कोरोनाको त्रास हटाउन भक्तपुरका घर घरमा संयुक्त सुरक्षा टोली « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

कोरोनाको त्रास हटाउन भक्तपुरका घर घरमा संयुक्त सुरक्षा टोली



काठमाडौं । चीनबाट फर्काइएका नेपालीहरुलाई राखिएको भक्तपुर खरिपाटी क्वारेन्टाइन क्षेत्र आसपासमा बासिन्दालाई लक्षित गरी घरदैलो कार्यक्रम सुरु गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट फर्काइएका नेपालीहरुलाई राखिएको क्वारेन्टाइन क्षेत्र आसपासका बाासिन्दालाई जनचेतना अभिवृद्धि गर्न अभियान सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा अभियान सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रजिअ दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानको सहभागिता थियो । नेपाली सेना वीर दल गणका गणपति कर्नेल शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका प्रहरी उपरीक्षक विश्वराज भट्टराईको पनि उपस्थिति थियो ।

खरिपाटी बाँसघारी क्षेत्रका बासिन्दाको घर घरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण र बच्ने उपायका बारेमा जानकारी गराइएको थियो । टोलीले क्वारेन्टाइनमा रहेका नेपालीको अवस्था र कुनै पनि भाइरसको सङ्क्रमणबाट कसरी बच्ने भन्ने बारेमा बताएको थियो ।

टोलीले घरघरमा पुगेर क्वारेन्टाइनमा रहेका नेपालीमा कोरोनाको सङ्क्रमण नपाइएको र आत्तिनु पर्ने अवस्था नरहेको जानकारी गराएको थियो । साथै टोलीले माक्स (मुखावरण) कसरी लगाउने, दैनिक हात कसरी धुने लगायतका बारेमा पनि जानकारी गराईएको छ ।

घरदैलो अभियानमा स्थानीयलाई रुघाखोकी सर्न नदिन नियमित हात धुनुपर्ने, फोहर हातले आँखा छुन नहुने जस्ता सावधानी अपनाउनुपर्ने बारेमा जानकारी दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस्