५ फाल्गुन २०७६, सोमबार

३ तहका सरकारले साझेदरी गरे मात्र देशमा समृद्धि:-उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले व्यवसायिक प्रवद्र्धनका लागि ढुक्कसँग कामगर्ने वातावरणको सृजना गरी उनीहरुसँग सही अर्थमा साझेदारी गर्न सकिएमा मात्र देशमा समृद्धि प्राप्त हुने बताएका छन् ।

दार्चुलामा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सवलाई आइताबर सम्बोधन गर्दै उनले भने “निजी क्षेत्रलाई सरकारले विकासको साझेदारका रुपमा लिएर हातेमालो गरेर अघि नबढ्दासम्म देशमा समृद्धि सम्भव छैन ।
नेपालका तीनओटै तहका सरकारहरुले निजी क्षेत्रसँग सही अर्थमा र व्यावहारिक रुपमा साझेदारी गर्न सकेमा प्रदेशस्तरमा लगानी भित्रिने छ र यसबाट समृद्ध नेपाल र सुखी नेपालीको सरकारको अभियान सार्थक बन्नेछ ।”

उनले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारहरुले आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन प्रतिश्पर्धा गरेको देखिएकोले यसलाई व्यावहारिकतामा परिणत गरी तीनै तहका सरकारले निजी क्षेत्रको प्रवद्र्धन गरी अघि बढ्न सुझाव दिए ।

उपाध्यक्ष ढकालले आर्थिक क्षेत्र, व्यावसाय, श्रम, कर आदिका विषयमा नियम कानूनहरु निर्माण गर्दा सरोेकारवाला निजी क्षेत्रसँगको सल्लाह र परामर्शबाट ल्याउन सकिएमा यसको कार्यान्वयनमा सहयोग पुग्ने र अन्ततः यसबाट राज्य र नेपाली नागरिक नै लाभान्वित हुने धारणा पनि राखे ।

कार्यक्रमका प्रमुख अतिथि इश्वर पोखरेललाई स्थानीय व्यवसायीहरुले स्थानीय स्तरका गुनासाहरु राखेपछि नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका हैसियतले ढकालले सो धारणा राखेका हुन् ।

लोकल उत्पादन भन्दा पनि बाहिरबाट आयातित सामानहरु राखेको देखेको टिप्पणी गर्दै उनले भने– “यस्ता मेला महोत्सवहरुमा स्थानीय उत्पादन र सीपलाई प्राथमिकता दिनुपर्छ किनभने स्थानीय उत्पादनले बजारमा चिनिन पाउने यो एक महत्वपूर्ण अवसर पनि हो ।” कृषि, जडिबुटी, जैविकि विविधता तथा अरु धेरै क्षेत्रमा देशको सुदूरपश्चिम क्षेत्र धेरै सम्पन्न भएकोले आगामी यस्ता मेला महोत्सवहरुमा ती उत्पादनहरुले नै स्थान पाउन् भनी सुझाव पनि दिए ।


प्रतिक्रिया दिनुहोस्