कार्यकाल सकिनै लाग्दा सेबोन अध्यक्ष एक साताको बिदामा, पदको निरन्तरता अन्योलमै « Arthapath.com
११ पुष २०८०, बुधबार

कार्यकाल सकिनै लाग्दा सेबोन अध्यक्ष एक साताको बिदामा, पदको निरन्तरता अन्योलमै



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल बुधवारदेखि बिदामा बसेका छन्। कार्यकाल सकिन ९ दिन बाँकी हुँदा उनी बिदामा बसेका हुन् । बोर्डको निमित्त प्रमुखको भूमिका कार्यकारी निर्देशक विनयदेव आचार्यलाई दिइएको सेबोनले बताएको छ ।

हमालको कार्यकाल यही पुस २० मा सकिँदै छ। कार्यकाल सकिने बेलामा हमालले दोस्रो बरियताका अधिकृतलाई निमित्त अध्यक्षको भूमिका दिएको भन्दै सेबोनका केही अधिकारीहरु असन्तुष्ट बनेको बताइएको छ । तर हमाल यस बिदापछि पुनः सेबोनको हाजिर हुने छन् । उनी पुसको १९ र २० गते हाजिर भएर अन्तिम समयसम्म काम गर्ने हमाल निकट स्रोतले बताएको छ । हमालको पुनः नियुक्ति हुने वा नहुने विषयमा अलग अलग पहल भइरहेका छन् ।

यसले धितोपत्रको नियामक अड्डामा हमालको निरन्तरताको विषय अन्तिम समयसम्म पनि प्रश्नको घेरामा देखिएको छ । यो विषय टुंगो लगाउन पनि हमालको बिदाको समयले सहजता मिल्ने अनुमान कतिपयको छ । हमाल पनि आफ्नो निरन्तरता हुने अवस्थामा अन्तिम समयमा काम गर्ने, नभए बिदालाई नै निरन्तरता दिन पनि सक्ने उनी निकट स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्