सिमेण्ट निर्यातमा उत्साहजनक आँकडा, तर प्रभावशाली घरानाले मात्र कसरी गर्दैछन् निकासी ?

काठमाडौं । नेपालको सिमेन्ट निर्यातमा चामत्कारिक बृद्धि देखिएको छ । पछिल्लो समय नेपालबाट निर्यात हुने सिमेन्ट तथा क्लिङ्कर निरन्तर बढी रहेको छ ।
चार महिनामै नेपालले १ अर्ब १३ करोड ७ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङ्कर भारततर्फ निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि कात्तिकसम्मको चार महिनामा उक्त परिमाणमा सिमेण्ट निर्यात भएको देखिएको हो ।
गत वर्षको यही अवधिसँग तुलना गर्ने हो भने सिमेन्ट तथा क्लिङ्करको निर्यात ३१.१९ गुणाले बढेको देखिन्छ । गत वर्षको सो अवधिमा नेपालले साढे तीन करोड रुपैयाँ बराबरको ६६ हजार १२४ टन सिमेन्ट तथा क्लिङ्कर भारतलाई बेचेको थियो ।
विशेषगरी सरकारले निर्यातमा नगद अनुदानको नीति लिएपछि नै यसको व्यापार चम्किएको हो । सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने नीति अघिल्लो आर्थिक वर्षबाटै अघि सारेको थियो । त्यसबाट सिमेन्ट उद्योगहरू निर्यात गर्न प्रोत्साहित भएका छन् ।
चालु आवको पहिलो चार महिनामा नेपाली उद्योगीहरूले ८ लाख ६ हजार ७१८ मेट्रिक टन सिमेन्ट तथा क्लिङ्कर निर्यात गरेका हुन् । विभागका अनुसार यसबीचमा ५४ करोड ४९ लाख रुपैयाँ बराबरको ६ लाख ४१ हजार ८९९ टन सिमेन्ट र ५८ करोड ५७ लाख रुपैयाँ बराबरको १ लाख ७४ हजार ८१९ टन सिमेन्ट क्लिङ्कर निर्यात भएको छ ।
अहिले अर्थतन्त्र सुस्त देखिएको छ । स्वदेशी बजारमा निर्माण सामग्रीको माग घटेको छ । वर्तमान मन्दीमा यसरी सिमेन्टको निर्यात बढ्दा सम्बन्धित उद्योगहरूलाई केही राहत मिलेको उद्योगीहरु बताउँछन् ।
शक्तिशाली घरानाको पकड
अहिले नेपालबाट हालैमात्र आईपीओ जारी गरिरहेको सर्वोत्तम सिमेण्ट भारत निर्यात भइरहेको छ । यो सौरभ समूहको प्रबद्र्धनमा खुलेको कम्पनी हो । जसको मालिक विष्णुप्रसाद न्यौपाने हुन् । बर्मेली नेपाली न्यौपाने अहिले हिमालयन रिइन्स्योरेन्समा शंकर समूह, गोल्छा अर्गनाइजेशन र दीपक भट्टका सझेदार हुन् ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको अर्घाखाँची सिमेण्ट पनि त्यसरी नै निर्यात भइरहेको छ । उनी महासंघको नेतृत्वबाट हटेको लामो समय भए पनि नेपालमा रहेका मारबाडी व्यवसायीमध्ये एक समूहको व्यावसायिक र राजनीतिक रुपमा अनौपचारिक नेतृत्वमै छन् ।
त्यसपछि आरएमसी ग्रुपको कम्पनी पाल्पा सिमेण्टले उत्पादन गरेको तानसेन ब्राण्डको सिमेण्ट पनि भारत निर्यात भइरहेको छ । यो कम्पनी नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र उनको परिवारको हो ।
त्रिवेणी समूह अर्थात् संघाई परिवारले प्रबद्र्धन गरेको घोराही सिमेण्ट पनि नेपालबाट निर्यात भइरहेको छ । यो समूह नेपालको पुरानो ब्यापारिक घराना हो ।
यसरी सीमित शक्तिशाली घरानालेमात्रै बढी हिस्सामा सिमेण्ट निर्यात गर्न सकिरहेको देखिन्छ । यसले राज्यद्वारा प्रदान गरिएको प्रतिफल कुन वर्गको हातमा पुगेको छ भन्ने प्रष्ट हुन्छ । भलै यसले देशको भुक्तानी सन्तुलन र ब्यापारघाटालाई थोरै भए पनि घटाउन मद्दत गरेको छ ।
यसको अर्को पाटो चाहीँ चिनियाँ लगानीमा खुलेको हुवासिन, होङ्शी शिवम् र स्वदेशी लगानीमा नेपालकै ठूलो उद्योग भनेर दाबी गर्ने शिवम् सिमेण्टहरु भने भारतीय बजारमा प्रतिस्पर्धा गर्न र निर्यात गर्न सकिरहेका छैनन् ।
सुस्त घरेलु बजारको विकल्पमा भारत
मूल्यवृद्धि र सरकारसँग खर्चयोग्य पैसा नभएर भुक्तानी एवं नयाँ ठेक्का लगाउनै समस्या परेपछि अहिले स्वदेशी निर्माण क्षेत्र मन्दीकै हालतमा छ । जसले गर्दा सिमेन्टको उत्पादन र स्वदेशी खपत घटेको छ । त्यसबाट प्रभावित सिमेन्ट उद्योगलाई बढ्दो निर्यातले केही उत्साह भने थपिएको व्यवसायीहरू बताउँछन् ।
नेपालबाट आधिकारिक रूपमा पहिलो पटक तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । गत वर्ष असार २४ गते उक्त सिमेन्ट भारत निर्यात सुरु गरेको थियो । नेपाली सिमेन्ट भारतको विहार र उत्तर प्रदेशबाट बढी माग हुने गरेको व्यवसायीहरू बताउँछन् ।
नेपाली सिमेन्टको गुणस्तरप्रति उनीहरू सन्तुष्ट रहेकाले पनि माग बढ्दै गएको बताइन्छ । एक व्यवसायीले भने,–‘विहार र उत्तर प्रदेशमा भारतीय सिमेन्ट उद्योगहरू छैनन् । त्यहाँ भारतको अन्य ठाउँबाट सिमेन्ट खरीद गर्दा ढुवानीका कारण लागत महँगो पर्न जान्छ । तर, नेपालबाट आयात गर्दा ढुवानीमा कम खर्च हुन्छ । मुख्यतः नेपाली सिमेन्टको गुणस्तरप्रति सन्तुष्ट पनि छन् । त्यसले गर्दा निर्यात बढेको हो ।’
नेपाली सिमेन्ट उद्योग पूर्ण क्षमतामा चलाउन सकिएमा निकै सम्भावना रहेको उद्योगीको भनाइ छ । सिमेन्ट निर्यात नेपालको विदेशी मुद्रा आर्जनको एउटा महत्त्वपूर्ण क्षेत्र बन्न सक्ने उद्योगीहरू बताउँछन् ।
गत आव २०७९/८० मा पनि ७७ करोड ९३ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो । गत वर्ष ६ लाख ७ हजार ७३ टन सिमेन्ट निर्यात भएको विभागले जनाएका छ । त्यसभन्दा अघिल्लो आवमा पनि ३२ करोड १४ लाख ९६ हजार रुपैयाँ बराबरको ३ लाख ९६ हजार ९५० टन सिमेन्ट नेपालले निर्यात गरेको थियो ।
त्यसपछि भने सिमेन्ट निर्यात निरन्तर बढेको देखिन्छ । अघिल्ला वर्षहरूमा निर्माण सम्बन्धी गतिविधि पनि कम मात्रामा भएका थिए । त्यस निर्माण सामग्रीको खपत घट्दा सिमेन्ट उद्योग पनि प्रभावित बनेको थियो । तर, अहिले भने यस्तो क्रम रोकिएर निरन्तर बढ्दो क्रममा छ ।
घट्दो आयात
नेपालबाट सिमेन्टको निर्यात बढीरहँदा पनि यसको आयात भने ठप्प भएको छैन । तर आयात हुने परिमाण भने लगातार घटिरहेको देखिएको छ ।
गत आवको कात्तिकसम्म १२ करोड ३२ लाख रुपैयाँ बराबरको सिमेन्ट आयात भएको थियो । तर, चालु आवको सोही अवधिमा भने घटेर १ करोड ६५ लाख रुपैयाँले आयात घटेको छ । समीक्षा अवधिमा जम्मा १० करोड ६५ लाख रुपैयाँ बराबरको सिमेन्ट मात्रै आयात भएको विभागले जनाएको छ ।
नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको व्यवसायीले बताउने गरेका छन् । विदेशी लगानीमा बन्दै गरेको केही आयोजनाहरूले मात्रै विदेशी सिमेन्ट आयात गर्ने गर्छन् । तर, अहिले स्वदेशी मागलाई स्वदेशी उत्पादनले नै धान्ने अवस्था भएको छ । त्यसले गर्दा आयात घटेको व्यवसायीहरू बताउँछन् ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष पनि सिमेन्ट आयात आधाले घटेको थियो । गत वर्षभर ३० करोड ९ लाख रुपैयाँ बराबरको मात्रै सिमेन्ट आयात भएको थियो । तर, त्यसभन्दा अघिल्लो भने ६८ करोड ९३ लाख बढीको सिमेन्ट आयात भएको थियो ।