प्रदेश र संघलाई जोड्ने सडक धमाधम स्तरोन्नती हुँदै « Arthapath.com
२८ फाल्गुन २०७६, बुधबार

प्रदेश र संघलाई जोड्ने सडक धमाधम स्तरोन्नती हुँदै



हेटौंडा । बागमती प्रदेश सरकारले मदन भण्डारी मार्ग (हेटौंडा–काठमाण्डौ छोटो सडक) अन्तर्गतको हेटौंडा भीमफेदी कुलेखानी सडक फराकिलो पार्न सुरु गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय सरकारको राजधानी काठमाण्डौ जोड्ने सडकको स्तरोन्नती सहित चौडा पार्न लागिएको हो ।

भीमफेदी देखी कुलेखानीसम्म १५ किलोमिटर सडकलाई २ वटा प्याकेज बनाई मर्मतको काम थालिएको हो । सो खण्ड निर्माणका लागि १७ करोड २४ लाख १९ हजार ५ सय २१ रुपैयाँमा सो निर्माण कम्पनीले ठेक्का पाएको छ । यसैगरी देउरालीबाट कुलेखानी सम्मको ६ किलोमिटर सडक खण्ड निर्माणका लागि १५ करोड ७० लाख ६६ हजार ६ सय ३८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यी दुबै खण्ड निर्माणका लागि गत माघ १० गते ठेक्का काम सम्झौता गरेर निर्माण सुरु गरीएको हो । सडक स्तरोन्नतीको काम एक बर्षभीत्र सम्पन्न गर्नै गरी सम्झौता गरिएको भौतिक पूर्वाधार बिकास मन्त्रालयले जानकारी दिएको छ । दुबै खण्ड निर्माणका लागि अलग अलग निर्माण कम्पनीहरुले ठेक्का पाएका छन् ।

यो सडकको मोड सुधार गर्नुका साथै सडकलाई ६ मिटर चौडा र कालोपत्रै समेत हुने भौतिक पूर्वाधार बिकास मन्त्रालयका ईन्जिनियर नबिन सिंहले जानकारी दिनुभयो । यो सडकको स्तरोन्नतीपछि प्रदेशका १२ जिल्लाहरुलाई राजधानी हेटौंडा आउन थप सहज हुने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो । हेटौंडाबाट काठमाण्डौ जान पृथ्बी राजमार्ग, त्रिभुबन राजपथ, कान्ति लोकपथ, हेटौंडा–कुलेखानी–सिस्नेरी–काठमाण्डौ सडक, हेटौंडा–कुलेखानी–फाखेल–काठमाण्डौ सडक, हेटौंडा–कुलेखानी–महालक्ष्मीखोला–काठमाण्डौं सडक, हेटौंडा–भीमफेदी–ईपा–काठमाण्डौं सडक लगायतका रहेका छन् ।

पृथ्बी राजमार्ग स्तरिय भएपनि दुरीका हिसाबले टाढा रहेका कारण पनि यो सडक स्तरोन्नतीपछि यसले थप दुरी छोट्याउने मुख्यमन्त्री पौडेलले बताउनुभयो । एकतर्फी सडकका रुपमा सञ्चालनमा रहेको यो सडक सुधारपछि धेरैको रोजाईमा यो सडक पर्ने भौतिक पूर्वाधार बिकास मन्त्री रामेश्वर फूयाँलले बताउनुभयो । उक्त काम सकिएपछि दुई घण्टामै काठमाडौँ–हेटौँडा आउजाउ गर्न सकिने मन्त्री फूयाँलको भनाई छ । यसलाई प्राथमिकतामा राखेर निर्माण सुरु गरिएपनि अन्य सडकहरुको पनि आगामी बर्षहरुमा स्तरोन्नती हुने मन्त्री फूयाँलले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्