मौलाकालीका केबलकार वैशाख १८ गतेदेखि सञ्चालनमा आउने « Arthapath.com
१० बैशाख २०८०, आईतवार

मौलाकालीका केबलकार वैशाख १८ गतेदेखि सञ्चालनमा आउने



काठमाडौ। मौलाकालीका केबलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकालीका केबलकार वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

नवलपुर जिल्लाको गैंडाकोट १ मा निर्माण सम्पन्न केबलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो । केबलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकालीका केबलकारको निर्माण १ वर्षदेखि सुरु गरिएको थियो । गैंडाकोट १ बाट मौलाकालीका मन्दिरसम्म १.२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् ।

केवलकार मार्फत बटम स्टेशनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ । केबलकार सञ्चालनसँगै मौलाकालीकाको दर्शन तथा पूजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ । केबलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० काेठाको होटल, व्याङक्वेट हल र रेष्टुरेन्ट सञ्चालनमा रहने छन् । केबलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबलकार प्रालिले जनाएको छ ।

नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको केबलकारसहितको नयाँ पर्यटकीय गन्तव्य निर्माण काठमाडौँको चन्द्रागिरिमा निर्माणसम्पन्न भई सञ्चालनमा रहेको छ । त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केबलकार प्रा।लिद्वारा प्रवर्द्धित अर्को केबलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको वसन्तपुरमा निर्माणाधीन रहेको छ ।

साथै,केबलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमुना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्