प्रचण्डका घरबेटी पासाङल्हामु राजमार्गको ठेकेदार भागेपछि … « Arthapath.com
१५ आश्विन २०७६, बुधबार

प्रचण्डका घरबेटी पासाङल्हामु राजमार्गको ठेकेदार भागेपछि …



नुवाकोटको मात्र नभई रसुवा र धादिङको पूर्व–उत्तर क्षेत्रको सबैभन्दा पुरानो सडक पासाङल्हामु राजमार्गको काठमाडौं–बालाजु–ककनी–रानीपौवा–पीपलटारखण्डको नेपाली ठेकेदार भागेपछि भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको छ । नेपाली ठेकेदार भागेपछि सो सडक पुनर्निर्माणमा भारतीय ठेकेदार नै आउने पक्का भएको छ । केही समयपछि नै उक्त सडकको भारतीय ठेकेदारले काम सुरु गर्ने भएको छ । ०७२ साल वैशाख १२ गतेको भूकम्पपछि प्रायः बन्द रहेको उक्त सडकखण्डको काम भारतीय ठेकेदारले आउँदो असार मसान्तसम्म झन्डै ८० प्रतिशत कालोपत्रे गर्ने जनाएको छ ।
नेपाली ठेकेदार भागेपछि भारतीय ठेकेदारले पनि सो सडक आफ्नै नेतृत्वमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता नेपाल सरकारसँग गरेको छ । भारतीय कम्पनीले काम नगर्दा उनीहरू नेपाल सरकारको कालोसूचीमा पर्ने पक्का थियो । नेपाल सरकारले कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेपछि भारतीय ठेकेदार बाध्य भएर नेपाल आएर आफैँले काम सक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
भारतीय ठेकेदारले रानीपौवा–पीपलटारखण्डको भागमा एक वर्ष म्याद थप गर्नुपर्ने प्रस्ताव गरेको छ । सो खण्डमा जङ्गलको काम गर्न बाँकी रहेको कारण म्याद थप्ने र अन्य ठाउँमा असार मसान्तसम्ममा कालोपत्रे पूरा गर्ने प्रतिबद्धता भारतीय ठेकेदार कम्पनीले गरेको स्रोतले जनाएको छ ।
सो राजमार्गमा भारतीय एक्जिम बैंकको ऋण सहयोग रहेको छ । सोही कारण उक्त राजमार्गको दुवै खण्डको मूल ठेकेदार भारतीय कम्पनी रहेको छ । यसअघि पनि भारतीय ठेकेदार मूल भए पनि साझेदारमा संलग्न नेपाली ठेकेदारले नै काम गर्दै आएका थिए । काम गरेको भने पनि नेपाली ठेकेदारले सडक नै अलपत्र पारेपछि स्थानीय बासिन्दा मात्र होइन तीनवटै जिल्लाका बासिन्दा आक्रोशित भएका थिए ।
स्थानीय सरकारले आलोचना गर्न थालेपछि सरकार पनि ठेकेदारलाई काम लगाउन तातेको थियो ।
बालाजु–रानीपौवा खण्डको नेपाली ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले समयमा काम नगरेर नेपाल सरकारलाई हर्जाना तिरिरहेको छ । उसलाई अहिलेसम्म तीन करोडभन्दा बढी हर्जाना लागिसकेको छ । केही पैसा तिरे पनि केही पैसा सडक आयोजनाले बैंकबाट तानेको छ । उक्त कन्स्ट्रक्सन नुवाकोटकै सूर्यगढी गाउँपालिका चोकतेका शारदाप्रसाद अधिकारीको हो । ठेकेदार अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अहिलेका घरबेटी हुन् । अधिकारीको कम्पनीबाट काम नहुने भएपछि भारतीय ठेकेदार कम्पनी अर्भाली कन्स्ट्रक्सन प्रा.लि. आफैँले काम गर्ने प्रतिबद्धता जनाएको हो । सो ठेक्का हेर्नका लागि केही समय अगाडि अर्भालीले लभ मल्लोत्रा भन्ने व्यक्तिलाई नेपाल पठाएर अध्ययन गरेको थियो ।
बालाजुदेखि रानीपौवासम्मका पहिलो खण्ड २१ किलोमटिर लामो भए पनि राष्ट्रिय निकुञ्जभित्र पर्ने बालाजुदेखि चार किलोमिटर र बीचमा आठ सय मिटर गरी ४८ सय मिटरमा भने तत्काल विस्तारको काम नहुने भएको छ । बाँकी १६ किलोमिटर दुई सय मिटर उक्त सडकको काम तत्काल सुरु हुने प्रतिबद्धता मूल ठेकेदार कम्पनीले जनाएकाले काम नरोकिने आयोजनाले जनाएको छ । यस्तै, रानीपौवादेखि पीपलटारसम्मको ३५ किलोमिटर सडकमा काम गरिरहेको नेपाली ठेकेदार कोसी एन्ड न्यौपाने र नार्गाजुनले भारतीय कम्पनीसमक्ष आत्मसर्मपण गर्दै काम गर्न नसक्ने, तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सो खण्डको मुख्य ठेकेदार भारतको दिनेशचन्द्र कम्पनी हो । नेपाल सरकारले दिनेशचन्द्र कम्पनीसँगको छलफलमा कोसी एन्ड न्यौपाने ठेकेदार कम्पनीका मुख्य व्यक्ति तुलबहादुर लामा आफैँले आफ्नो क्षमता र सामथ्र्यले काम गर्न नसक्ने भन्दै मुख्य ठेकेदार दिनेशचन्द्रलाई काममा पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । रानीपौवा–पीपलटारखण्डको काम भारतीय कम्पनी दिनेशचन्द्रले तिहारलगत्तै सुरु गर्ने प्रतिबद्धता सरकारसँग जनाएको छ ।
विक्रम सम्वत् २०१८ सालमा काठमाडौंको बालाजुदेखि नुवाकोटको त्रिशूलीसम्म उक्त सडकको ट्र्याक खुलेको थियो । २१ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना निर्माणका लागि उक्त सडक निर्माण गरिए पनि ०७१ सालमा आएर दुई खण्ड गरी भिन्नाभिन्नै प्याकेजको ठेक्का लगाएर सडक विस्तार गर्न लागिएको थियो । ठेक्का सम्झौतापछि भूकम्प गयो र पछि सडक तहसनहसको अवस्थामा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्