पेट्रोलियम पदार्थको आयात दुई गुणाले बढ्यो, निर्यात प्रशोधित वस्तु केन्द्रित : वीरगंज भन्सार « Arthapath.com
११ माघ २०७८, मंगलवार

पेट्रोलियम पदार्थको आयात दुई गुणाले बढ्यो, निर्यात प्रशोधित वस्तु केन्द्रित : वीरगंज भन्सार




काठमाडौं । वीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७८/७९ को ६ महिनामा ४४ अर्ब रुपैयाँ भन्दा बढीको डिजल आयात गरेको छ । भन्सारले चालु आवको साउनदेखि पुससम्मको अवधिमा ४४ अर्ब ४१ करोड ८१ लाख रुपैयाँको डिजेल आयात गरेको हो ।

वीरगंज भन्सारले गत आवको पुससम्ममा २३ अर्ब १० करोड रुपैयाँ बराबरको डिजल आयात गरेको थियो । वीरगंज भन्सार तथ्यांकलाई हेर्दा गत बर्षको तुलनामा चालु आवमा लगभग दोब्बर रुपमा डिजल आयात गरेको छ । गतको तुलनामा चालु आवमा २१ अर्ब भन्दा बढी मुल्यको डिजल आयात भएको छ ।

त्यस्तै पेट्रोल १६ अर्ब १२ करोड रुपैयाँ बराबरको आयात गरेको छ । जुन गत आर्थिक बर्षमा ७ अर्बको मात्र आयात भएको थियो । यसले के स्पष्ट पार्छ भने हरेक बर्ष पेट्रोलियम पदार्थको आयात बढ्दो छ । चालु आर्थिक बर्ष पेट्रोलको आयात पनि दुई गुणा भन्दा बढीको आयात भएको तथ्यांकमा उल्लेख छ ।

चालु आवमा एल पि ग्यास १५ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको आयात भएको छ भने गत आवको ६ महिनासम्म ७ अर्ब ४९ करोड बराबरको मात्र आयात भएको तथ्यांकमा देखिएको छ । वीरगंज भन्सार कार्यालयको आयात तथ्यांकले के देखाएको छ भने पुस महिनासम्म आयात भएका पेट्रोलियम पदार्थ र अघिल्लो बर्षको सोही महिनासम्म तुलनात्मक अवस्था हेर्दा चालु आवमा दुई गुणाले आयात बढेको तथ्यांकले देखाउँछ ।

पेट्रोलियम पदार्थमा अन्य कोइला, लुब्रिकेटीङ्ग आयाल मोबिल, ए.टी.एफ, अलकत्रा बिटुमिन, पेट्रोलियम कोक, फर्नेस आयल, प्रशोधित कोइला, वेस आयल, मट्टितेल, ट्रान्सफरमर आयल, प्याराफिन मैन लगायतका पेट्रोलियम पदार्थ वीरगंज भन्सारबाट आयात भएको छ ।

त्यस्तै, जीपकार र भ्यानहरुको आयात पनि अघिल्लो आवको तुलनामा बढी नै रहेको छ । चालु आवमा ४ अर्ब ९० करोड रुपैयाँको जीपकार र भ्यानहरुको आयात भएको छ भने अघिल्लो बर्ष ३ अर्ब १४ करोड रुपैयाँको मात्र जीपकार र भ्यानहरुको आयात आयात भएको थियो । ट्रक, मिनी ट्रक, क्याव पीकअप गाडी लगायतको आयात पनि बढेको छ ।

वीरगंज भन्सार कार्यालयबाट सबै भन्दा बढी निर्यात भटमासको तेल प्रशोधित, प्रशोधित पाम तेल, फलफुल जुस, सुर्यमुखिको प्रशोधित तेल, जमोठ कपडा, सेन्थेटिक यार्न लगायतको निर्यात गरेको छ ।

६ महिनामा १ खर्ब भन्दा बढी राजस्व संकलन

वीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्षको ६ महिनामा १ खर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ । भन्सारले चालू आवको साउनदेखि पुससम्मको अवधिमा कुल १ खर्ब ५ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । वीरगंज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आब २०७७/७८ को पहिलो ६ महिनाभन्दा ३२ अर्ब रुपैयाँ बढी हो ।

वीरगंज भन्सारले गत आवको पुससम्ममा ७३ अर्ब ५५ करोड रुपैयाँ संकलन गरेको थियो । चालू आवको ६ महिनाका लागि वीरगंज भन्सारले १ खर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । यो अवधिमा भन्सारले उठाएको राजस्व लक्ष्यभन्दा ६ प्रतिशत बढी रहेको भन्सारको तथ्यांकमा उल्लेख छ ।

भन्सार कार्यालयले सबैभन्दा बढी मूल्य अभिवृद्धि कर उठाएको छ । ३१ अर्ब रुपैयाँ यो कर उठाउने लक्ष्य लिएको भन्सारले लक्ष्यभन्दा ३२ प्रतिशत बढी ४१ अर्ब रुपैयाँ संकलन गरेको छ ।

वीरगंज भन्सारबाट भित्रिएका मालसामानमा ६ महीनामा ३८ अर्ब रुपैयाँ भन्सार महसुल उठेको छ भने अन्तःशुल्कतर्फ १२ अर्ब र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार करमात्रै करीब ८ अर्ब रुपैयाँ संकलन भएको भन्सारको तथ्यांकमा छ ।

अग्रिम आयकर १४ करोड रुपैयाँ, स्वास्थ्य जोखिम कर ८३ लाख, कृषि सुधार शुल्क ७३ करोड, सडक मर्मत तथा सुधार दस्तुर २ अर्ब असुल गरेको छ ।

वस्तु निकासीबाट १ करोड रुपैयाँ राजस्व आम्दानी गरेको भन्सारले भन्सारसम्बन्धी अन्य आय शीर्षकमा ५ करोड रुपैयाँ संकलन गरेको तथ्यांक छ ।


प्रतिक्रिया दिनुहोस्