सञ्चय कोषले जलविद्युतमा मात्रै ६० अर्ब लगानी पोर्टफोलियो बनाएको छ: प्रशासक धिताल « Arthapath.com
७ जेष्ठ २०८०, आईतवार

सञ्चय कोषले जलविद्युतमा मात्रै ६० अर्ब लगानी पोर्टफोलियो बनाएको छ: प्रशासक धिताल



काठमाडौं । कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक जितेन्द्र धितालले कोषले ८१५ मेगावाट क्षमताको विभिन्न आयोजनामा ऋण लगानी गरेको बताए ।

नेपाल विद्युत प्राधिकरण, तामाकोशी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच तामाकोशी पाँचौं आयोजना निर्माण लागि ऋण सम्वन्धमा त्रीपक्षीय ऋण सम्झौता हस्ताक्षर कार्यक्रममा प्रशासक धितालले यस्तो बताएका हुन् ।

राजधानीमा आयोजित सो कार्यक्रममा धितालले भने,–‘पहिलो पटक २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनामा लगानी गरेको थियो, हालसम्म ८१५ मेगावाट क्षमताका विभिन्न आयोजनामा ऋण लगानी गरेको छ ।’

सञ्चय कोषले जलविद्युतको क्षेत्रमा मात्रै ६० अर्ब बढी लगानी पोटफोलियो बनाएको प्रशासक धितालले बताए । सञ्चय कोषले पूर्वाधारमा क्षेत्रमा लगानी गर्दै आएको उनको भनाई थियो । ‘कोषले पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएको छ, विशेषत: जलविद्युतको आयोजनामा कोषले लगानी गर्दै आएको छ । अहिलेका तमाव वित्तीय संस्था बैंकिङ तथा गैरबैंकिङमध्ये सञ्चय कोष अग्रणी बन्दै आएको छ ।’–धितालले भने ।

कोषले विद्युत उत्पादनको क्षेत्रमा लगानी केन्द्रीत रहेको उनको भनाई छ । सुरुवाती समयदेखि नै जलविद्युत क्षेत्रमा कोषले लगानी गर्दै आएको र पछिल्लो समय निरन्तरता दिएको धितालले बताए ।

उनले भने,–‘कर्मचारी सञ्चय कोष विद्युत उत्पादन र विद्युत क्षेत्रमा लगानी गर्न सुरुदेखि नै लागेको छ । यो पूर्वाधारको क्षेत्र पनि हो । त्यसकारण पनि हाइड्रोपावरमा लगानी केन्द्रीत गर्दै आइरहेको छ ।’

तामाकोशी पाँचौं जलविद्युत आयोजना दोलखामा बन्न लागेको हो । ९९.८ मेगावाटको सो आयोजनामा कोषले १३ अर्ब ७४ करोड ७ लाख रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

तामाकोसी पाँचका लागि २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । जुन निर्माण अवधिको ब्याजसहित हो । नेपाल विद्युत प्राधिकरणले तामाकोसी जलविद्युत कम्पनी निर्माण गरी निर्माण गर्न आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी (इक्वटी) को रहने छ । यता, स्वपुँजीमध्ये विद्युत प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारण समूहको ३२ प्रतिशत लगानी रहने कम्पनी जनाएको छ ।

तामाकोसी पाँचौं ४५६ मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड आयोजना हो । सो आयोजना आगामी चार वर्षभित्र सक्ने लक्ष्य लिएको छ । तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ । माथिल्लो तामाकोसीको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको कम्पनीले जनाएको छ ।

आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्नेछ । आयोजनाको वातावरण प्रभाव मूल्यांकन (इआईए) को काम सम्पन्न भैसकेको सो आयोजनाको गत वर्षको मंसिरमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भैसकेको छ । सोही मितिमै परामर्शदाता समेत छनोट भैसकेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्