विकासका लागि केन्द्रको जस्तै गठबन्धन प्रदेशमा पनि हुनुपर्छः मन्त्री गुप्ता
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विकासको काममा एकजुट हुन सबैलाई आग्रह गरेका छन् ।
मन्त्री गुप्ताको सम्मानका लागि जिल्लाको पर्सागढी नगरपालिकाले आज आयोजना गरेको ‘स्वागत एवम् सम्मान कार्यक्रम’मा उनले समग्र विकास निर्माणको कार्यमा सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले विकासका कामलाई द्रुत गतिमा अघि बढाउन केन्द्रमा नेकपा एमालेले निर्माण गरेकोजस्तै गठबन्धन प्रदेशमा पनि हुन जरुरी रहेको औँलयाए ।
विकासका पूर्वाधारहरू अस्पताल, सडक र शिक्षामा सबैको सहकार्य हुनसके मात्रै स्थानीय जनताको जीवनस्तर राम्रो हुने भएकाले पर्सागढीको स्थानीय सरकारलाई सकारात्मक एजेण्डासहित मन्त्रालयसँग सहकार्य गर्न मन्त्री गुप्ताले आग्रह गरेका छन् । विकासका लागि अहिलेको मुख्य एजेण्डा भनेको शिक्षा, स्वास्थ्य र सडकको प्रभावकारी व्यवस्थापन गर्नु रहेको उनको भनाइ छ ।
कार्यक्रममा नगरपालिकाले मन्त्री गुप्तालाई सम्मान पनि गरेको छ । पर्सागढीसहित पर्साबासीबाट पाएको सो सम्मान र मायाले आफूलाई निकै खुुसी तुल्याएको उनले बताए । आफू राजनीतिमा आएलगत्तै प्रतिनिधि सभा सदस्य निर्वाचित गराएको भन्दै उनले आफ्नो निर्वाचन क्षेत्र र सम्पूर्ण जिल्लावासीप्रति धन्यवाद ज्ञापन गरे । आफूलाई निर्वाचित गराएर जनताले लगाएको गुण तिर्न आफूले जिल्लाको विकास निर्माणमा विशेष ध्यान दिने प्रतिवद्धता पनि व्यक्त गरे।
पर्सागढी आउँदा राम्रो साइत बनेको चर्चा गर्दै उहाँले अबको क्रममा थप विकास गर्ने र हेर्ने चाहना रहेको मन्त्री गुप्ताले बताए ।