नेपाल क्लियरिङ्ग हाउसको ४० प्रतिशत लाभांश पारित, २ जना सञ्चालक निर्विरोध « Arthapath.com
२८ पुष २०७८, बुधबार

नेपाल क्लियरिङ्ग हाउसको ४० प्रतिशत लाभांश पारित, २ जना सञ्चालक निर्विरोध



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसिएचएल) को वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । एनसिएचएलको पौष २८ गते सम्पन्न १० औं साधरणसभाले ४० प्रतिशत लाभांश पारित गरेको हो ।

त्यस्तै, कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको ३८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद गरी कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीको सभाले भुक्तानी प्रणालीहरुको कारोवार शुल्क अत्याधिक रुपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य वृद्धी भएको जनाएको छ । त्यस्तै, अघिल्लो आवको ४ महिनामा कोभिड–१९को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोवारको शुल्कमा छुट दिएको कारण आव २०७७–७८मा कम्पनीको खुदनाफा ३८ प्रतिशतले वृद्धी भएको छ । कम्पनीको कुल पूँजी तथा जगेडा कोषको अनुपातमा ३१ प्रतिशत बराबरको नाफा प्राप्त गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले मात्र वृद्धि भएको हो ।

कम्पनीको सञ्चालक समितिमा २ जना नयाँ सञ्चालकहरु निर्विरोध चयन भएका छन् । विकास बैंकलाई प्रतिनिधित्व गर्दै मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र फाइनान्स कम्पनीलाई प्रतिनिधित्व गर्दै रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ निर्विरोध चयन सञ्चालकमा चयन भएका हुन् ।

नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट तीनजना, विकास बैंकका तर्फबाट एक जना र फाइनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल ६ जनाप्रतिनिधीहरु रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्