भव्य रुपमा सम्पन्न भयो लक्ष्मी सनराइज क्यापिटलको साधारण सभा, नगद लाभांश पनि पारित « Arthapath.com
१६ मंसिर २०८१, आईतवार

भव्य रुपमा सम्पन्न भयो लक्ष्मी सनराइज क्यापिटलको साधारण सभा, नगद लाभांश पनि पारित



काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित लक्ष्मी सनराइज क्यापिटलको १४औ वार्षिक साधारण सभाबाट लाभांश पारित भएको छ ।

आज अर्थात् मंसिर १६ गते सम्पन्न कम्पनीको सभाले १५.७९ प्रतिशत नगद लाभांश पारित गरेको हो । क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । सभाले ७ करोड ७१ लाख ९४ हजार रुपैयाँ (१५% कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

यस्तै, सभामा गत आवको वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पनि पारित भएको छ । यस्तै, चालु आवका लागि लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षक नियुक्ती गर्ने प्रस्ताव पारित गरेको छ ।

तीन दशक भन्दा अधिक समयदेखि मर्चेण्ट बैंकिङ्ग सेवामा सकृयताका साथ संलग्न रहेको यस कम्पनीले हाल सम्म सबै भन्दा बढी संस्थाहरुको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य सम्पन्न गरेको छ ।

हाल २० वटा कम्पनीहरुको सेयर निष्काशनको क्रममा रहेको छ । कम्पनीले करिब २५० जना ग्राहकहरुको ७० करोड भन्दा बढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आईरहेकोे छ । कम्पनीले करिव ३.५० लाख निक्षेप सदस्यहरुको डिम्याट खाता खोल्न सफल भएको छ ।

क्यापिटलले गत वर्ष लक्ष्मी क्यापिटल मार्केट र सन्राईज क्यापिटल एक आपसमा गाभिई पौष २३ गतेबाट संयुक्त कारोवारको थालनी गरेको हो । दुई कम्पनीको मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी ४८ करोड ८९ लाख कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्