मलेसियाले बढायो न्यूनतम पारिश्रमिक, कति पुग्यो नयाँ ‘स्केल’ ?
काठमाडौं । मलेसियाले सबै क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गरेर मासिक १७०० रिङ्गिट (करिब ५३ हजार नेपाली रूपैयाँ) पुर्याउने निर्णय गरेको छ । अक्टोबर १८ अर्थात् गत शुक्रबार घोषणा गरिएको नयाँ पारिश्रमिक आगामी फेब्रुअरी १ (माघ) देखि लागू हुनेछ। यसअघि त्यहाँ न्यूनतम मासिक पारिश्रमिक १५०० रिङ्गिट थियो ।
नेपाली युवाका लागि वर्षौंदेखि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रुपमा रहेको मलेसियाले यसरी न्यूनतम पारिश्रमिक बृद्धि गरेपछि त्यहाँ रहेका निम्नवर्गीय नेपालीले पनि लाभ पाउने भएका छन् ।
मलेसियाले नयाँ बजेटमार्फत् यसरी पारिश्रमिक बृद्धि गर्ने घोषणा गरेको हो । सन् २०२५ को बजेट प्रस्तुत गर्दै त्यहाँका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले न्यूनतम पारिश्रमिक बढाउन सरकार सहमत भएको घोषणा गरेका छन् । अर्थमन्त्री समेत रहेका अनवरले ५ जनाभन्दा कम कर्मचारी भएका रोजगारदाताका लागि नयाँ पारिश्रमिकको प्रावधान लागू गर्न ६ महिना ढिला हुने बताएका छन् ।
मलेसियामा करिब ४ लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९÷८० मा करिब २ लाख २० हजार नेपाली युवा नयाँ श्रम स्वीकृति लिएर मलेसिया गएका थिए । आर्थिक वर्ष २०८०÷८१ देखि औपचारिक क्षेत्रमा विदेशी कामदार भर्ना पूर्णरुपमा बन्द गर्ने निर्णय गरेपछि यो संख्या घटेर ८१ हजार ३८२ मा झरेको छ ।
सन् २०२३ को मार्चमा भएको निर्णयले विदेशी कामदारलाई सन् २०२४ को मे महिनाको अन्त्यसम्म मलेसिया प्रवेश गर्न अनुमति दिएको थियो । यसरी मलेसिया प्रवेश गर्न चाहने कामदारले गएको अप्रिल २१ भित्रै भिसा आवेदन दिइसक्नु पर्ने व्यवस्था गरिएको थियो । त्यहाँको सरकारले सन् २०२५ सम्ममा विदेशी कामदारको कोटा कुल श्रमशक्तिको १५ प्रतिशतभन्दा तल झार्ने लक्ष्य राखेको छ ।
सन् २०१८ मा नेपाल र मलेसियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यस अनुसार रोजगारदाताले भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने र शून्य लागत भर्ती नीति अपनाइएको थियो । भलै यो व्यवस्था केवल कागजमा मात्रै सिमित रह्यो।
त्यतिबेला मलेसियाको ७० प्रतिशतभन्दा बढी आप्रवासी श्रम शक्ति इन्डोनेसिया, बंगलादेश र नेपालका कामदाररहेको अनुमान गरिएको थियो । मलेसियामा भारतीय, भियतनामी, पाकिस्तानी र थाई कामदारहरूको पनि उल्लेखनीय संख्या छ।
मलेसियाको अध्यागमन विभागका अनुसार यो वर्षको फेब्रुअरीसम्म मलेसियामा करिब २१ लाख विदेशी कामदार कार्यरत छन् ।