रोक्न सकिएन भारतीय फूलका माला, उत्पादन बढेपछि मूल्य र कारोबार दुबै घट्यो « Arthapath.com
८ मंसिर २०८०, शुक्रबार

रोक्न सकिएन भारतीय फूलका माला, उत्पादन बढेपछि मूल्य र कारोबार दुबै घट्यो



काठमाडौं । फूलको ब्यापारबाट यो साल किसानले २४ करोड रुपैयाँ कमाएका छन् । नेपाल फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यो साल बजारमा स्वदेशी फूलको ब्यापार उच्च भएको छ ।

तिहार र छठमा पोहोरभन्दा फूलको कारोबार बढी भए पनि यस वर्ष अधिक प्रतिस्पर्धाले मूल्य सस्तिएको थियो । यही कारण फूलको मुख्य मौसम तिहार र छठमा देशभर पुष्प व्यवसाय बढे पनि यसको मूल्यका हिसाबले भने कारोबार घटेको देखिएको छ ।

गत साल फूलको माला प्रतिगोटा औसत १०० रुपैयाँमा विक्री भएकोमा यस वर्ष औसत ६५ रुपैयाँमै विक्री गर्नु परेको एशोसिएशनले जनाएको छ । यसले कुल कारोबार रकममा कमी देखिएको हो । सोही कारण पोहोर २६ करोडको फूलको कारोबार भएकोमा यस वर्ष २४ करोडमा झरेको छ ।

त्यस्तै यो साल १ लाखको संख्यामा मखमली फूलको माला विदेश निर्यात भएको छ । यी मालाहरु अस्ट्रेलिया, अमेरिका र खाडीका मुलुकहरुमा धेरै निर्यात भएका छन् । तिहार मनाउने नेपालीहरुले स्वदेशको माला किनेका छन् ।

एशोसिएसनले यो साल ३१ करोड २८ लाखभन्दा धेरैको फूल तथा माला विक्री हुने अपेक्षा गरेको थियो । नेपालमा फूलको उत्पादन बढेको भन्दै किसानहरुले यो साल भारतबाट माला आयात गर्न नदिने भनेका थिए । तर यस वर्ष पनि तिहारमा करीब ७० प्रतिशत फूल भारतबाटै आयात भएको बताइएको छ । बाँकी ३० प्रतिशतमात्रै स्वदेशी फूलको उपयोग हुँदा किसानलाई घाटा परेको एसोसियसनको भनाइ छ ।

अहिले नेपालभर ४८ जिल्लामा व्यावसायिक रुपमै पुष्प खेति हुन थालेको छ । धादिङ, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, कास्की, गुल्मी, काठमाडौं, भक्तपुर लगायत प्रमुख हुन् । देशभर व्यावसायिक रुपमै ४५० प्रजातिका फूलको उत्पादन भइरहेको एशोसिएसनले जनाएको छ । यसका लागि करीब २२० हेक्टर क्षेत्रमा १२०० व्यवसायीहरु खटिएका छन् ।


प्रतिक्रिया दिनुहोस्