नागढुङ्गा–कलङ्की सडकखण्डमा पनि आकाशे पुल निर्माणका लागि १ करोड विनियोजन « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

नागढुङ्गा–कलङ्की सडकखण्डमा पनि आकाशे पुल निर्माणका लागि १ करोड विनियोजन



काठमाडौं । चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख घनश्याम गिरीले राजधानी भित्रिने प्रमुख नाकामा रहेको चन्द्रागिरीमा बटुवालाई बाटो काट्न सहजताका लागि आकाशे पुल निर्माण गर्न लागिएको जानकारी दिए ।

यसैगरी नगरपालिकाले काठमाडौँ भित्रिने प्रमुख स्थान नागढुङ्गामा प्रवेशद्वारसमेत निर्माण गर्ने भएको छ । उक्त प्रवेशद्वार निर्माणका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको नगरप्रमुख गिरीले बताए । नगरपालिकाले चन्द्रागिरीका जनताको सुरक्षालाई ध्यानमा राखेर नागढुङ्गा–कलङ्की सडकखण्डमा सिसीटिभीसमेत जडान गर्न लागेको छ । सिसीटिभी जडानसँगै उक्त सडकमा घट्ने आपराधिक घटना सजिलै पत्ता लगाउन सहज पुग्ने छ ।

नगरपालिकाले सिसीटिभी जडानका लागि चालू आर्थिक वर्षमा रु एक करोड विनियोजन गरेर बोलपत्र आह्वानको कामसमेत अगाडि बढाइसकेको छ । उक्त नगरपालिकाले चन्द्रागिरीभित्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर वडा नं ८ मा १५ श्ययाको नगरस्तरीय अस्पताल समेत सञ्चालनमा ल्याइसकेको छ । भर्खरै सञ्चालनमा आएको अस्पतालमा वर्थिङ सेन्टरसमेत स्थापना गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्