कोरोना भाईरसः रसुवा र नुवाकोटमा पनि आइसोलेसन वार्ड बन्यो « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

कोरोना भाईरसः रसुवा र नुवाकोटमा पनि आइसोलेसन वार्ड बन्यो



काठमाडौं । चिनसंग सिमा जोडिएको रसुवा जिल्ला र नुवाकोटमा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै रसुवाको धुन्चे र नुवाकोटको जिल्ला अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरिएको छ ।

रसुवाको धुन्चेमा चार बेडको वार्ड र नुवाकोटको जिल्ला अस्पताल त्रिशूलीमा अस्पताल भवनभित्रै दुई कोठामा चार बेडको वार्ड सञ्चालन गरिएको हो ।

जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले पहिले एक वटा आइसोलेशन सञ्चालन रहेको र शङ्कास्पद बिरामीलाई विशेष निगरानी गरि उपचार गर्न तथा परामर्शका लागि चार बेडको व्यवस्था गरिएको बताए ।

रसुवागढी नाकामा माघ १० गतेदेखि हेल्थडेक्स सञ्चालन भईरहेको छ । डेस्कमा दुईजना एमबीबीएस डाक्टरसहित चारजना स्वास्थ्यकर्मी खटिएका छन् । स्क्रिनिङका लागि व्यक्तिगत सुरक्षा सामग्री, मास्क, डिजिटल थर्मोमिटरलगायतका सामग्री रहेका छन् । रसुवागढी नाकामा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।


प्रतिक्रिया दिनुहोस्