‘ट्याक्स हेभन’ बाट भित्रियो ११ अर्ब विदेशी लगानी, ५७ देशमध्ये भारत नै पहिलो « Arthapath.com
१२ आश्विन २०८०, शुक्रबार

‘ट्याक्स हेभन’ बाट भित्रियो ११ अर्ब विदेशी लगानी, ५७ देशमध्ये भारत नै पहिलो



काठमाडौं । नेपालमा ‘ट्याक्स हेभन’ भनेर चिनिएका मुलुहरुबाट ११ अर्ब २१ करोडभन्दा धेरै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भइरहेको देखिएको छ । नेपाल राष्ट्र बैंक गत बुधबार सार्वजनिक गरको एफडीआई सम्बन्धि सर्वेक्षण प्रतिवेदनले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । यो रकम राष्ट्र बैंकमा लेखांकन भएको लगानी हो ।

करीब साढे १४ महिनाअघि अर्थात् २०७९ असार मसान्तसम्म नेपालमा ५७ देशका कम्पनीहरुको २ खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ हाराहारी एफडीआई नेपालमा थियो । यसमध्ये ७ मुलुक ‘ट्याक्स हेभन’ अर्थात् ‘करको स्वर्ग’ भनेर चिनिएका देश छन् । ती देशका कम्पनीहरुको स्वामित्वमा करीब सवा ११ अर्ब बराबरको एफडीआई नेपालमा लगानी भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

‘ट्याक्स हेभन’ मुलुहरुमध्ये सबैभन्दा धेरै एफडीआई ब्रिटिश भर्जिन आइल्याण्डबाट आएको छ । ल्याटिन अमेरिकाको ‘कम्युनिस्ट सत्ता’ भनेर चिनिने भेनेजुयलादेखि उत्तरतिर क्यारेबियन सागरमा रहेको सानो टापु देश हो यो । त्यहाँबाट ४ अर्ब १९ करोडभन्दा धेरै एफडीआई आएको देखिएको छ ।

मादागास्करदेखि पूर्वतिर हिन्द महासागरमा रहेको अर्को टापु देश हो, मौरिसस । त्यहाँका कम्पनीहरुसँग अहिले पनि नेपालमा करीब ३ अर्ब ८५ करोड बराबरको एफडीआईको स्वामित्व छ । अमेरिकी राजधानि वासिङ्टनदेखि दक्षिण पूर्वमा अवस्थित क्यारेबियन टापु बर्मुडाबाट ३० करोड रुपैयाँ लगानी भित्रिएको थियो । तर अहिले ती कम्पनीहरुसँग नेपालमा २ अर्ब ७८ करोड हाराहारीको सम्पत्ती छ ।

यसबाहेक केमन आइल्याण्डबाट ३३ करोड, बहराइनबाट झण्डै ५ करोड, सामोआबाट १ करोड ९ लाख र कूक आइल्याण्डबाट ५९ लाख रुपैयाँ एफडीआई कार्यान्वयनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

के हो ‘ट्याक्स हेभन’ ?

अमेरिकादेखि बेलायतसम्मका देशको अधीनस्थ टापुदेखि विश्वकै सम्पन्न मुलुकहरुसम्मले गोपनीयता र कर सहुलियत दिएर विश्वभरबाट पैसा तान्ने गरेका छन् । यस्ता मुलुकमा सम्पत्तीको स्रोत नखोजिने भएकाले ‘कालो धन’ भनिने अबैध सम्पत्ती लुकाउने गरेको पाइन्छ । संसारभरबाट हातहतियारको अबैध धन्दा, मानव बेचबिखन, लागू औषध कारोबार, भ्रष्टाचारजस्ता अपराधिक गतिविधीबाट आर्जित सम्पत्ती यी देशमा थुपार्ने गरिएको छ ।

लक्जम्बर्ग, बर्मुडा, बहराइन, पानामा, बहमास, मौरिसस, गिब्राल्टर, जर्सी, अङ्गुलिया, इल्स अफ म्यान, नौरु, मार्सल आइल्याण्ड, गुआम, अमेरिकन सामोआ, एन्डोरा, केम्यान आइल्याण्ड, कुराकाव, बार्बाडोस, सामोआ, भानुआटु, नुई, एण्टिगुवा बर्बुडा, मोनाको, ब्रिटिश भर्जिन आइल्याण्ड, यूएस (अमेरिका) भर्जिन आइल्याण्ड, डोमिनिका, लिच्टेन्टिन, कूक आइल्याण्ड र मोन्टसेरेटलाई ‘ट्याक्स हेभन’ भनिन्छ ।

यीमध्ये कयौं देशमा नेपालबाट कालोधन जाने गरेको आशंका गरिन्छ । नेपालमा भ्रष्टाचार र करछलिबाट आर्जित रकमयस्ता देशमा पुर्याउने गरेको भनेर विश्वस्तरीय संस्थाहरुले पनि आवाज उठाउँदै आएका छन् । त्यस्ता देशमा विभिन्न गैरकानूनी कामबाट आर्जित सम्पत्ती लुकाउने र फेरी त्यही पैसालाई एफडीआईको रुपमा स्वदेश भित्र्याउने गरेको भनेर पनि फाटफुट घटना बाहिर आएका छन् ।

केही समयअघि यस्तै खाले पैसा ठूलो परिमाणमा ल्याउन खोजिएपछि तत्कालिन अर्थमन्त्री एवम् माओबादी नेता जनार्दन शर्मा समस्यामा परेका थिए । अहिले राष्ट्र बैंकले तिनै देशबाट आएको एफडीआईबारे जानकारी दिएको छ ।

ठूलो लगानीकर्ता भारत र चीन

नयाँ प्रतिवेदनले नेपालमा रहेको एफडीआई अर्थात् प्रत्यक्ष विदेशी स्वामित्वमध्ये सबैभन्दा ठूलो हिस्सा छिमेकी भारतको रहेको देखाएको छ । भारतबाटमात्रै कुल एफडीआईको ३३.५ प्रतिशत अर्थात् ८८ अर्ब ६० करोड हाराहारी लगानी भएको छ । यसमध्ये झण्डै ७० अर्ब औद्योगिक क्षेत्रमा लगानी भएको र बाँकी साढे १८ अर्ब सेवा क्षेत्रमा लगानी भएको राष्ट्र बैंकले बताएको छ ।

दोस्रो स्थानमा रहेको चीनले साढे ३८ अर्ब रुपैयाँ औद्योगिक क्षेत्रमा लगानी गरेको भए पनि सेवा क्षेत्रमा उसको लगानी झण्डै ५२ अर्ब ऋणात्मक देखिएको छ । यसकारण खुद चिनियाँ लगानीले नेपालको एफडीआईमा केवल १२.७ प्रतिशत हिस्सा ओगट्छ ।
तेस्रो स्थानमा आयरल्याण्ड छ । यो युरोपेली मुलुकको झण्डै २१ अर्ब एफडीआई नेपालमा छ । सिंगापुरको १६ अर्ब र सेन्ट किट्स एण्ड नेभिजको १५ अर्बभन्दा धेरै एफडीआई छ । अस्ट्रेलिया, दक्षिण कोरिया, संयुक्त अरब र अमेरिकाको स्थान त्यसपछि आउँछ । नेदरल्याण्ड्स पनि शीर्ष १० देशको सूचीमा छ ।

हङ्कङ, बेलायत, पाकिस्तान, बाङ्लादेश, नर्वे, जापान, श्रीलंका, मलेसिया, ब्रुनाइ, ताइवान, स्वीट्जरल्याण्ड, डेनमार्क, इटली, क्यानडा, स्वेडेन, रुस, जर्मनी, फ्रान्स, टर्की, बेल्जियम, भुटान, न्युजिल्याण्ड, ताजिकिस्तान, साइप्रस र दक्षिण सुडान पनि कम्तिमा १ करोडभन्दा धेरै एफडीआई भएका देश हुन् ।

माल्टा, हङ्कङ, अजरबैजान, फिनल्याण्ड, इजरायल, काजाखस्तान, फिलिपिन्स, पोल्याण्ड, अस्ट्रिया, बेलारुस, बेलिज, चिलि, स्पेन, ब्राजिल र सेचेलेसबाट पनि एफडीआई त आएको छ, तर यो रकम ज्यादै न्यून छ ।

केमा भयो लगानी ?

एफडीआई ल्याउनेमध्ये नेदरल्याण्ड, दक्षिण कोरिया र अमेरिकाले केही उल्लेख्य हिस्सा कृषि क्षेत्रमा लगानी गरेका छन् । भारत, चीन, सिंगापुर, दक्षिण कोरिया, संयुक्त अरब, हङकङ र नर्वेको एफडीआईमध्ये सबैभन्दा ठूलो हिस्सा उद्योगमा लगानी भएको छ । आयरल्याण्ड, सेन्ट नेभिज, अमेरिका, नेदरल्याण्ड्स, बेलायत, पाकिस्तान, बंगलादेश, जापान लगायत देशले सेवा क्षेत्रमा उच्चतम लगानी गरेका छन् ।

अफसोर लगानी आउने संभावना भएका देशहरुमध्ये ब्रिटिश भर्जिन आइल्याण्डबाट पुरै पैसा सेवा क्षेत्रमा लगानी भएको देखिन्छ । बर्मुडाबाट आएको पुरा पैसा उद्योगमा लगानी भएको छ । मौरिससले पनि ७१ प्रतिशत रकम उद्योगमै लगाएको जनाएको छ ।
राष्ट्र बैंकले २०७८ असार मसान्तसम्म केद्रिय बैंकबाट प्रत्यक्ष विदेशी लगानी स्वीकृति लिएका ६ सय ४ कम्पनीमध्ये १ सय ९७ लाई अध्ययनमा समेटेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्