ई–कमर्स प्लेटफर्म बिजबजारको सीइओ बने ढकाल

काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजार लिमिटेडले उत्सव ढकाललाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको छ ।
कम्पनीले आफ्नो दीर्घकालीन रणनीति, डिजिटल व्यापारको सुदृढीकरण तथा व्यवसाय विस्तारलाई थप सशक्त र सन्तुलित ढङ्गले अघि बढाउने उद्देश्यले ढकाललाई नेतृत्व सुम्पिएको जनाएको छ ।
ढकालसँग मार्केटिङ तथा ब्रान्ड रणनीति, सम्पादकीय नेतृत्व, शिक्षण तथा वित्तीय तालिमका क्षेत्रमा सात वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ ।
शिक्षा क्षेत्रमा पनि उत्तिकै सक्रिय ढकाल हाल एभरेष्ट कलेज, मदन भण्डारी मेमोरियल कलेज र क्वेस्ट इन्टरनेसनल कलेजमा व्यवस्थापन संकायका प्राध्यापकको रूपमा आबद्ध छन् ।
शिक्षणसँगै उनले विगत सात वर्षदेखि शेयर बजार सम्बन्धी तालिम समेत प्रदान गर्दै आएका छन् ।
यसबाहेक उनले बैङ्किङ, बीमा, क्रेडिट प्रणाली लगायतका विषयमा विविध तालिमहरूमा सहभागिता जनाएका छन् । शैक्षिक पृष्ठभूमिमा भने उनले लिङ्कन युनिभर्सिटीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर हासिल गरेका छन् ।