भूकम्प पीडितलाई नेशनल लघुवित्तले गर्‍यो ५० लाख बराबरको आर्थिक सहयोग « Arthapath.com
१६ पुष २०८०, सोमबार

भूकम्प पीडितलाई नेशनल लघुवित्तले गर्‍यो ५० लाख बराबरको आर्थिक सहयोग



काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले भूकम्प पीडितहरूका लागि ५० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । 

मानवीय सहायकता अन्तर्गत कम्पनीले पश्चिमका भूकम्प पीडितहरूका लागि आर्थिक सहयोग प्रदान गरेको हो । शनिवार मात्रै कम्पनीले सल्यानको दार्मा गाउँपालिकाका भूकम्प पीडितहरूका लागि ४ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । 

एक कार्यक्रमका बिच संस्थाका प्रमुख कार्यकारी अधिकृत  (सिइओ) तथा नेपाल लघुवित्त बैंकर्स सङ्घका अध्यक्ष राम बहादुर यादवले गाउँपालिका अध्यक्ष निम बहादुर केसीलाई चेक हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, वित्तीय संस्थाका कर्मचारी, सेवाग्राही सदस्य तथा आमजनसमुदायको उपस्थिति रहेको थियो ।

वित्तीय संस्थाले दार्मा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ लाख जम्मा गर्नुका साथै संस्थाको वाघचौर शाखामा आबद्ध ६८१ जना सदस्यहरूलाई २१ लाख ५४ हजार रुपैयाँ राहत वितरण गरेको थियो ।

कार्यक्रममा उपस्थिति दार्मा गाउँपालिकाका अध्यक्ष केसीले नेशनल लघुवित्तलाई धन्यवाद दिएका थिए । लघुवित्तले विपन्न तथा गरिब समुदाय वित्तीय साक्षरताका लागि उल्लेख्य भूमिका खेलेको उनको भनाई थियो । नेशनल लघुवित्तले विपदमा परेका सर्वसाधारणलाई गरेको सहयोग अमूल्य रहेको अध्यक्ष केसीले बताए । यसका साथै आगामी दिनमा पनि दुर दराजमा रहेका, विपन्न गरिब, परिवारमा वित्तीय साक्षरता पुर्‍याउन आग्रह समेत गरे । 

सोही अवसरमा नेशनल लघुवित्तका सिइओ यादवले मानवीय सहायतामा सधैँ नेशनल लघुवित्तको साथ रहने बताए । मानवीय सहायता गर्ने अवसर दिएकोमा गाउँपालिकालाई धन्यवाद समेत व्यक्त गरेका थिए । दुर्गम गाउँ बस्तीहरूमा आफ्ना सेवाग्राही सदस्यहरूलाई सामाजिक तथा आर्थिक उत्थानका लागि लघुवित्त कार्यक्रमको माध्यमबाट गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने सिइओ यादवले बताए ।  

त्यसै गरी पुस १५ गते शनिवारका रुकुम पश्चिम जिल्लाको आठबिसकोट नगरपालिकाका भुकम्पपिडितहरुका लागि सहयोगार्थ आठबिसकोट नगरपालिकालाई लघुवित्तले ४ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । एक कार्यक्रमका बिच सिइओ यादवले आठबिसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीलाई चेक हस्तान्तरण गरेका थिए । वित्तीय संस्थाले आठबिसकोट नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ४ लाख जम्मा गर्नुका साथै संस्थाको आठबिसकोट शाखामा आबद्ध ३७० जना सदस्यहरूलाई ११ लाख ६४ हजार रुपैयाँ राहत वितरण गरेको थियो । त्यसै गरी रुकमपश्चिम जिल्लाको मसीकोट नगरपालिकाका सेवाग्राही २५० जना सदस्यलाई ७  लाख ५६ हजार रुपैयाँ नगद राहत वितरण गरिएको ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कोष र ग्राहक संरक्षण कोषबाट विपत्मा परेको सेवाग्राही सदस्यहरूलाई मानवीय सहायता गर्दै आएको छ । हाल नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड देशका ७२ जिल्लामा २०६ वटा शाखा कार्यालयहरू मार्फत २ लाख २० हजार सदस्यहरूबिच वित्तीय कारोबार सञ्चालन गरिरहेको छ । 

कम्पनीको सेयर पुँजी १ करोड ८ लाख,सदस्यहरूको बचत ५ अर्ब बढी रहेको छ । कम्पनीले सदस्यहरूका लागि लगानीमा रहेको कर्जा १८ अर्ब बढी छ । 


प्रतिक्रिया दिनुहोस्