बन्ने भयो ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना, नेपाली २ सहित ५ बैंकको लगानी हुने

काठमाडौं । नेपालका २ वटा बैंकले ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनामामा लगानि गर्ने भएका छन् । भारतका ५ वटा बैंक र नेपालका २ वटा बैंकले लगानि गर्ने भएका हुन् । दुवै बैंकले करिव १५ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेका हुन ।
एसजेभीएन लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा नविल बैंकले ५ अर्ब १२ करोड र एभरेष्ट बैंकले १० अर्ब २० करोड रुपैयाँ ऋण लगानी गरेका हुन । लगानी बोर्डले हिजो (२२ माघ) वित्तीय व्यवस्थापनको स्वीकृति दिएलगत्तै कम्पनीले ऋण लगानी सम्बन्धि सम्झौता गरेको हो ।
सो आयोजनाको लागि भारतको एसबीआई बैंक, कानरा बैंक, पञ्जाब नेशनल बैंक, एक्जिम बैंक अफ इण्डिया र युनियन बैंकले गरी ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता यसअघि नै भइसकेको छ ।
आयोजना निर्माणको काम हालसम्म ३० प्रतिशत सकिएको कम्पनीका अध्यक्ष एनएल शर्माले जानकारी दिए । आयोजना सन् २०२४ सम्ममा सम्पन्न भएर विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । लक्ष्यभन्दा अगाडि नै काम सक्ने अध्यक्ष शर्माले दाबी गरे ।
आयोजना निर्माता कम्पनी एसजेभीएन भारतमा जलविद्युत उत्पादनमा ३० बर्षभन्दा बढी अनुभव हासिल गरेको कम्पनी हो । तर, सो कम्पनीले नेपालमा भने अहिलेसम्म कुनै आयोजना बनाएको छैन ।
पूर्वी नेपालमा पर्ने अरुण नदीबाट नदी प्रवाहमा आधारित विद्युत उत्पादन गर्न लागिएको हो । आयोजनाले ७० मिटर अग्लो बाँध बनाएर करिब १२ किलोमिटरको हेडरेस टनेलबाट पानी झार्नेछ । यसरी पानी झार्दा ९ सय मेगावाट विद्युत उत्पादन हुने कम्पनीको भनाइ छ ।
आयोजनाले नेपाललाई करिब २२ प्रतिशत विजुली निःशुल्क दिनेछ भने विद्युत उत्पादन सुरु भएको २५ वर्षपछि सो आयोजना नेपाल सरकारको हुनेछ । यस्तै, आयोजना अवधिमै नेपालले रोयल्टीलगायतका शिर्षकबाट ३ खर्ब ३८ अर्ब ६६ करोड रुपैयाँभन्दा धेरै प्राप्त गर्ने आयोजनाको दाबी छ ।
नेपाल सरकारले ग्लोबल टेण्डरबाट सो आयोजना एसजेभीएनलाई दिएको थियो । सन् २०१४ मा लगानी बोर्डसँग आयोजना विकास सम्बन्धी सम्झौता भएको थियो । आयोजनाको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले गत वर्ष शिलान्यास गरेका थिए ।
सो आयोजनाको लागि भारतीय बैंकले वार्षिक ८.२ प्रतिशत र नेपाली बैंकले ८.८ प्रतिशत व्याजमा ऋण दिनेछन् ।