कर्मचारी सञ्चय कोषद्वारा दुई नयाँ योजना सार्वजनिक  « Arthapath.com
१ आश्विन २०८०, सोमबार

कर्मचारी सञ्चय कोषद्वारा दुई नयाँ योजना सार्वजनिक 



काठमाडौँ । कर्मचारी सञ्चय कोषले आइतबार अर्थात भदौ ३१ गतेदेखि स्थापनाको ६२ औँ वर्षमा प्रवेश गरेको गरेको छ । कम्पनीले स्थापना वर्षको अवसर पारी दुई वटा नयाँ योजना सार्वजनिक गरेको छ ।

सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले अब यस्तो सुविधा योगदानकर्ताका दम्पत्तिलाई उपलब्ध गराउनेछ । साथै, काठमाडौं उपत्यकामा मात्र केन्द्रित रहेको सञ्चयकर्ता सरल चक्र कर्जा सुविधा अब कोषका सबै कार्यालयबाट उपलब्ध हुनेछ ।

हाल सञ्चयकर्तालाई साधारण रोगका लागि उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्ष एक लाख रुपैयाँसम्मको र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम १० लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवा उपलब्ध गराइरहेको थियो। अब भने कोषले यस्तो सुविधा दम्पतीका लागि पनि लागू हुने भएको हो ।

सामाजिक सुरक्षाका सुविधातर्फ कोषले सुत्केरी तथा शिशु स्याहार सुविधाका रुपमा दुई सन्ततिसम्मका लागि प्रति प्रसुति सात हजार ५०० रुपैयाँ, दुर्घटना क्षतिपूर्ति योजनाअन्तर्गत निज वा निजको हकवालालाई दुई लाख रुपैयाँ र काजक्रिया अनुदान योजनाअन्तर्गत हकवालालाई ४० हजार रुपैयाँसम्म सामाजिक सुरक्षा उपलब्ध गराउँदै आएको छ ।

वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारी सञ्चय कोषले लगानीको क्षेत्र विस्तार गर्दै प्रतिफल सुनिश्चित गर्नुपर्ने बताए । ‘कोषबाट कर्मचारीतन्त्रमा भरोसा र विश्वासको विकास भएको छ। यसमा थप रूपान्तरणका लागि कोषले लगानीको यथेष्ट विश्लेषणको आधारमा लगानी गर्नुपर्छ, ’अर्थमन्त्री महतले भने ।

अहिले मुलुकको अर्थतन्त्र असहज अवस्थामा रहेका कारण बजेट विनियोजनमा प्राथमिकीकरण गर्नुपरेको र कर्मचारीको भत्ता कटौती गर्नुपरेको उल्लेख गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार भएपछि सेवा सुविधा वृद्धि गर्नेमा सरकार सकारात्मक रहेको बताए।

कोषमा हाल २७ हजार ६०० कार्यालयका पाँच लाख ८२ हजार योगदानकर्ता रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्