धारचुलाबाट २२५ नेपालीको उद्धार

दार्चुला । भारतको धारचुलामा तीन दिनदेखि अलपत्र परेका दुई सय २५ जना नेपालीको शुक्रबार राति उद्धार गरिएको छ । उद्धारपछि उनीहरूको स्वास्थ्य परीक्षण तथा तथ्याङ्क सङ्कलन गरेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको छ ।
उद्धार गरिएका मध्ये दार्चुलाको मार्मा गाउँपालिकाका ६९, नौगाड गाउँपालिकाका ५८, दुहुँ गाउँपालिकाका १५, महाकाली नगरपालिकाका नौ, लेकम गाउँपालिकाका दुई र मालिकार्जुन गाउँपालिकाका एक जना रहेका छन् । यस्तैगरी बैतडीका ४१, बझाङका १२, बाजुराका दुई, कैलालीका ४, बाँकेका तीन र जाजरकोटका नौ जना रहेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । दुईवटै देशको समन्वयपछि पुल खोलेर उनीहरूलाई नेपाल ल्याइएको हो ।