विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार गर्दै डिजिटल नेपाल बनाउछौं: अध्यक्ष अर्याल « Arthapath.com
२८ पुष २०७९, बिहीबार

विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार गर्दै डिजिटल नेपाल बनाउछौं: अध्यक्ष अर्याल



काठमाडौं । नेपाल टेलिकमका सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने बताएका छन् ।

टेलिकमको १५औं वार्षिक साधारण सभामा बोल्दैं उनले दूरसञ्चार क्षेत्रमा विद्यमान तीब्र प्रतिस्पर्धाको वातावरणमा पनि मुनाफाभन्दा बढी सेवाभावलाई प्राथमिकतामा राख्ने बताएका हुन । उनले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको पन्ध्रौँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रतिवेदन प्रस्तुत गर्दै उनले कोभिड–१९ को महामारी तथा यसको प्रभाव र असरकाबिच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रको विश्वबजारमा विकास भइरहेका नवीनतम र अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे । विद्युतीय सुशासनको क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गर्नेतर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरेको उनले बताए ।

अध्यक्षले भने, “आर्थिक वर्ष २०७८÷७९मा आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बिच कम्पनीले कुल ४४ अर्ब ३७ करोड राजश्व आम्दानी गरी ८ अर्ब ४७ करोड खुद नाफा गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा रु. १ अर्ब ३५ करोडले बढी हो । यसै आ.व.मा कम्पनीले कर तथा शुल्क वापत आफ्नो कुल आयको ५९.५२ प्रतिशत अर्थात् २६ अर्ब ४१ करोड राजश्वका रुपमा नेपाल सरकारलाई बुझाएको छ । कम्पनीको नाफामा शेयरधनीहरुको योगदान र लगानीको उच्च कदर गर्र्दै कम्पनी सञ्चालक समितिले प्रति शेयर रु. ४० लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि यस सभामा पेश गर्ने निर्णय गरेको छ ।”

प्रत्येक नागरिक, उद्योग व्यवसाय तथा सरकारी क्षेत्रका लागि अधारभूत आवश्यकताका रुपमा स्थापित हुँदै गरेको सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित भोल्टे सेवा तथा एफटीटीएच सेवा विस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणमा तीब्रता दिएकोले २०७९ असारसम्ममा देशका ७३५ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएको उनले उल्लेख गरे । अझै पनि कम्पनीबाट उपलब्ध टुजी प्रविधिको उपयोग गर्ने ग्राहकको संख्या उल्लेख्य रहेकाले यसको गुणस्तर सुधारसहित विस्तार गर्नुका साथै बहूसंख्यक ग्राहकले प्रयोग गर्ने फोरजी सेवाको स्तर वृद्धि गरी सेवा विस्तारलाई निरन्तरता दिइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभजी प्रविधिको परीक्षण अनुमति प्राप्त भएअनुसार निकट भविष्यमा यसको परीक्षण कार्य सफलतापूर्वक सम्पन्न गर्नेगरी काम अघि बढाइएको पनि अर्यालले बताए ।

अगाडि– “दूरसञ्चारको प्रतिस्पर्धात्मक बजारमा कम्पनीलाई सक्षम संस्थाको रुपमा विकास गर्न कम्पनीको निर्णय प्रक्रिया, कार्यशैली र संस्थागत संरचनामा सुधार गर्न नीति नियमलाई थप व्यावहारिक र समयसापेक्ष बनाउँदै कम्पनीलाई परिवर्तनमुखी तथा गतिशील संगठनको रुपमा अघि बढाउने एवं कम्पनीको पुनसंरचना गर्नेतर्फ विशेष ध्यान दिइएको छ । कम्पनीमा सञ्चित रकमलाई उच्च प्रतिफल प्राप्त हुने र जोखिम न्यून गर्नेगरी विविध क्षेत्रमा लगानी गर्ने नीतिअनुरुप अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लगानीका क्षेत्र पहिचान गर्न शुरु गरिएको छ ।”


प्रतिक्रिया दिनुहोस्