एमसीसीको आयोजनासँग जोड्नेगरी बन्ने भयो अर्को प्रशारण लाइन, आधा लगानी नेपालको ! « Arthapath.com
२५ भाद्र २०७८, शुक्रबार

एमसीसीको आयोजनासँग जोड्नेगरी बन्ने भयो अर्को प्रशारण लाइन, आधा लगानी नेपालको !



काठमाडौं । एमसीसी आयोजनाले नेपालमा बनाउने भनेको विद्युत् प्रशारण लाइनसँग जोड्ने गरी बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने भएको छ । उक्त दोस्र्रो प्रशारण लाइन निर्माणका लागि भारतसँग लगानी सम्झौता भएको हो ।

नेपाल विद्युत् प्राधिकरण र भारतको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरेशन अफ इन्डियाबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको प्राधिकरणले जनाएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा बुधबार एक कार्यक्रमका बीच नेपाल विद्युत् प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र पावर ग्रिडका तर्फबाट कार्यकारी निर्देशक वाई के दीक्षितले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यो प्रशारण लाइनलाई एमसीसी मार्फत निर्माण हुने प्रसारण लाइनसँग जोडेपछि नेपाल र भारतबीच विद्युत् व्यापारका लागि बाटो खुल्ने छ ।

मन्त्रिपरिषद्को १९ साउनको बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत शेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो । अमेरिकाले यही अन्तरदेशीय प्रसारण लाइनको निर्माणलाई एमसीसी कार्यान्वयनको पूर्व शर्तका रूपमा राखिएको थियो ।

उक्त सम्झौता भएसँग प्रसारण लाइन अन्तर्गत भारततर्फको खण्ड निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको ५०–५० प्रतिशत संस्थापक शेयर रहने गरी संयुक्त कम्पनी स्थापना गर्न बाटो खुलेको छ । प्राधिरकणका कार्यकारी निर्देशिक कुलमान घिसिङले अबको तीनदेखि साढे तीन वर्षभित्र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढेको बताएका छन् ।

बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन करीब १२० किलोमिटर लामो हुनेछ । त्यसमध्ये नेपालतर्फ २० किलोमिटर र भारततर्फ १०० किलोमिटर पर्छ । सम्झौताअनुसार नेपाल खण्डको प्रसारण लाइन नेपाल आफैंले बनाउनु पर्ने छ । भारतर्फको प्रशारण लाइन निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको ५०–५० प्रतिशत शेयर स्वामित्वमा स्थापना हुने नयाँ कम्पनीले काम गर्नेछ ।

उक्त प्रसारण लाइनले करीब २ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्राधिकरणले जनाएको छ । नेपाल–भारत ऊर्जा सचिव तथा सहसचिवको संयन्त्रको २७–२८ असोज २०७६ मा भएको सातौं बैठकले प्रसारण लाइन निर्माणका लागि लगानीको ढाँचा तय गरेको थियो । करीब ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा संयुक्त कम्पनीले २० प्रतिशत स्वपूँजीका रूपमा लगानी गर्ने र बाँकी रकम ऋण लिने सहमति बनेको छ ।


प्रतिक्रिया दिनुहोस्