‘स्किल स्पार्क च्याम्पियनशिप’ हुँदै, जेठ ३० मा ‘ग्राण्ड फिनाले’

काठमाडौं । ‘शिक्षित नारी, रूपान्तरित राष्ट्र’ भन्ने मूल नाराका साथ ‘स्किल स्पार्क च्याम्पियनशिप, २०२५’ आयोजना हुने भएको छ ।
स्किल स्पार्क प्रालिले नेपाली नारीहरुको सशक्तिकरणका निम्ति यो कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त प्रतियोगितामा उच्च अंक हासिल गर्ने शीर्ष तीन जनालाई पुरस्कृत गरिने आयोजक संस्थाकी प्रबन्ध निर्देशक सृजना झाले बताइन् ।
यो प्रतियोगिता मूल रुपमा युवा र ‘करियर’को खोजिमा रहेका विद्यार्थीहरुलाई लक्ष्यित गरिएको आयोजकले बताएको छ । युवा पुस्तालाई नारी सशक्तिकरणमा सचेत गराउन र त्यसको माध्यमबाट समग्र समाजलाई नै त्यस दिनसामा डोर्याउन आफूहरुको पहलले थोरबहुत भूमिका खेल्ने झाले बताइन् ।
यस प्रतियोगितामा सहभागि हुनका लागि आगामी शनिबार (मे ३)सम्म नाम दर्ता गरिसक्नु पर्ने छ । त्यसपछि वैशाख ३० देखि जेठ ३० सम्म उक्त प्रतिस्पर्धा चल्ने छ ।
यो प्रतियोगितामा भाग लिनेहरुले कम्फु, कराँते वा म्याराथनमा कुद्नु पर्ने छैन । केवल १ देखि ३ मिनेटका छोटा भिडियो सामग्रीहरु तयार पारेर आफ्नै सामाजिक सञ्जालहरुमा पोस्ट गर्नु पर्ने छ । शनिबारसम्म रजिस्टर भएका प्रतियोगीले भिडियो निर्माणमा काम गर्नु पर्ने छ ।
नारी सशक्तिकरणसँग सम्बन्धित जुनसुकै किसिमका भिडियो सामग्री तयार पार्न सकिने आयोजकले बताएको छ । तर उक्त भिडियो ‘क्रियटिभ’ र आफैँले खिचेको अर्थात् ‘ओरिजिलन’ हुनु पर्ने छ ।
यस्ता भिडियोहरु शर्ट फिल्म, डकुमेन्ट्री, रील वा अन्य कुनै पनि सिर्जनात्मक ढाँचामा तयार पार्नु पर्ने छ । यस्ता भिडियोहरु फेसबूक, इन्स्टाग्राम, टिकटकजस्ता भिडियो शेयरिङ सञ्जालहरुबाट प्रकाशित गर्नु पर्ने छ ।
तर यसरी प्रकाशित भिडियो सामग्रीहरु सर्वसाधारणले हेर्न सक्ने हुनुपर्ने, प्रतियोगीले स्किल स्पार्ककका अफिसियल सामाजिक सञ्जालहरुलाई फलो गरेको हुनुपर्न, यस्ता भिडियो सामग्री प्रकाशित गर्न स्किल स्पार्कलाई ‘ट्याग’ गरेको हुनुपर्ने र ती भिडियो सामग्री प्रकाशन गर्दा ‘स्किल स्पार्क च्याम्पियनशिप, २०२५’ लाई ह्यासट्यागमा उल्लेख गर्नुपर्ने शर्तहरु आयोजकले राखेको छ ।
उक्त प्रतियोगिताको ‘फिनाले’ आगामी ३० जेठमा एक भव्य समारोहका बीच हुने आयोजकले बताएको छ । त्यस प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँ र स्किल स्पार्कमा जुनसुकै प्रोफेशनल कोर्शका निम्ति ५० प्रतिशत छुटको पुरस्कार प्रदान गरिने झाले बताइन् ।
त्यस्तै दोस्रो स्थान हासिल गर्नेलाई नगद ३५ हजार रुपैयाँ पुरस्कार र ३५ प्रतिशत छुट तथा तेस्रो स्थान हासिल गर्नेलाई नगद २० हजार रुपैयाँ पुरस्कार र २० प्रतिशत नै छुटको व्यवस्था गरिएको छ ।
काठमाडौंको शङ्खमुलमा मुख्यालय रहेको यस संस्थाले आफ्नो वार्षिक कार्यक्रममा यस प्रकारको प्रतियोगिता आयोजना गर्न लागेको हो । यसले देशभरबाट ‘ट्यालेन्ट’हरुलाई छान्न र समाजलाई नारीप्रति ज्यादा संवेदनशील बनाउनमा सघाउ पुर्याउने झा बताउँछिन् ।
यस संस्थाले कम्प्युटर र इन्टरनेटसँग जोडिएका विभिन्न प्रोफेशनल कोर्शहरुको प्रशिक्षण दिनुका साथै व्यक्तित्व विकास, नेतृत्व विकास, नारी सशक्तिकरणजस्ता क्षेत्रमा पनि काम गर्दै आएको छ ।