पशुपन्छीका लागि दाना उत्पादन गर्दै आएको ग्लोबल एग्रोको व्यापार पौने तीन अर्ब « Arthapath.com
२२ असार २०८२, आईतबार

पशुपन्छीका लागि दाना उत्पादन गर्दै आएको ग्लोबल एग्रोको व्यापार पौने तीन अर्ब



काठमाडौं । नेपालमा पशुपन्छीका लागि दाना उत्पादन गर्दै आएको ग्लोबल एग्रो प्रोडक्टले पौने तीन अर्बको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२५ को पहिलो ९ महिनामा करिब २ अर्ब ८६ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो ।
हाल कम्पनीले ग्लोबल, अमृत र उन्नत ब्राण्ड अन्तर्गतको दाना बजारमा ल्याउँदै आएको छ ।

गत आर्थिक वर्ष २०२४ भरिमा कम्पनीको व्यापार ३ अर्ब ४० करोड ४० लाख रुपैयाँ पुगेको थियो । २०२३ मा २ अर्ब ८२ करोड ३० लाख, २०२२ मा २ अर्ब ४४ करोड र २०२१ मा २ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

सन् २०२५ को ९ महिनामा कम्पनीको कारोबारमा अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत वृद्धि भएको छ । सन् २०२४ मा यो वृद्धि दर २१ प्रतिशत रहेको थियो ।

नाफाको हिसाबले हेर्दा कम्पनीले २०२३ मा १२ प्रतिशत मुनाफा कमाएको थियो भने २०२४ मा यो दर बढेर ४८ प्रतिशत पुगेको थियो ।

वि.सं. २०६९ (सन् २०१२) मा स्थापना भएको कम्पनीले देशभर पशुपन्छी तथा माछाका लागि उच्च गुणस्तरीय दाना उत्पादन र वितरण गर्दै आएको छ । कम्पनीसँग हाल पेलेट दानाको प्रतिघण्टा १८ मेट्रिक टन र माछाको दानाको प्रतिघण्टा ५ मेट्रिक टन उत्पादन गर्ने क्षमता रहेको छ ।

कम्पनीमा मुख्य ९ व्यक्तिको संयुक्त रूपमा ६५ प्रतिशत स्वामित्व छ । दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कम्पनीले कुल १ अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ, जसअन्तर्गत दीर्घकालीन कर्जाका लागि १७ करोड र अल्पकालीन कर्जाका लागि १ अर्ब १३ करोड ६० लाख रुपैयाँको व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्