महामारीमा पनि रोजगारीका लागि भारतकै भर ? « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

महामारीमा पनि रोजगारीका लागि भारतकै भर ?



धनबहादुर बोहरा
काठमाडौं । भारत विश्वकै बढी दैनिक कोरोना संक्रमित थपिने मुलुकको सुचीमा परेको छ । तर सुदूर पश्चिमेलीहरु यस्तो बिषम परिस्थितीको परवाह नगरी सानोतिनो रोजगारीका लागि भारत जान बाध्य छन् । सरकारले स्वदेशमै रोजगारीको सिर्जना गर्न सके यो बाध्यताको अन्त्य हुने उनीहरुको विश्वास छ । चुनावका वेला मात्रै आश्वासन दिने तर प्रतिबद्धता अनुसार काम नगर्ने नेताबाट आश मारेर भारत जानेको लर्काे बढेको बढ्यै छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण रोजगारीको शिलशिलामा प्रवासमा रहेका अधिकासं नेपाली स्वदेश फर्किएका छन । अवस्था अझै जटिल र अनिश्चित रहेकोले अब घर फर्किएकाहरु बेरोजगार हुने चिन्ता बढेको छ । स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै केही समय अघि भारतबाट घर फर्किएका सुदूरपश्चिमेलीहरु फेरी भारततर्फ लागेका छन । सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले भारत जानुपर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गर्दै आएका छन ।

पेट पाल्नकै लागि भारत जान नपर्ने दावी गर्दै आएको प्रदेश सरकार आफुले गरेको वाचाबाट चुकेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले कोरोनाबाट सिर्जित संकट व्यवस्थापनलाई चालु आर्थिक बर्षको बजेटमा प्राथमिकताका साथ समावेस गरिएको दाबी गरेका छन । राजगारीलाई जोड दिएर सरकारले साना तथा मझौला उद्योगी व्यवसायीका लागि मात्रै १ अर्ब रुपैयाँ विनियोजन गरेको उनको भनाइ छ । कोरोना महामारीले बरोजगार भएका व्यक्तिलाई रोजगारमा जोड्न प्रदेश सरकार थप गृहकार्यमा जुटेको उनले बताए ।

भारतमा कोरोना महामारी तिब्र गतिमा फैलिरहेको अवस्थामा सुदूरपश्चिमबाट भारत जाने नेपालीको संख्या भने बढ्न थालेको छ । शुरुमा भारतबाट स्वदेश आउने नेपालीको संख्या उच्च भएपनि त्यस यता फेरी रोजगारीको सिलसिलामा भरत जाने नेपालीको संख्या बढ्न थालेको छ । स्वदेशमै पेशा व्यवसाय वा नोकरी गर्ने सोच भएपनि यहाँ केही विकल्प नभेटेपछि फेरि भारततिरै लागेको सीमामा भेटिएका नागरिक बताउँछन् ।

लकडाउन अवधीमा नेपालीहरु धमाधम घर फर्किएपछि यतिबेला भारतमा कामदारको अभाव भइरहेको छ । कामदारको अभावमा भारतमा विभिन्न उद्योग कलकारखाना सञ्चालनमा समस्या भईरहेको छ । भारतमा नेपाली कारदारको अभाव भएपछि भारतीय उद्योगपति सीमा नाकामै पुग्ने गरेका छन् । उनिहरुले सीमा नाकाबाटै नेपालीहरुलाई आ–आफ्नो कम्पनीमा कामको लागी लैजाने गरेका छन् ।

भारतीय आधार कार्ड नभएका नेपालीहरु समेत भारतीय उद्योगपतिले आफ्नो जिम्मामा कामको लागी लैजाने गरका छन् । लकडाउन अवधिमा सुदूरपश्चिमका मात्रै झण्डै पाँच लाख बढी नेपालीहरु घर फर्किएका थिए । तीमध्ये धेरै जसोले यता बेरोजगार बनेपछि फेरि भारत जान लागेको बताए ।

प्रदेश सरकारले भने कृषि क्षेत्रबाट नै प्रदेशको विकास सम्भव हुने भन्दै व्यवसायीक कृर्षि गर्न चाहनेलाई प्रोत्साहन स्वरुप बिषेश अनुदानको व्यवस्था गर्ने जनाएको छ । चालु आर्थिक बर्षको बजेटमा कृर्षि क्षेत्रलाई नै प्राथमिकता राखिएको छ । कोरोना महामारीका कारण देशकै अर्थतन्त्र प्रभावित भएका वेला साना लगानीका व्यवसायीहरु भने विस्थापित नै हुने अवस्थामा पुगेका छन् । मन्त्री बोहराले साना व्यवसायीहरुको समस्यालाई मध्यनजर गर्दै राहात स्वरुप बिषेश योजना बनाएको बताए ।

महामारीकै बेला घर छोडेर दैनिक सयौँको संख्यामा सुदूरपश्चिमेलीहरु भारत गइरहँदा प्रदेशका सबै नेता र जनप्रतिनीधीहरु टुलुटुलु हेरेर बसेका छन् । उनीहरुको भविष्य निर्धारण गर्ने जिम्मेवारीमा बसेका नेताहरुले यस विषयमा कुनै प्रतिकृया सार्वजनिक गरेका छैनन् । संकटको बेला जन्मथलो सम्झेर फिेरका नागरिक यहाँ भोकले मर्नुभन्दा रोगैले मरुला भन्दै विदेशिनु पर्ने पीडादायी अवस्थाका प्रति कसैले जिम्मेवारी लिन सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्