बैतडी र डोटी विमानस्थलको कालोपत्रे काम सम्पन्न « Arthapath.com
२९ माघ २०७६, बुधबार

बैतडी र डोटी विमानस्थलको कालोपत्रे काम सम्पन्न



काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ । विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाललगायतको काम सञ्चालन भइरहेको छ । गएको वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा निर्माणकार्य शुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रको काम बल्ल अहिले आएर सकिएको हो ।

विमानस्थलको कालोपत्रको काम सकिएर बाँकी अन्य धावनमार्गको पर्खाल, तारजाली लगाउने काम शुरु भएको विमानस्थल कालोपत्रको जिम्मा पाएका सप्नाग्याल्भा तथा जेभी कन्स्ट्रक्सनका साइट प्रमुख राजेन्द्र विष्टले बताए ।
विमानस्थलमा धावन मार्ग रेखाङ्कनलगायतका काम शुरु भएको उनले जानकारी दिए । दिपायल विमानस्थलको कालोपत्र गर्ने काम समयमै नसकिएको भन्दै स्थानीयस्तरबाट गुनासो बढेपछि ठेकेदार कम्पनीले बल्ल आएर कालोपत्रको काम सकेको दिपायलका स्थानीय तेजबहादुर डुम्रेलले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीबाट निर्वाचत सांसद प्रेमबहादुर आलेमगरको पहलमा नेपाल सरकारले दिपायल विमानस्थल कालोपत्रका लागि बजेट विनियोजन गरेको थियो । करिब रु साढे पाँच करोडको लागनीमा दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नतिको काम पाएको कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरिक उड्डयन प्राधिकरणले समयमै म्याद नथप्दा विमानस्थल निर्माणकार्य ढिला हुँदै आएको स्थानीयवासीको आरोप छ ।

विगतमा लक्ष्यअनुसार कालोपत्रको काम शुरु नहुँदा विमानस्थलको काम अलपत्र परेको थियो । अहिले बल्ल आएर कालोपत्रको काम सकिएपछि यहाँका स्थानीयवासी विमानस्थल सञ्चालन हुनेमा निकै खुशी भएको दिपायल पिपल्लाका स्थानीयवासी तथा पूर्व डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए ।

दिपायलसँगै कालोपत्र निर्माण शुरु गरिएको अछाम जिल्लाको साँफेबगर विमानस्थलको काम सम्पन्न भएर गएको वर्षको जेठ महिनामै परीक्षण उडानसमेत भइसकेको छ ।

उता बैतडीको पाटन विमानस्थलको कालोपत्रको काम पनि सम्पन्न भइसकेको छ । सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो दिपायल तथा बैतडीको पाटन विमानस्थल कालोपत्रको काम सकिएपछि जहाज चल्ने आशामा त्यहाँका स्थानीयवासी खुशी भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बैतडीमा झण्डै रु ११ करोडको लागतमा विमानस्थल कालोपत्रको काम शुरु गरिएको थियो ।

डोटीको दिपायल र बैतडीको पाटनसहितका दुई विमानस्थल निर्माण सम्पन्न गरे यहाँका धार्मिक तथा पर्यटन क्षेत्रमा पर्यटक भित्र्याउन सकिने र यहाँको आयस्रोत बढ्ने उच्च सम्भावना रहेको दिपायल पिपल्लाका होटल व्यवसायी नन्दनसिंह कार्कीले बताएका छन् ।
दिपायल विमानस्थलमा नियमित जहाज चलाउन सके यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड, बडिमालिका, शैलेश्वरी, उग्रतारा, घटालथानलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिने सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी कृष्ण महराले बताए । रासस


प्रतिक्रिया दिनुहोस्