सिटिजन्स बैंकले सार्वजनिक गर्यो नेपालमै पहिलो पटक ‘भर्चुअल क्रेडिट कार्ड’ « Arthapath.com
९ बैशाख २०८१, आईतवार

सिटिजन्स बैंकले सार्वजनिक गर्यो नेपालमै पहिलो पटक ‘भर्चुअल क्रेडिट कार्ड’



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ ।

डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै बिगत सत्र वर्ष देखि आम नेपाली सर्वसाधरण गा्रहकवर्गहरुमाझ सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको बैंकले सो कार्डको सार्वजनिक गरेको हो ।

एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेलले सो कार्डको उद्घाटन गरेका छन् । भर्चुअल क्रेडिट कार्ड संचालनका लागि बैंकका तर्फबाट सिइओ पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमार बीचसम्बन्धी सम्झौता भएको छ ।

भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नेछन । कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकहरूले २० हजार रुपैयाँदेखी २ लाख ५० हजार रुपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन । भर्चुअल क्रेडिट कार्ड क्यूआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिनेछ ।

यसमा ई.एम.आइ को सुबिधा पनि रहेको छ । बैंकले ग्राहकहरुलाई ४५ दिनको समयावधि भित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ साथै उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशतदेखि १०० प्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ ।

भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो । ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछन् । यो कार्डले भुक्तानी कार्ड उद्योग र ग्राहकलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको छ ।

हाल सिटिजन बैंकको देशैभरी १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्