तोडिँदैछ नेप्सेको एकाधिकार, प्रतिस्पर्धाले सेवा बढाउने आस « Arthapath.com
२४ बैशाख २०८०, आईतवार

तोडिँदैछ नेप्सेको एकाधिकार, प्रतिस्पर्धाले सेवा बढाउने आस



काठमाडौं । नेपाली सेयर बजारमा विगत ३० बर्षदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एक्लौटी रुपमा राज गर्दै आएको छ । सरकारी स्वामित्वको उक्त स्टक एक्सचेन्ज कम्पनी १९९४ जनवरी १३ तारिखमा स्थापना भएको थियो ।

त्यसयता नेपाली पुँजी बजारमा नेप्सेले एकलौटी रुपमा राज गर्दै आएको छ । पब्लीक कम्पनीले आईपीओ जारी गरेपछि सेयर सुचीकरण गर्न नेप्सेलाई नै रोज्नुपर्ने बाध्यता छ । यसरी नेपाली सेयर बजारको स्थापनादेखि नै नेप्सेले एकलौटी राज गर्दै आएको हो ।

सोहीअनुसार नेप्सेले कमाउने नाफा पनि उच्च छ । पछिल्लो समय नेप्सेले शतप्रतिशत नै लाभांश दिने गरेको छ । पछिल्ला दुई आर्थिक वर्षमै नेप्सले शतप्रतिशत लाभांश वितरण गरेको थियो ।

गत आवमा पनि नेप्सेले १ अर्ब १७ करोड ८१ लाख गत रुपैयाँ खुद नाफा कमाएको थियो । हाल नेप्सेको चुक्ता पुँजी १ अर्ब छ । त्यसमा नियमानुसार लाग्ने कर सहित १०० प्रतिशत नगद लाभांश (१ अर्ब रुपैयाँ) वितरण गर्ने निर्णय नेप्सले गरेको थियो । तर, अब नेपाली सेयर बजारमा नेप्सेको एकलौटी राज तोडिने भएको छ ।

नेपाल धितोपत्र बोर्डले निजी क्षेत्रबाट थप एक स्टक एक्सचेन्ज थप्ने गरि लाइसेन्स दिने प्रक्रिया अघि बढाइसकेको छ । योसँगै अब सेयर बजारमा नेप्सेको एकाधिकार तोडिने भएको हो । साथै, अब पब्लीक कम्पनीहरुलाई कुन एक्सचेन्ज कम्पनीमा सेयर सुचीकृत गर्ने भनेर छनोट गर्ने वातावरण समेत तयार हुने भएको छ । यसले सेयर बजारमा प्रतिस्पर्धा र सेवा सुविधा बढाउने सम्भावना समेत बढेको छ । नेपाल धितोपत्र बोर्डले लाइसेन्सका लागि केही समय अघि आह्वान गरेको प्रस्तावमा ३ कम्पनीले आवेदन दिएका छन् । त्यसमा हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्ज लिमिटेडले आवेदन दर्ता गरेका छन् ।

अब त्यसबाट कुनै एक कम्पनीलाई लाइसेन्स दिने बोर्डको तयारी छ । त्यसका लागि गत साता मात्रै बोर्डले मुल्यांकन समिति बनाएको छ । समग्रमा अबको १ महिनामा कुनै एक स्टक एक्सचेन्ज कम्पनीलाई लाइसेन्सको आशय पत्र दिने बोर्डको तयारी छ । त्यसपछि आशय पत्र पाउने कम्पनीले ६ महिना भित्र आवश्यक पुर्वाधार तयार गर्नुपर्छ । त्यसपछि बोर्डले कारोबारको अन्तिम स्वीकृत अर्थात् लाइसेन्स दिनेछ । त्यसपछि सम्बन्धीत स्टक एक्सचेन्ज कम्पनी सञ्चालनमा आउने छ र नेप्सेको एकाधिकार तोडिने छ ।

नेपालमा २०६४ मै निजी क्षेत्रबाट थप स्टक एक्सचेन्ज ल्याउनुपर्ने बहस भएको थियो । तर, यो बहस प्रभावकारी रुपमा अघि बढेको थिएन । २०७३ असोजदेखि २०७६ सम्म अध्यक्ष बनेका डा. रेवत बहादुर कार्कीले निजी क्षेत्रबाट स्टक एक्सचेन्ज थप गर्नुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा लगेका थिए । तर, अर्थ मन्त्रालयले तत्कालिन समयमा आवश्यक नरहेको भन्दै स्टक एक्सचेन्ज थप्न मानेन । यद्यपि, बोर्डले कि नेप्सेलाई निजीकरण गरेर सुधार गर्नुपर्ने वा निजी क्षेत्रबाटै स्टक एक्सचेन्ज थप गर्ने भनेर पहल गरिरहेको थियो । साथै, विभिन्न अध्ययन पनि गरिरहेको थियो । तर, त्यसले पुर्णता पाएको थिएन ।

बोर्डका वर्तमान अध्यक्ष रमेश कुमार हमाल आएपछि यो प्रक्रिया अघि बढाएको बताइन्छ । यसका लागि गत २०७९ भदौंमा मन्त्रीपरिषद् बैठकले ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, धितोपत्र व्यवसायी नियमावली २०६४ र धितोपत्र बजार सञ्चालक नियमावली २०६४ संशोधनलाई स्वीकृत गरेर नयाँ स्टक एक्सचेन्जलाई लाइेसेन्स दिने व्यवस्था गरेको थियो । त्यसपछि बोर्डले असोज २ गते नयाँ स्टक एक्सेचेन्जको लािग प्रस्ताव आह्वान गरेको थियो । तर, यस विरुद्ध सर्वाेच्चमा रिट पर्दा यो अन्योलमा परेको थियो । तर, सर्वाेच्चको सरकारकै पक्षमा फैसला गरेपछि यो प्रक्रिया पुनः अघि बढेको हो ।


प्रतिक्रिया दिनुहोस्