अन्तराष्ट्रिय विमानस्थल मार्च ३१ मा निर्माण सकिने अन्तिम म्याद भएपनि लकडाउनले प्रभावित « Arthapath.com
२३ चैत्र २०७६, आईतवार

अन्तराष्ट्रिय विमानस्थल मार्च ३१ मा निर्माण सकिने अन्तिम म्याद भएपनि लकडाउनले प्रभावित



भैरहवा । कोरोना भाइरस कोभिड–१९ का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ ।

चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन २०२० मार्च ३१ सम्म निर्माण कार्य सकिने अन्तिम म्याद भएपनि कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमण रोकथामका लागि लकडाउनका जारीका कारण काम प्रभावित भएको हो ।

विमास्थलको निर्माणमा धावन मार्ग, अन्तराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न गरिसकेको भएपनि लकडाउनका कारण थप काम गर्न समस्या रहेको निर्माण कम्पनीले जनाएको छ ।

निर्माण कार्यमा स्थानीय मदजुरहरु लकडाउनका कारण घर फर्किसकेको, नदीजन्य पदार्थ निकासी गर्न नपाएको र विमानस्थलमा जडान गर्न खरिद गरेका उपकरणहरु ल्याउन नपाएपछि निर्माण कार्य प्रभावित बनेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो ।

चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डर मार्फत विमानस्थल निर्माण कार्यको जिम्मा लिएको हो, जसको सन २०१७ डिसेम्बर सम्ममा निर्माण कार्य सम्पन्न गुर्नपर्ने सम्झौता रहेको थियो । तर निर्माण कम्पनीले मधेस आन्दोलन, भारतीय नाकाबन्दी र आन्तरिक कारण देखाउँदै चार पटक निर्माण सम्पन्न गर्ने म्याद थपिसकेको छ । यो चारपटक थपेको म्यादमा पनि विमानस्थल निर्माण कार्य सक्न गाह्रो भएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।

एसियाली बिकास बैंक को क्रण सहयोगमा निर्माण भइरहेकको यो विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्दा ठूलो विमानस्थल हो । यस विमानस्थलको कुल ७ सय ८७ विघाहा क्षेत्रफलमा निर्माण कार्य भइरहेको छ । विसं२०२३ देखि आन्तरिक उडान गर्दै आएको सो विमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि प्रदेश नं। ५ को आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

विदेशबाट फर्केका अधिकांश होम क्वारेन्टाइनमा

प्यूठानमा विदेशबाट फर्किएका चार हजार बढी भएपनि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून छ । यसरी फर्किएकामध्ये अधिकांश नागरिक घरपरिवारसँगै बसेका छन् ।

जिल्लाका नौ वटा स्थानीय तहमा चैत महिनाको सुरुदेखि हालसम्म चार हजार सात सय चार जना व्यक्ति भारत लगाएत अन्य देशबाट जिल्लामा भित्रिएका छन् । भारत लगायतका अन्य खाडी मुलुकबाट नागरिक भित्रिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्किले बताउनुभयो ।

विदेशबाट फर्किएका व्यक्तिलाई सकेसम्म दुई हप्ता क्वारेन्टाइनमा राख्ने योजनाले बेड तयार गरिएको छ र तर उनीहरु क्वारेन्टाइनमा नबसेपछि होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । विदेशबाट फर्किएकालाई राख् नौ वटा स्थानीय तहमा ७७ क्वारेन्टाइनमा ३ सय ४४ बेडको क्वारेन्टाइन केन्द्र निर्माण गरिएको छ ।

१ सय ५२ क्वारेन्टाइनमा

पश्चिम नवलपरासीमा रहेका १३ वटा क्वारेन्टाइनमा भारत र अन्य तेस्रो मुलुकबाट फर्किएका १५२ जना बसेका छन्, जसमध्ये ३९ जना १४ दिनको बसाईपछि घरफर्किएका छन् भने बाँकी १ सय १३ अहिलेपनि क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

पश्चिम नवलपरासीका सात स्थानीय तहमा १३ स्थानमा ३२६ शैयाका क्वारेन्टाइन छन् । यसबाहेक पृथ्बी चन्द्र अस्पतात, शहिद स्मृति सामुदायिक अस्पताल, चिसापानी अस्पताल र नेपाली सेना कालीध्वज गणमा आइसोलेसनको समेत व्यवस्थापन गरिएको बताइएको छ ।

जिल्लामा रहेका सबै सरकारी स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कार्यालय प्रमुख गौरब ढकालले जानकारी दिनुभयो । यहाँका स्थानीय तहले दैनिक ज्यालादारी काम गरी गुजारा चलाउन बाध्य घरपरिवार साथै गरिब र बिपन्न परिवारलाई राहत सामाग्री उपलब्ध गराइने तयारी पनि गरेका छन् ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले करिब २ हजार घरपरिवारलाई अत्यावश्यक खाद्यन्न र सामाग्री वितरण गरेको नगरप्रमुख धिरज शर्मा बस्यालले जानकारी दिनुभयो ।

बाँके बर्दियामा उच्च सावधानी
कैलालीमा कोभिड–१९को सङ्क्रमण देखिएपछि प्रदेश ५ को सिमावर्ती जिल्ला बाँके र बर्दियामा उच्च सर्तकता अपनाइएको छ । दुवै जिल्ला भारतसँग सीमा जोडिएकाले नाकामा निगरानी बढाइएको छ । लुकिछिपी भारतबाट कसैलाई आउन नदिन सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।नेपाल सरकारले निर्णय गरेको एक स्थानीय तहबाट अर्को स्थानीय तहमाआवतजावतलाई बन्दलाई अक्षरस कडाईका साथ कार्यान्वयन गर्दै लकडाउनलाई पनि प्रभावकारी बनाईएको छ ।
प्रमुख जिल्ला अधिकारी खड्काले गए राति देखि नै लकडाउनमा कडाई गरिएको जानकारी दिनुभयो । सो क्रममा प्रहरी परिचालन गरी लकडाउनलाई बेवास्ता गरी सडकमा निस्किएका ४ सय ४१ मोटरसाईकलको चावी नियन्त्रणमा लिईएको उहाँले बताउनुभयो ।

भारतसँग सीमा जोडिएका बाँकेका स्थानीय तह नरैनापुर, डुडुवा, नेपालगञ्ज, जानकी र खजुराले ग्रामिण नाकाबाट हुनसक्ने आवत–जावत रोक्नमा चासो देखाएका छन् । नेपालगञ्ज उपमहानगरपालिकासँग जोडिएको मुख्य सीमा नाका जमुनाह ठप्प भएपछि ग्रामिण नाकाबाट अवैध रुपमा समेत आवतजात हुनसक्ने भएकोले थप सतर्कता अपनाईएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

जानकी गाउँपालिकाले साईगाउँ नाकामा आवत–जावतमा पूर्ण रुपमा बन्द गराएको छ । सशस्त्र प्रहरी र स्थानीय नेपाल प्रहरीको चौकीको सहायतामा रोकथाम कार्यलाई प्रभावकारी बनाईएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो ।

कैलालीसँग सीमा जोडिएको बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकाको सबै नाका बन्द गरिएकोे छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको कर्णाली चिसापानी पुल र कैलालीको लम्कीचुहा नगरपालिकासँग सीमा जोडिएको नाका बन्द गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पैदल या गाडीमा हिँड्ने कसैलाई पनि प्रवेश गर्न नदिन आवश्यक पहल गएिको छ । कैलालीको टीकापुर सीमासँग जोडिएको हुलाकी सडकमा पर्ने बर्दियाको राजापुरले टिकापुरको सतिघाट पुल नाका बन्द गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्