय पृथ्वी दिवसको रुपमा मनाउँछ ।

सन् १९७० मा यसै दिन अमेरिकाका मुख्य शहरमा बसोबास गर्ने २ करोड मानिसहरु सडकमा उत्रिएर मानवीय गतिविधीका कारण पर्यावरणमा भइरहेको क्षतिको विरोध गरेका थिए ।

सोही दिनलाई पृथ्वी दिवसको रुपमा मनाउन थालिएको हो ।

मान्छेले आफ्नो घर भन्ने गरेको यस ग्रहका केही विशेषताबारे पनि जान्नु उचित हुन्छ ।

१. गोलो छैन धरती

सामान्यतया हामी सबैले सुनेको पढेको कुरा हो, ‘पृथ्वी गोलो छ ।’ तर यो वास्तविकता होइन । पृथ्वी साँच्चै गोलो छैन । चोसोमोसो भएको लगभग एक आलुजस्तै आकारको छ । उत्तरी र दक्षिणी ध्रुवमा पृथ्वी चेप्टो परेको छ । यसलाई अंग्रेजीमा ‘अब्लेट स्फेरोइड’ भनिन्छ ।

अन्य ग्रहमा पनि यस्तै हुन्छ । एकातिर गुरुत्वाकर्षणको प्रभाव र अर्कातिर पृथ्वीले आफ्नो अक्ष (पृथ्वीको केन्द्रलाई आधार मानेर पश्चिमबाट पूर्वतर्फ घुम्ने काल्पनिक रेखा) र कक्ष (पृथ्वीले सूर्यलाई एक निश्चित दुरीमा रहेर परिक्रमा गर्ने बाटो)मा घुम्ने प्रबृत्तीले पनि यसको भूमध्ये रेखा खिँचिएको मध्ये भाग फराकिलो हुँदै गएको छ । यही कारण पृथ्वी चेप्टो बन्दै गएको छ ।

यसै कारण उत्तरी र दक्षिणी ध्रुवलाई जोड्ने ब्यासभन्दा भूमध्येरेखीय ब्यासको दुरी ४३ किलोमिटर बढी छ ।

२. पृथ्वीको ७० प्रतिशत हिस्सा पानी छ

पृथ्वीमा पानी अहिले पनि ठोस, तरल र ग्यास गरी तीनै अवस्थामा उपलब्ध छ । यसबाहेक हिमनदी, दलदल, ताल, नदी, समुद्र र महासागरको रुपमा धर्तिको तीन चौथाई हिस्सा पानीले नै ढाकेको छ ।

तर धरतीमा पाइने पानीमध्ये ९७ प्रतिशत हिस्सा समुद्री नुनीलो पानी छ । जुन पिउन योग्य छैन ।

३. पृथ्वीदेखि १०० किलोमिटर माथि छ अन्तरिक्ष

वायुमण्डल र अन्तरिक्षको बीचको सीमालाई ‘कारमन रेखा’ भनिन्छ । यो रेखा समुद्री सतहदेखि ८० देखि १०० किलोमिटर माथि छ । तर करीब ७५ प्रतिशत वायुमण्डलीय भार समुद्री सतहदेखि ११ किलोमिटरको उचाईकै बीचमा छ ।

अर्थात्, कारमन रेखाले पृथ्वीको सीमा कति हो र अन्तरिक्ष कहाँबाट सुरुहुन्छ भन्ने निक्र्योल गर्छ ।

४. फलामले भरिएको छ पृथ्वीको केन्द्र

हाम्रो ग्रह सौर्य मण्डलको सबैभन्दा ठोस र आकारमा पाँचौँ ठूलो पिण्ड हो । पृथ्वीको सबैभन्दा भित्री भागमा करीब १२०० किलोमिटर क्षेत्रमा फैलिएको एक ठोस भकुण्डो आकारको पदार्थ छ ।

यो गोल मुख्य रुपमा फलामले बनेको छ । उक्त पिण्डको कुल तौलमध्ये अन्दाजी ८५ प्रतिशत हिस्सा फलाम रहेको छ । यसबाहेक अर्को १० प्रतिशत तौल निकलले बनेको आँकलन छ ।

५. जीवन भएको एकमात्र ग्रह

पुरा ब्रह्माण्डमा जीवन जिउन सक्ने एकमात्र खगोलीय पिण्ड पृथ्वी हो । अन्य ग्रहमा पनि जीवनको खोजि भने भइरहेको छ । अहिले जीवन नभएका ग्रहमा पनि जीवनको संभावना खोज्ने क्रम पनि चलिरहेको छ । तर यसमा उल्लेख्य उपलब्धी हात लागेको छैन ।

पृथ्वीको निर्माण करीब ४ अर्ब ५० करोड वर्ष अघि भएको थियो । यस ग्रहको भौतिक गुण र यसको भूवैज्ञानिक इतिहासले लाखौँ सालसम्म जीवनको अस्तित्व कायम राखेको छ । त्यसै कारण यतिका लामो कालखण्डमा पनि पृथ्वीमा जीवन मौजूद छ ।

हालसम्म धरतीमा करीब १२ लाख पशु एवम् प्रजातीहरु पाइएको भनेर सूचीबद्ध गरिएको छ । यद्यपि, यो पृथ्वीमा पाइने कुल प्रजातीमध्ये निकै सानो संख्या हो ।

सन् २०११ मा वैज्ञानिकहरुले दुनियाँमा करीब ८० लाख हाराहारी प्रजातीहरु रहेको हुनसक्ने आँकलन गरेका थिए । कतिपय वैज्ञानिकहरुले १ करोडसम्म प्रजाती हुनसक्ने भनेर अड्कल काटेका छन् ।

यी अनुमानहरु हिन्दु ग्रन्थमा उल्लेखित विवरणको नजिक पुग्न थालेको देखिन्छ । हिन्दु ग्रन्थमा प्राणी वा प्रजातीको संख्या ८४ लाख रहेको किटान गरिएको छ । त्यसैले हरेक जीवात्माले ती ८४ लाख योनीमा जन्म लिनुपर्ने विवरण त्यहाँ पाइन्छ ।

वैज्ञानिक तवरले यसलाई सूचीबद्ध गर्न लामो समय लाग्न सक्छ । हालै मात्र विकास भएको ‘आर्टिफिसियल इन्टेलिजेन्स’ वा भविष्यमा आउने योभन्दा उन्नत प्रविधिले यस प्रकारको सूची बनाउन र गणना गर्न अझ सहज हुनसक्ने संभावना पनि दर्शाएका छन् ।

६. पृथ्वीको हरेक ठाउँमा गुरुत्वाकर्षण बराबर छैन

हाम्रो ग्रह वास्तवमा एक आदर्श क्षेत्र होइन । धरतीमा कतै पानी बढी त कतै जमीन बढी छ । कतै सतहबारिको भार बढी छ । यसको आकार पनि एकसमान छैन । हरेक स्थानमा ‘द्रव्यमान’ फरक हुनाले गुरुत्वाकर्षण क्षेत्र पनि कत्तिको शक्तिशाली छ भन्ने कुरा ठाउँअनुसार फरक पर्छ ।

उदाहरणका लागि, हामी जब ध्रुवीय इलाकातिर अघि बढ्छौँ, गुरुत्वाकर्षण क्षेत्रको तीव्रता विस्तारै बढ्न थाल्छ । भलै मानिसहरुलाई यस्तो अन्तर यत्तिकै अनुभूति भने हुँदैन ।

७. विरोधाभाषको भण्डार

पृथ्वी असाध्यै धेरै विरोधाभासहरुले भरिएको ग्रह हो । यसको भौगोलिक क्षेत्र र जलवायुको विविधताले धरतीको हरेक क्षेत्रलाई पृथक र मौलिक बनाएको छ । हरेक स्थानको खास विशेषता छ ।

पृथ्वीमा सर्वाधिक गर्मी मानिने स्थानहरु कयौँ छन् । हामी झ्वाट्ट हेर्दा अफ्रिका र पश्चिम एसियाको खाडी क्षेत्रलाई बढी गर्मी हुने स्थानको रुपमा बुझ्छौँ ।

तर आजसम्म रेकर्ड गरिएको सबैभन्दा उच्च तापमान अमेरिकाको मृत उपत्यका (डेथ भ्याली)मा रेकर्ड भएको थियो । त्यहाँ सन् १९१३ को जुलाई १० मा ५६.७ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

अर्कातिर अन्टार्कटिकामा सबैभन्दा ठन्डा तापमान रेकर्ड भएको छ । त्यहाँ सन् १९८३ को जुलाई ३१ मा –८९ डिग्री सेल्सियससम्म तापक्रम झरेको थियो । अर्थात् सबैभन्दा गर्मी र सबैभन्दा चीसो तापमान एउटै महिनामा रेकर्ड भएका छन्, ७० वर्षको अन्तरालमा ।

८. सबैभन्दा ठूलो जिवित संरचना

अस्ट्रेलियाको समुद्री तटमा एक विशाल संरचना छ । यसलाई ‘ग्रेट ब्यारियर रीफ’ भनिन्छ । पृथ्वीमा भएको जीवद्वारा निर्मित सबैभन्दा ठूलो संरचना यही हो ।

करीब २ हजार किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको यो क्षेत्र हजारौँ समुद्री प्रजातीको घर हो । अन्तरिक्षबाट देखिने एकमात्र संरचना पनि यही हो ।

यसलाई सन् १९८१ मा युनेस्कोले विश्व सम्पदा क्षेत्र घोषित गरेको थियो ।

९. ट्याक्टोनिक प्लेटवाला एकमात्र ग्रह

पृथ्वी सौर्यमण्डलको एकमात्र त्यस्तो ग्रह हो, जहाँ सक्रीय रुपमा ट्याक्टोनिक प्लेटहरु चलिरहेका छन् । यी प्लेटको गतिले हाम्रो ग्रहको सतहलाई बारम्बार अदलबदल गराइरहेको हुन्छ ।

धर्तिमा पहाड र हिमालहरुको निर्माण गर्नदेखि भूकम्प र ज्यालामुखि ल्याउन पनि यिनै प्लेटहरु जिम्मेवार छन् । पृथ्वीको तापमान नियन्त्रित गर्नमा पनि यी प्लेटहरुको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।

समुद्री सतहलाई गतिशील बनाएर जलसंरचनाको नविकरण गर्न र कार्बनडाइअक्साइडजस्ता ग्रीनहाउस ग्यासलाई ‘रिसाइकल’ गर्नमा पनि यस्ता ट्याक्टोनिक प्लेटको भूमिका छ ।

१०. पृथ्वीसँग रक्षा कवच पनि छ

पृथ्वीको चुम्बकीय क्षेत्रले सूर्यबाट आउने ऊर्जाका कणहरुको अनवरत ‘बमबारी’ विरुद्ध ढाल (रक्षा कवच)को रुपमा काम गर्छ । चुम्बकीय क्षेत्रबाटै बाटो खोज्ने काम पनि हुन्छ । हामीले दिसा प्राप्त गर्न प्रयोग गर्ने कम्पास पनि यही चुम्बकीय क्षेत्रकै कारण काम गर्छ ।

-बीबीसी हिन्दीको सहयोगमा ।


प्रतिक्रिया दिनुहोस्