बाढीले ठूला राजमार्गमा मात्रै १ अर्ब ५ करोडको भौतिक क्षति, सबै सडक चल्न अझै केही दिन लाग्ने « Arthapath.com
७ कार्तिक २०७८, आईतवार

बाढीले ठूला राजमार्गमा मात्रै १ अर्ब ५ करोडको भौतिक क्षति, सबै सडक चल्न अझै केही दिन लाग्ने



काठमाडौं । नवरात्री सकिए लगत्तै परेको वर्षाका कारण देशभर विभिन्न स्थानमा यातायात अवरुद्ध भए । यसले दशैंमा टीका लगाउन हिँड्ने वा गाउँघरबाट कार्यक्षेत्र (शहर) फर्किने धेरै नेपाललीलाई समस्या भयो । यही वर्षाका कारण बाढी पहिरो आउँदा राजमार्गहरुमा १ अर्बभन्दा बढीको क्षति भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

सडक विभागको प्रारम्भिक अनुमान अनुसार शरद ऋतुको वर्षाका कारण देशभरका राजमार्गहरुमा मात्रै १ अर्ब ५ करोडको क्षति भएको छ । यसबाहेक ग्रामीण तथा क्षेत्रीय सडकमा त झनै बढी क्षति भएको हुनसक्छ, जुन विवरणहरु यस आँकडामा समावेश भएका छैनन् । हालैको वर्षाका कारण कर्णाली र सुदुरपश्चिम प्रदेशका महाडी भेगमा बाढी पहिरोले ठूलो क्षति पुर्याएको छ । तराइ क्षेत्रमा भने डुवान परेको थियो ।

यही १ कात्तिकयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले १ अर्ब ५ करोडको क्षति भएको प्रारम्भिक अनुमान रहेको सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए । उनले पूर्ण विवरण अझै आउन नसकेको बताए । आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा वार्षातका कारण सडक पुर्वाधारमा भएको भौतिक क्षतिबारे छलफल भएको थियो ।

उक्त बैठकमा महानिर्देशक थापाले देशभरका १८ वटा राजमार्गका २४४ स्थानमा बाटो अवरुद्ध भएको बताए । मनाङ, बाजुरा, बझाङका राजमार्ग अझै सञ्चालनमा आउन सकेका छैनन् । सडक विभागले एकतर्फीमात्रै भए पनि सडक सञ्चालन गर्ने कोशिस गरिरहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्