अघि बढ्यो नेपाल इन्भेष्टमेन्ट कम्पनीको कार्य, बैंकिङ्ग क्षेत्रमा साढे ४ दशक बिताएका बज्राचार्य बने सीइओ « Arthapath.com
१ पुष २०८१, सोमबार

अघि बढ्यो नेपाल इन्भेष्टमेन्ट कम्पनीको कार्य, बैंकिङ्ग क्षेत्रमा साढे ४ दशक बिताएका बज्राचार्य बने सीइओ



काठमाडौं । पूर्वबैंकर रत्नराज बज्राचार्य नेपाल इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नियुक्ति भएका छन् ।

ठुला ठुला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यसहित स्थापना भएको कम्पनीमा बज्राचार्य सीइओ बनेका हुन् । इन्भेष्टमेन्ट कम्पनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा स्थापना भएको हो ।

गत भदौ महिनादेखि ग्लोबल आइएमई बैंकको सीइओबाट बाहिरिएका बज्राचार्यले अब १० अर्बको कम्पनी हाक्नेछन् । उनीसँग साढे चार दशकको बैंकिङ्ग अनुभव छ । ग्लोबल आइएमई, तत्कालिन एनसीसी र सनराइज लगायतका बैंकहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसकेको छन् ।

इन्भेष्टमेन्ट कम्पनीमा नेपालको ७७ वटौ जिल्लाका उद्योगी व्यवसायीहरुको लगानी हुनेछ । हालसम्म सो कम्पनीमा १ अर्ब बढी लगानी जुटीसकेको छ । कम्पनीले नेपालमा कृषि, पर्यटन, जलविद्युत लगायतका ठुला पूर्वाधारमा लगानी गर्नेछ । कम्पनीमा निजी क्षेत्रको प्रतिनिधित्व हुने गरि संचालक समिति समेत बनाइएको छ ।

संचालकमा राजेन्द्र मल्ल, विष्णुकुमार अग्रवाल, भागिरथ सापकोटा र मनोज पौडेल रहेका छन् ।

संचालक मल्ल नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष हुन् भने अग्रवाल नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हुन् । यस्तै, सापकोटा नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक र पौडेल आध्यन्ताका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको लगानी तथा अन्तरराष्ट्रिय मामिला फोरमका सभापति हुन् ।


प्रतिक्रिया दिनुहोस्