लप्सीफेदीमा सबस्टेशन नबने काठमाडौंमा लोडसेडिङ पक्का, प्रदर्शनकारीलाई प्राधिकरणले बोलायो वार्तामा « Arthapath.com
२९ पुष २०७९, शुक्रबार

लप्सीफेदीमा सबस्टेशन नबने काठमाडौंमा लोडसेडिङ पक्का, प्रदर्शनकारीलाई प्राधिकरणले बोलायो वार्तामा



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको विरोधमा उत्रिएका काठमाडौंको लप्सीफेदीका प्रदर्शनकारीहरुलाई प्राधिकरणले वार्तामा बोलाएको छ । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका स्थानीयले गाउँमा राख्न लागिएको प्राधिकरणको सबस्टेशन निर्माण गर्न नहुने भन्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

नगरपालिकाका प्रमुख रमेश नापित र वडाध्यक्ष सूर्यबहादुर तामाङसहित आन्दोलनरत पक्षलाइ वार्तामा बोलाइएको प्राधिकरणले जनाएको छ । वडाध्यक्ष तामाङको नेतृत्वमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले मानवबस्तिमा सबस्टेशन बनाउँदा जोखिमपूर्ण हुने भन्दै विरोध गरेका हुन् ।

उक्त स्थानमा प्राधिकरणले जग्गा अधिग्रहण गरिसकेको छ । प्राधिकरणका अधिकारीहरुका अनुसार मुआब्जा बुझ्नेहरु भने यो विरोधमा सहभागि छैनन् । सबस्टेशन बन्ने क्षेत्र वरपरका सँधियार र अरु गाउँले अहिले विरोधमा उत्रिएका छन् । सबस्टेशन बनेपछि उच्च भोल्टेजको विद्युत् प्रवाह हुने र त्यस्ता टावर एवम् तार मुनिको जमीन बैंकले धितो नराख्ने भएपछि वरपरका मानिसहरु विरोधमा उत्रिएका हुन् ।

अर्कातर्फ जोखिमयुक्त क्षेत्र भन्दै नयाँ मान्छेले जग्गा किन्न हच्किने र जग्गाको मूल्य पनि सामान्य अवस्थामा जसरी नबढ्ने देखेपछि स्थानीयहरु जसरी पनि त्यहाँबाट सबस्टेशन हटाउनु पर्ने माग राखिरहेका छन् । सबस्टेशनलाई मानवबस्तीबाट अन्यत्र सार्नु पर्ने मागमा वडाध्यक्ष तामाङको बलियो साथ छ । स्थानीय गैरसरकारी संस्था (एनजीओ) ‘समान नेपाल’ ले पनि प्रदर्शनमा स्थानीय महिलाहरुको बाक्लो उपस्थिति गराउन सघाइरहेको छ ।

स्थानीय जनप्रतिनिधी सहितका प्रदर्शनकारीका प्रतिनिधीलाई शुक्रबार दिउँसो तीन बजे प्राधिकरणको केन्द्रिय कार्यालय रत्नपार्कमा वार्ताका लागि बोलाइएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए । जग्गा अधिग्रहरण र प्रारम्भिक एवम् पुरक वातावरणीय परीक्षण भएपछि ठेक्का लागेर पनि प्रशारण लाइन र सबस्टेशन निर्माणको काम अघि बढिसकेको प्रधिकरणले जनाएको छ । यस्तो अवस्थामा आएर सबस्टेशन अन्यत्र सार्न सम्भव नहुने प्राधिकरणको भनाइ छ ।

तामाकोशी तथा सुनकोशी नदी एवम् तिनका सहायक खोलाहरुसहितको नदि बेसिनमा उत्पादन हुने विजुली काठमाडौं उपत्यकामा भित्र्याउन ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिएको हो । अहिले यो सबस्टेशनको निर्माण अवरुद्ध भयो भने काठमाडौंको विद्युत् माग (लोड) धान्न नसकिने प्राधिकरणले स्पष्ट पारेको छ ।

पूर्वी नेपालबाट आउने विजुलीको बाटो बन्द भए देशमा विद्युत् उत्पादन भएरै पनि काठमाडौं उपत्यकामा लोडसेडिङको अवस्था आउन सक्ने चेतावनी प्राधिकरणका अधिकारीले दिएका छन् । रामेछापको नयाँ खिम्तीदेखि सिन्धुपाल्चोकको बाह्रबिसेहुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन निर्माण गरेर लप्सीफेदीको सबस्टेशनमा जोड्ने योजना छ ।

यो प्रसारण लाइनको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगिसकेको छ । लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन पनि बनिरहेको छ । चाँगुनारायणमा निर्माणाधीन १३२ केभी सबस्टेसनको काम सकिनै लागिसकेको छ ।

लप्सीफेदीमा सबस्टेसन बनाउन भनेर ५० जना जग्गाधनीबाट १ सय ७० रोपनी जग्गा अधिग्रहण भएको थियो । उक्त जग्गा अधिग्रहणको काम २०७४ जेठमै थालिएको थियो । त्यसै वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण भयो । एक जनाबाहेक सबैले मुआब्जा तथा क्षतिपूर्ति रकम बुझिसकेका छन् । हालसम्म मुआब्जा र क्षतिपूर्ती बापत ५० करोड रुपैयाँ वितरण भइसकेको प्राधिकरणले जनाएको छ ।

एसियाली विकास बैंकको ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा नेपाल सरकार तथा विद्युत् प्राधिकरणले यी प्रसारण लाइन एवम् सबस्टेशन निर्माण अघि बढाएको थियो । स्थानीयको विरोधका कारण सबस्टेसन निर्माणले गति लिन नसकेपछि ठेक्का सम्झौताको अवधी १५ पुस २०८० सम्मका लागि लम्ब्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्