अब गोल्छा ग्रुपका उद्योगहरुमा युवालाई व्यावसायिक तालिम, ‘स्किल ग्याप’ घटाउने लक्ष्य « Arthapath.com
९ पुष २०८१, मंगलवार

अब गोल्छा ग्रुपका उद्योगहरुमा युवालाई व्यावसायिक तालिम, ‘स्किल ग्याप’ घटाउने लक्ष्य



काठमाडौँ । नेपालमा शताब्दी लामो व्यावसायिक विरासत बोकेको अग्रणी औद्योगिक घराना ‘गोल्छा ग्रुप’ ले उद्योगमा आधारित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नका लागि ‘दिगो एवम् लाभकारी रोजगारका निम्ति उन्नत सीप (इन्स्योर)’ परियोजनासँग साझेदारी गर्ने भएको छ ।

यस साझलेदारी पहलले नेपाली युवालाई बाजारको माग र प्रासंगिकता अनुसारको प्राविधिक सीप प्रदान गर्दै शिक्षा र रोजगारका बीच देखिएको ठूलो खाडललाई पुर्ने प्रयत्न गर्ने छ ।

गोल्छा ग्रुपका अध्यक्ष एवम् प्रबन्ध निदेशक शेखर गोल्छा र इन्स्योर परियोजनाका टीम–लीडर रविन्द्रबहादुर सिंहले उक्त साझेदारी सम्बन्धी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार गोल्छा ग्रुप अन्तरगतका उद्योगहरुमा कार्यरत कर्मचारिहरुका लागि अटोमोबाइल इञ्जिनियरिङ्ग, मेकानिकल इञ्जिनियरिङ्ग र सूचना प्रविधिजस्ता क्षेत्रमा प्रशिक्षित गरिने भएको छ । सीप स्तरोन्नती तालिम (एसयूटी)का माध्यमबाट उनीहरुलाई आजीवन सिकाइलाई बढ़ावा देने, प्रशिक्षण पाठ्यक्रममा हरित कौशललाई समावेश गर्ने एवम् गोल्छा समूहका उद्योगहरुमा ‘कार्यस्थल सुरक्षा तथा पेशागत स्वास्थ्यको गुणस्तर (स्ट्याण्डर्ड) सुनिश्चित गर्ने विषयहरु समझदारी पत्रमा उल्लेख छन् ।

इन्स्योर परियोजना नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारको साझेदारीमा अघि सारिएको एक दुईपक्षीय पहल हो । यस परियोजनाले प्राविधिक विद्यालयमा अर्जित सैद्धान्तिक ज्ञानलाई सम्बन्धित उद्योग वा कम्पनीका प्रशिक्षकहरुकै रेखदेखमा व्यावहारिक सीप प्रशिक्षण गराउँछ । साथै यो तालिम पूरा गरेपछि प्रशिक्षार्थीले ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)’बाट प्रवेशिका (प्रि–डिप्लोमा) तहको प्रमाणपत्र पनि प्राप्त गर्न सक्छन् ।

यस किसिमको परियोजनालाई सरकार, रोजगारदाता र श्रमिक तीनै पक्षको जीत हुने ‘वीन–वीन–वीन’ परिस्थिति सिर्जना गर्ने ठानिएको छ । यसबाट नेपाली युवाले औद्योगिक क्षेत्रमा सम्पर्क सञ्जाल स्थापित गर्न, प्रशिक्षणका दौरान थोरै भए पनि पारिश्रमिक हासिल गर्न र स्तरीय सीपका साथै मान्यताप्राप्त प्रमाणपत्र पनि हासिल गर्न सक्छन् ।

त्यस्तै, रोजगारदाताले सस्तो मूल्यमै श्रम शक्ति प्राप्त गर्ने भएकाले उनीहरुले कम लागतमा ज्यादा उत्पादकत्व हासिल गर्न सक्छन् । साथै, मानिसहरु प्रशिक्षित हुँदा स्तरीय कामदारको अभाव झेल्नु पर्दैन र यसले उद्योगलाई सीपयुक्त कर्मचारी उपलब्ध गराइराख्न मद्दत गर्छ ।

अर्कातिर सरकारले पनि प्राविधिक शिक्षालयहरु मार्फत् युवालाई तालिम दिँदा भारीभर्कम उपकरण र शिक्षण सामग्रीहरु खरीद गर्नुपर्ने आवस्यकता टर्छ । यसले निकै कम लागतमै ठूलो मात्रामा दक्ष जनशक्तिको उत्पादन गर्न सकिन्छ ।

गोल्छा ग्रुपका अध्यक्ष एवम् प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘यस सहकार्यले आजको प्रतिस्पर्धी रोजगार बाजारमा नेपाली युवालाई सफल हुनका आवश्यक दक्षताका साथै सशक्त बनाउने हाम्रो प्रतिबद्धतालाई दर्शाउँछ ।’

त्यस्तै इन्स्योरका टीम–लीडर रविन्द्रबहादुर सिंहले भने, ‘गोल्छा समूहका साथ यो साझेदारी नेपालमा दक्ष श्रमशक्तिको विकास यात्राका निम्ति एक कोशेढुङ्गा हो । व्यावसायिक प्रशिक्षणमा उद्योगहरुको जरूरतलाई समाविष्ट गर्दै रोजगारी अभिबृद्धिमा त सघाइ नै हाल्छौँ, साथै सीप एवम् दक्षताको कमी (स्किल ग्याप)लाई घटाउन र नेपालको समग्र आर्थिक उन्नतीमा पनि योगदान पुर्याउने छौँ ।’


प्रतिक्रिया दिनुहोस्