ब्रिटिश प्रोफेसनल कलेज र एसीसीएद्वारा पोखरामा बृहत् लेखा शिक्षक कार्यशाला आयोजना « Arthapath.com
२९ जेष्ठ २०८३, शुक्रबार

ब्रिटिश प्रोफेसनल कलेज र एसीसीएद्वारा पोखरामा बृहत् लेखा शिक्षक कार्यशाला आयोजना



काठमाडौं। ब्रिटिश एजुकेसन ग्रुप अन्तर्गतको प्लेटिनम मान्यता प्राप्त एसीसीए प्रदायक संस्था ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) ले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) सँगको सहकार्यमा पोखरामा बृहत् लेखा शिक्षक कार्यशाला सम्पन्न गरेको छ ।

जेठ २३ गते पोखरा इभेन्ट सेन्टरमा ‘आईएफआरएस र एनएफआरएस’ सम्बन्धी व्यावसायिक विकास कार्यशाला आयोजना गरिएको हो ।

गण्डकी प्रदेशका १५० भन्दा बढी विद्यालय तथा कलेजका २०० भन्दा बढी लेखा तथा वित्त विषयका शिक्षक एवं प्राध्यापकहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रम यस क्षेत्रकै सबैभन्दा ठूलो शैक्षिक जमघटमध्ये एक बनेको आयोजकले जनाएको छ । कार्यक्रमको उद्देश्य अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड (आईएफआरएस) र नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (एनएफआरएस) सम्बन्धी शिक्षकहरूको बुझाइलाई अझ सुदृढ बनाउनु तथा लेखा शिक्षामा उत्कृष्टता प्रवर्द्धन गर्नु रहेको थियो ।

कार्यशालाको प्राविधिक सत्र एफसीसीए बिक्रान्त आचार्यले सञ्चालन गरेका थिए । उनले वर्तमान लेखा अभ्यास, वित्तीय प्रतिवेदन मापदण्ड तथा यस क्षेत्रमा विकसित नवीनतम प्रवृत्तिबारे व्यावहारिक ज्ञान र अन्तर्दृष्टि साझा गरेका थिए ।

कार्यक्रममा बोल्दै ब्रिटिश एजुकेसन ग्रुपका प्रोफेसनल एजुकेसन प्रमुख दिपेन्द्र के. श्रेष्ठले शिक्षकहरूको उत्साहजनक सहभागिताले नेपालमा लेखा शिक्षाको गुणस्तर सुधारप्रतिको प्रतिबद्धता झल्काएको बताए । एसीसीएसँगको सहकार्यमा यस्ता अर्थपूर्ण कार्यक्रम आयोजना गर्न पाउँदा गर्व लागेको उनको भनाइ थियो ।

यसैगरी ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत द ब्रिटिश कलेज तथा द कँडेल ग्रुप नेपालका कन्ट्री डाइरेक्टर अरुण कुमार कँडेलले शिक्षा क्षेत्रमा निरन्तर व्यावसायिक विकासको महत्त्वमाथि प्रकाश पारे । विश्वव्यापी रूपमा लेखा तथा वित्त क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेका बेला शिक्षकहरू अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतिवेदन मापदण्डसँग अद्यावधिक भइरहन आवश्यक रहेको उनले बताए । यस्ता कार्यशालाले विश्व बजारको मागअनुसार दक्ष जनशक्ति तयार गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

कार्यक्रमले गण्डकी प्रदेशभरिका शिक्षकहरूबीच ज्ञान आदानप्रदान तथा सहकार्यका लागि प्रभावकारी नेटवर्किङ प्लेटफर्मको समेत काम गरेको आयोजकले जनाएको छ ।

काठमाडौँ र पोखरा दुवै स्थानमा एसीसीएको अध्यापन गराउँदै आएको ब्रिटिश प्रोफेसनल कलेजले व्यावसायिक शिक्षाको विकास तथा शिक्षकहरूको क्षमता अभिवृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कलेजले हाल दुवै केन्द्रमा एसीसीएको नयाँ भर्ना खुला रहेको जानकारी समेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस्