खोला एकातिर पुल अर्कैतिर « Arthapath.com
२ आश्विन २०७६, बिहीबार

खोला एकातिर पुल अर्कैतिर



विदुर / पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोट जिल्लाको ढुङ्गे–बेत्रावती जोड्ने विदुर नगरपालिका वडा– १ र १० जोड्ने गेर्खु खोलामा निर्माण भएको पुल एकातिर खोला अर्कोतिर भएको छ ।
देशकै महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाअन्तर्गत गेर्खु खोलामा निर्माण गर्नुपर्ने पक्की पुल प्राविधिक र ठेकेदार कम्पनीको लापरबाहीले खोला एकातिर वर्षौंदेखि बगिरहेको छ भने पुल अर्कैतर्फ निर्माण भयो । पुल हुँदाहुँदै पनि खोलामा बाढी आउँदा दुई दिनसम्म सडक अवरोध भयो । पुल निर्माणमा चरम लापरबाही भएपछि यसको अहिले चौतर्फी विरोध भइरहेको छ ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका ठेकेदार बहादुरसिंह लामाको निर्माण कम्पनी कालिका–रसुवा–तुण्दी–हिमडुङ एन्ड थोकर निर्माण जेभीले खोला बग्ने बहाव र धारभन्दा विपरीत दिशामा पक्की पुल निर्माण गरेपछि उक्त सडक उपभोग गर्नेबीच हल्लाखल्ला मच्चिएको छ ।
सडक मार्गमा पर्ने गेर्खुखोला पूर्वबाट पश्चिम बगिरहेको छ भने यसै खोलामा बनेको पुल भने उत्तरबाट सीधा दक्षिणतिर फर्काइएको मात्र नभएर अझ यो खोला बग्ने बाटोभन्दा अन्यत्रै बनेको छ । ०७२ को विनाशकारी भूकम्पसँगै बन्द भएको तातोपानी नाकाको विकल्पमा चीन जोड्ने एक मात्र भरपर्दो सडकमार्गको रूपमा सरकारले पहिलो प्राथमिकतामा राखेर यस त्रिदेशीय सडक योजनालाई अघि सारेको थियो । दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्यका साथ डेढ करोडको लगानीमा निर्माण थालिएको आयोजनाले चार वर्ष लगाएर बनाएको पुलको यो दुर्दशाले नेपालमा निर्माण भइरहेको योजनाको अवस्थालाई झल्काउँछ । १० मिटर लम्बा र, १० मिटर गहिराइको यो पुल खोलालाई घुमाएर पुलमुनि छिराउन खोजिएको छ । नदीलाई घुमाएर पुल भएको ठाउँमा पु¥याउँदा स्थानीय कृष्ण थपलिया र उद्धव थपलियाको जग्गा अधिग्रहण गर्नुपर्छ । उनीहरूलगायत स्थानीयले पुल उपयुक्त नभएको कारण भविष्यमा यसले नकारात्मक असर पु¥याउने भन्दै सम्बन्धित आयोजना, जिल्ला प्रशासन कार्यालय नुवाकोट, निर्माण कम्पनी र विदुर नगरपालिकामा समेत सच्याउन पटकपटक माग गर्दै आइरहेका छन् । खोलाअनुसारको पुल नबनेका कारण यसको डिजाइन नै परिवर्तन गरी पुनः अर्को थप्ने वा बनाउनुपर्ने स्थानीय समाजसेवी उद्धव थपलिया बताउँछन् । देश बनाउने नीति निर्माण तहमा रहेका सांसदले देशकै गौरवका रूपमा लिइएको आयोजनामा निर्माण गरेको पुल त यस्तो छ भने उनीहरूले बनाउने देश कस्तो होला ? विदुर नगरपालिका– १ का अध्यक्ष लेनिन रञ्जितले प्रश्न गरे । सांसद लामाले भने आफूहरूले सडक विभागले भनेबमोजिम नै पुल निर्माण गरेको दाबी गरेका छन् । आफूहरूले इन्जिनियरिङ डिजाइन र फिल्ड सर्भेकै आधारमा सम्झौता भएबमोजिम पुल बनाएका सांसद लामाले दाबी गरेका छन् । दुई वर्षअघि नै निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी सडक विभागसँग सम्झौता गरेको यस कम्पनीले गेर्खु खोलाको पुलसहित यस सडक मार्गमा धादिङको गल्छीदेखि रसुवागढीसम्म करिब ५९ करोडमा ११ वटा पुल बनाउने जिम्मा पाएको छ । तर, पटक–पटक म्याद थप हुँदै समय गुजार्दै पुल निर्माणमा ढिलाइ गर्दा सडक स्तरोन्नतिको कामसमेत प्रभावित भइरहेको छ ।
सडक आयोजनासँगै सबैभन्दा बढी ठेकेदारले लापरबाही गरेकाले सरकारकै बेइज्जत गरिएका कारण पुल निर्माण गर्ने ठेकेदारलाई कारबाही गर्न विदुर नगरपालिकाले समेत माग गरेको छ । बदमासी गर्ने ठेकेदार र कम्पनीलाई कालोसूचीमा राख्ने सरकारको प्रबन्ध रहेकाले निर्माणमा अनियमितता गर्नेलाई कारबाही हुनुपर्ने विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउएका छन् ।
तर, खोला एकातिर पुल अर्कोतिर नभई इन्जिनियरको सर्भेअनुसार नै निर्माण भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले दाबी गरे । हामीले यो उपयुक्त भएन भन्ने गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीसहित स्थानीय जनप्रतिनिधिसँग बैठक बसेर पुल निर्माणको अवस्थाबारे विभागलाई जानकारी जानकारी गराएको उनले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।


प्रतिक्रिया दिनुहोस्