विदेशबाट फर्केका र उनीहरुको सम्पर्कमा आएका व्यक्तिलाई सरकारको यस्तो आग्रह

काठमाडौं । हालै विदेशबाट फर्किएका, उनीहरुसँग सम्पर्कमा आएका र कोरोना संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिलाई सरकारले १४ दिनसम्म घरभित्रै बस्न सुझाव दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै विदेशबाट फर्किएका र कोरोना संक्रमितसँग हालै सम्पर्कमा रहेका व्यक्तिले संचार गर्दा एक मिटरको दुरी कायम गर्न पनि भनेको छ ।
सर्वसाधारणको लागि सूचना जारी गर्दै मन्त्रालयले भनेको छ, ‘गएको तीनहप्ता भित्र यदी तपाइँ विदेशबाट फर्किएका व्यक्तिसँग सम्पर्कमा आउनु भएको छ भने वा कोरोना भाइरस रोल लागेका व्यक्तिको सम्पर्कमा आउनु भएको छ भने, अब दुई हप्तासम्म घरमा बसिदिन अनुरोध छ। अरु व्यक्तिहरुबाट कम्तिमा एक मिटरको दुरी कायम गरिदिनु होला ।’
मन्त्रालयले ज्वरो, खोकी र सास फेर्न गाह्रो भएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिएको छ ।
