क्षतिग्रस्त मीरगंज पुलका कारण आवागमन ठप्प « Arthapath.com
२६ पुष २०७८, सोमबार

क्षतिग्रस्त मीरगंज पुलका कारण आवागमन ठप्प



काठमाडौं । विराटनगर–जोगबनी नाका जोड्ने भारतको बथनाहा स्थित मीरगंज पुल क्षतिग्रस्त कारण आवागमन ठप्प रहेको छ । विराटनगर–जोगबनी नाका जोड्ने भारतको बथनाहा स्थित मीरगंज पुल हालै क्षतिग्रस्त हुन गई मालवाहक सवारी साधनहरुको आवागमन ठप्प हुन गएको प्रति मोरङ व्यापार संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

सो पुल मार्फत हुने आवागमन ठप्प हुँदा नेपाल तथा मोरङ–सुनसरी आर्थिक कोरिडोरका लागि भित्रने खाद्यान्न, दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ, औषधीजन्य सहित कैयौं प्रकारका सामग्री बोकेका सवारी साधनहरु सम्बन्धित गन्तव्यमा पुग्न सकेको छैन् । सो माल वस्तुहरुको सुरक्षा र गुणस्तर जोखिममा पर्दै गएको, लागत खर्च अनपेक्षित रुपले वृद्धि हुने भएको तथा विराटनगर भन्सार कार्यालयबाट हुने दैनिक १५ करोड भन्दा बढिको राजस्व संकलन कार्य समेत प्रभावित हुन गएको व्यहोरा संघ जनाएको छ ।

यहि अवस्था रहे निकट भविष्यमै औद्योगिक/व्यवसायिक प्रयोजनका मालसामानहरुको अभाव श्रृजना हने भएको संघका अध्यक्ष प्रकाश मून्दडाले उल्लेख गरेका छन्। त्यस्तै नेपालमा चौतर्फि रुपले प्रभाव पर्ने हुँदा सो को तत्कालै निराकरण गर्न भारत सहित तेश्रो मुलुकबाट नेपाल भित्रने मालवाहक सवारी साधनहरुका लागि हाल भारतको अररिया जिल्लाको अररिया – कुर्सा कांटा – जोगबनी मार्गलाई वैकल्पिक मार्गको रुपमा संचालनमा ल्याउनु पर्ने जोड दिएका छन् ।

जिर्ण अवस्थाको मिरगंज पुलको तत्कालै मर्मत गर्न, सो पुलको समानान्तरमा अन्तिम चरणमा निर्माणाधिन नयाँ पुलको निर्माण कार्य यथाशिध्र सम्पन्न गराउन, तत्कालिक रुपले सो नयाँ पुलको एक लेन भएपनि संचालनमा ल्याउन तथा भीमनगर–भन्टाबारी भन्सार नाका मार्फत समेत उक्त मालवाहक सवारी साधनहरु भित्र्याउन सकिने व्यवस्था गराउन नेपाल सहित भारतका सम्बन्धित निकायहरुमा जोडदार पहल गरिदिन हुन अनुरोध समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्