चोभारमा तयार हुनै लाग्यो बन्दरगाह, तर द्रुतमार्गको काम कहिले सकिने टुंगो छैन

काठमाडौं । सरकारले काठमाडौं–निजगढ द्रुतमार्ग बनेपछि उपत्यकाको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन चोभारमा सुख्खा बन्दरगाह निर्माणको अघि बढाएको थियो । तर निर्धारित समयभन्दा १४ महिना ढिला गरेर अहिले चोभारमा बन्दरगाह निर्माण सकिनै लागेको छ ।
सुक्खा बन्दरगाह आगामी तीन महिनाभित्रमा सञ्चालनमा आउने भएको छ । बन्दरगाह निर्माणको करिब ९५ प्रतिशत काम सकिइसकेको छ । बन्दरगाहको निर्माण गर्ने जिम्मेवारी पाएको नेपालको आशिष निर्माण सेवा र चीनको सैङछीले बन्दरगाहको भौतिक पूर्वाधार इन्टरमोडल यातायात विकास समितिलाई गत बुधबार नै हस्तान्तर गरिसकेको छ ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको ‘स्ट्रक्चर’ निर्माणको काम सकिइसकेको बताएका छन् । ‘अब सरसफाइ, रंग रोगन, फर्निसिङ, कोठा मिलाउने लगायतको काम गर्न मात्रै बाँकी छ,’ गजुरेलले भने ।
बन्दरगाह सञ्चालन गर्ने विधी (मोडालिटी) तयार पार्न लागिपरेको उनले बताए । तत्कालका लागि इन्टरमोडल आफैंले सञ्चालन गर्ने उक्त बन्दरगाह केही वर्षपछि निजी क्षेत्रलाई सञ्चालनका लागि जिम्मेवारी दिने योजना बनाएको गजुरेलले पत्रकारहरुलाई भनेका छन् ।
उक्त बन्दरगाह २ अर्ब १८ करोड ७२ लाख भए पनि १ अर्ब ६० करोडमा निर्माण सकिएको समितिले जनाएको छ । यसका लागि विश्व बैंकले २ अर्ब ५० करोड ५२ लाख सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो । उक्त बन्दरगाहको निर्माण २०७५ माघमा सुरु गरिएको थियो ।
बन्दरगाहमा ३ सय ८० वटा २० फिटका कन्टेनर राख्ने व्यवस्था छ । १ हजार ३ सय वर्गमिटरमा ५ वटा ब्लकको गोदामघर, ३ हजार ६ सय ३० वर्गमिटरको खुला जाँच क्षेत्र, २ सय वर्गमिटरको जाँच्ने स्टेशन, सामान लोड अनलोड, सबारी नापतौल र नियन्त्रण कक्ष हुने छन् । वनस्पति, खाद्यान्न र जनावरका लागि अलग अलग क्वारेन्टाइन, भन्सार, पार्किङलगायत भौतिक पूर्वाधार निर्माण गरिएको छ ।
उता बन्दरगाहसँग भन्सार नाकाहरुलाई जोड्नुपर्ने काठमाडौं–तराइ द्रुतमार्गको काम भने १६ प्रतिशतजतिमात्रै सकिएको छ । यसले चोभारमा निर्माण भएको सुख्खा बन्दरगाहको उपयोगिता अघि बढाउन कठीन हुने भएको छ ।
नेपाली सेनाले निर्माण गरिरहेको द्रुतमार्गको निर्माण सकिन अझै लामो समय लाग्ने भएपछि तत्कालका लागि पृथ्वी राजमार्ग हुँदै कलंकी–दक्षिणकाली सडक खण्डसँग यो बन्दरगाहलाई जोडेर सञ्चालनमा ल्याउन लागिएको गजुरेलले जानकारी दिए ।
नेपाली सेनाले गत असार मसान्तसम्म द्रुतमार्गको १६.१ प्रतिशतमात्रै निर्माण सकिएको बताएको छ । तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले २१ वैशाख २०७४ मा द्रुतमार्ग निर्माणको काम सेनालाई दिएको थियो । तर सेनाले २०७६ भदौमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेपछि निर्माण कार्य अघि बढाएको हो ।
काम सुरु भएको ४ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको भए पनि हालसम्म द्रुतमार्गमा बढी समय लाग्ने खालका कामहरु सुरु नै भएका छैनन् । सुरुङ र पुल निर्माणका लागि भर्खरै ठेक्का प्रक्रिया अघि बढाउने अवस्थामा सेना पुगेको छ । जग्गा अधिग्रहणको काम पनि सकिएको छैन ।
द्रुतमार्गमा ३ वटा सुरुङ र ८० वटाभन्दा बढी पुलहरु समावेश हुने डीपीआरमा उल्लेख छ । माटो काट्ने र भर्ने काम भने ९० प्रतिशत सकिएको सेनाले जनाएको छ । खोकना क्षेत्रमा जग्गा विबाद भएपछि ४५५ रोपनी जग्गा सेनाले अहिलेसम्म पनि प्राप्त गर्न सकेको छैन । बाटोमा पर्ने रुख काटेर चाहीँ सक्काएको सेनाको प्रगति विवणमा उल्लेख छ ।
जटिल पुल तथा सुरुङ निर्माणको काम अझैसम्म सुरु हुन नसकेका कारण द्रुतमार्ग कहिले सकिन्छ भन्ने स्पस्ट छैन । हालसम्म १ खर्ब ७५ अर्ब खर्च हुने अनुमान गरिएको यो सडक पुरा हुँदासम्म लागत बढेर ३ खर्बसम्म पुग्नसक्ने जानकारहरु बताउँछन् । द्रुतमार्गको यो अन्योलताले बाटो बनिसक्दासम्म अहिले नै निर्माण सकिएको बन्दरगाह कतै खण्डहरमा परिणत भइसक्ने त होइन भन्ने प्रश्न उब्जाएको छ ।