के अब जमीनमुनि शहर बसाल्ने बेला आएको हो ? « Arthapath.com
१८ चैत्र २०८०, आईतवार

के अब जमीनमुनि शहर बसाल्ने बेला आएको हो ?



काठमाडौं । आज विश्वको ८ अर्ब जनसंख्याको आधाभन्दा बढी मानिस सहरमा बस्छन्। संयुक्त राष्ट्रसंघले आगामी २५ वर्षमा सहरमा बसोबास गर्ने जनसंख्या दुई तिहाइले बढ्ने अनुमान गरेको छ ।

यसको मतलब सन् २०५० सम्ममा प्रत्येक १० जना मध्ये ७ जना शहरी क्षेत्रमा बस्नेछन्। यो वृद्धि एसिया र अफ्रिकामा सबैभन्दा ठूलो हुनेछ जहाँ जनसंख्या वृद्धि र आर्थिक विकास तीव्र गतिमा भइरहेको छ।

सहरहरूमा भीडभाड बढ्दै जान्छ र जलवायु परिवर्तनका कारण बढ्दो गर्मी सहन गाह्रो र अर्थतन्त्रका लागि महँगो पर्न जाने छ । यसले भवनहरूलाई चिसो राख्न ऊर्जा खपत बढाउनेछ र कार्बन उत्सर्जनमा पनि वृद्धि गर्नेछ। यस्ता कयौं समस्याको एकमुष्ठ समाधान हामीसँगै उपलब्ध छ । त्यो भनेको सहरहरू जमिनको माथि वा सतहमा होइन, भूमिगत रुपमा विस्तार गर्नुपर्छ।

भूमिगत संसार

मध्य टर्कीमा ५००० वर्ग किलोमिटरमा फैलिएको एउटा सुन्दर क्षेत्र छ जहाँ सोली आकारको ढुङ्गाका संरचनाहरू टाढा–टाढासम्म देखिन्छन्। यी लाखौं वर्ष पहिले ज्वालामुखी विष्फोटबाट निस्कने खरानीका कारण बनेका थिए।

यदि हामीले यी प्राकृतिक चुचुराहरूलाई ध्यानपूर्वक हेर्यौं भने, हामी तिनीहरूको छेउमा बनेका ढोकाहरू देख्न सक्छौं। भित्र पस्ने बित्तिकै कोठा, कोरिडोर र सुरुङको विशाल संसार उभिन्छ। त्यो हो, देरिन्कुयु शहर ।

त्यहाँ निकै जटिल संरचनाहरु खडा गरिएको छ । जमिनमुनि ८५ मिटर तल कोठा, कोरिडोर र सुरुङहरूको अत्यन्त ठूलो नेटवर्क छ। शताब्दीयौंदेखि मानिसहरूले शत्रुहरूबाट बच्न यी ठाउँहरू प्रयोग गर्दै आएका छन्।

मानिसले बस्नका लागि बनाएको भूमिगत ठाउँहरूमा अनुसन्धान गर्ने संस्था ‘सबटेरानिया ब्रिटानिका’ नामक संस्थाका ट्रस्टी मार्टिन डिक्सन भन्छन्, ‘डेरेन्कुयुका यी सुरुङहरूका मुखहरू ठूला गोलो ढुङ्गाले बन्द गरिएको थियो ताकि बाहिरबाट शत्रुहरू भित्र पस्न नपरोस्।’ उनी भन्छन्, ‘यी गोलाकार ढुङ्गाहरू भित्री करिडोरबाट सुरुङको मुखमा धकेलिएको थियो, बाहिरबाट निकाल्न असम्भव बनाएको थियो।’

टर्कीको मध्येभागमा अवस्थित देरिन्कुयु शहरको माथिल्लो (सतहको) भाग ।

त्यस्ता ढोकाहरू वरिपरि सुरुङहरू थिए जहाँबाट बाहिरबाट प्रवेश गर्ने शत्रुहरूलाई भाला जस्ता हतियारले आक्रमण गर्न सकिन्छ। मार्टिन डिक्सन विश्वास गर्छन् कि जमिनमा लडाइँ हुँदा मानिसहरू त्यस्ता भूमिगत ठाउँहरूमा आश्रय लिन्थे। उनले यी स्थायी बस्ती नभई जमिनमा द्वन्द्व हुन नदिन लामो समयदेखि यहाँ बसोबास गरेको बताए ।

यी भूमिगत कम्प्लेक्सहरूमा इनारहरू, स्काइलाइटहरू, गाईवस्तुहरूका लागि घेराहरू र अस्तबलहरू थिए जहाँ मानिसहरू सुरक्षित रूपमा बस्न सक्छन्।

शताब्दीयौंदेखि मानिसले शत्रु र जङ्गली जनावरहरूका साथै कठोर मौसमबाट आफूलाई बचाउन गुफाहरूमा शरण लिँदै आएका छन्। लगभग १०० वर्ष पहिले, उत्खननकर्ताहरुले ‘ओपल’ लगायत बहुमूलय पत्थरहरू निकाल्न दक्षिणी अस्ट्रेलियाको कुबेर पेडी क्षेत्रमा खानी सुरु गरेका थिए। तर, चर्को गर्मीबाट बच्न तिनीहरूले जमिनमुनि पूरै संसार बनाए।

आज कुबेर पेडी को लगभग १५०० बासिन्दा भूमिगत बस्छन्। त्यहाँ तिनीहरू पसलहरू चलाउँछन्, किनमेल गर्छन् र भूमिगत चर्चमा प्रार्थना पनि गर्छन्। स्थानीयले यसलाई ‘डग आउट’ भनेका छन् ।

मार्टिन डिक्सनका अनुसार गर्मीमा कूबेर पेडीको तापक्रम ४० डिग्रीको हाराहारीमा हुन्छ, जसका कारण मानिसहरु जमिनमुनि बनेका घरहरूमा बस्छन् । त्यहाँ वर्षैभरि २० डिग्री तापक्रम रहन्छ । त्यसैले, कुबेर पेडीको कुल जनसंख्याको दुई तिहाइ वर्षभरि भूमिगत रहन्छ।

भूमिगत बस्न कस्तो छ ? उनीहरुको घर कस्तो छ र घामको किरण घरमा कसरी पुग्छ ?

मार्टिन डिक्सनले भन्छन्, ‘मेरो विचारमा तिनीहरूको भूमिगत जीवन धेरै सुन्दर छ। ढुङ्गामा सुन्तला रंगको झ्याल छ र यसको सतह आकर्षक देखिन्छ। सामान्यतया तिनीहरूको बैठक कोठा प्रवेशद्वार वा मुखको नजिक हुन्छ र झ्याल हुन्छ। उनीहरू दिनको अधिकांश समय यही कोठामा बिताउँछन् र भित्री कोठाहरू भण्डारण वा शयनकक्षको रूपमा प्रयोग गरिन्छ। बाहिर धेरै तातो छ तर भित्री कोठामा सूर्यको किरण पुग्दैन, त्यसैले यहाँको तापक्रम सहज छ ।’

कुबेर पेडीका बासिन्दाहरूले गर्मीबाट बच्न भूमिगत घरहरूको सहारा लिएका छन्। संसारमा अन्य धेरै ठाउँहरू छन् जहाँ मानिसहरूले जमिन माथि घर बनाउँछन् तर आफ्नो दैनिक कार्यहरू जमिनमुनि गर्छन्।

देरिन्कुयु

भूमिगत शहरहरूको निर्माण

मेट्रो वा भूमिगत रेल संसारका ६० भन्दा बढी देशहरूमा चल्छ। यी भूमिगत स्टेशनहरू भित्र अफिसहरू पनि छन् । त्यहाँ मानिसहरु ट्रेनबाट ओर्लेपछि सीधै आफ्नो कार्यालयहरूमा जान सक्छन्। खानेकुरा किन्न सक्छन् । यसका लागि लिफ्टबाट जमिनभन्दा माथिको भवनमा जानुपर्दैन।

भूमिगत परिसर निर्माण गर्नुको अर्को कारण पनि छ। त्यो मौसम हो। उदाहरणका लागि, पूर्वी क्यानडामा जाडोको समयमा तापक्रम माइनस ३० डिग्री पुग्छ।

शहरी भूमिगत ठाउँका लागि एसोसिएटेड रिसर्च सेन्टरका सह–संस्थापक समेत रहेका वास्तुकार एवम् शहरी योजनाकार ज्याक बेसनरले सन् १९८० मा मोन्ट्रियल शहरमा भूमिगत परिसरहरूको निर्माणमा काम गरे।

मोन्ट्रियलको भूमिगत शहर ३० किलोमिटरसम्म फैलिएको छ र सयौं कार्यालयहरू, पसलहरू र संग्रहालयहरू पनि छन्। दैनिक पाँच लाख मानिसले यसको प्रयोग गर्छन्।

यी ठाउँहरू डिजाइन गर्दा सुरक्षा र सुविधामा विशेष ध्यान दिइएको जायाक बताउँछन्। उनी भन्छन्, ‘यस्ता ठाउँमा करिडोर निकै फराकिलो बनाइएको छ, भित्तामा स्पष्ट साइनबोर्ड राखिएको छ ताकि मानिसलाई आवतजावतमा कुनै समस्या नहोस् र मानिसले सुरक्षित महसुस गरून् ।’

आधुनिक प्रविधि र निर्माण सामग्रीको साथ, सपिङ मलजस्ता ठूला भवनहरू अब अवस्थित भवनहरूलाई नोक्सान नगरी भूमिगत कम्प्लेक्सहरूमा निर्माण गर्न सकिन्छ।

आजभन्दा १०० वर्षअघि लन्डनमा भूमिगत मेट्रो रेल सञ्जाल बिछ्याउँदाको बखत पृथ्वीको सतहमा अवस्थित भवनहरूलाई क्षति नहोस् भनेर जमिनमा धेरै गहिरो सुरुङहरू खन्नुपरेको थियो ।

पुराना सहरहरूमा यो काम गाह्रो छ तर यहाँ सम्पदालाई भूमिगत परिसरहरूमा पूर्ण रूपमा प्रयोग गर्न सकिन्छ। यस्ता ‘डगआउटहरू’ मध्य युगदेखि शीत युद्धसम्म धेरै शहरहरूमा भूमिगत बनाइएका थिए। लडाइँको समयमा बमबारीबाट शहरहरू जोगाउन भूमिगत परिसरहरू निर्माण गरिएको थियो।

यी ऐतिहासिक ठाउँहरू अहिले पर्यटनका लागि प्रयोग भएका छन् । यी ठाउँहरू धेरै रोचक छन्। यी ठाउँहरूलाई आधुनिक स्वादमा छाँटकाँट गर्न सकिन्छ र यहाँ रेस्टुरेन्ट र पसलहरू खोल्न सकिन्छ, जुन आजकल एकदमै फेसनल छ।

अहिले मानिसहरूले यी भूमिगत ठाउँहरू सीमित समयको लागि प्रयोग गर्छन्। तर, भविष्यमा जलवायु परिवर्तनको असरबाट बच्न यहाँ बस्ने दीर्घकालीन व्यवस्था गर्न सकिन्छ कि ?

यसमा पनि ज्याक बेसनर भन्छन्, ‘जलवायु परिवर्तनले बाढी र आगलागीका घटनाहरू बढाउनेछन् र जमिन माथिको गर्मी यति तीव्र हुनेछ कि मानिसहरूले भूमिगत चिसो ठाउँमा बस्न पक्कै पनि विचार गर्नेछन्।’ भूमिगत परिसर गर्मी र आर्द्रताबाट बच्नको लागि राम्रो समाधान हुन सक्ने उनको बुझाइ छ ।

मोन्ट्रियलको भूमिगत शहर ६० वर्ष पहिले बनाइएको थियो। भविष्यका परिवर्तनहरूलाई ध्यानमा राख्दै, २१ औं शताब्दीका वास्तुविद्हरूले अब नयाँ प्रकारका भूमिगत परिसरहरू निर्माण गर्ने योजनामा छन्।

कुबेर पेडी

प्रकाशको किरण

दक्षिण कोरियामा भूमिगत निर्माणको क्षेत्रमा एउटा साहसिक योजना कार्यान्वयन भइरहेको छ। राजधानी सियोलको गङ्गनम क्षेत्रमा आधा किलोमिटर लामो भूमिगत पार्क वा ‘लाइट वाक’ बनाइँदैछ, जसमा सिसाको छाना हुनेछ । यसबाट प्रकाश भूमिगत पार्क र त्यहाँ बनेको कम्प्लेक्समा पुग्नेछ।

स्विट्जरल्याण्डको एम्बर्ग इन्जिनियरिङ कम्पनीका परियोजना प्रबन्धक एवम् अन्तर्राष्ट्रिय टनेलिङ र भूमिगत अन्तरिक्ष संघको भूमिगत अन्तरिक्ष समितिका सह–अध्यक्ष एन्टोनिया कोर्नारोले सियोलको लाइट वाक परियोजनाको बारेमा विस्तृत रूपमा बताएकी छिन् ।

उनी भन्छिन्, ‘यहाँ भूमिगत दुईवटा आधुनिक पार्क बनाइनेछ । न्यूयोर्कको सेन्ट्रल पार्क र लन्डनको हाइड पार्क जस्तै, यो लाइट वाक पार्क सियोलमा निर्माण भइरहेको छ। यसको विशेषता चाहीँ यो पार्क सियोलको मेट्रो रेलसँग जोडिनेछ। यसका साथै यहाँका मानिसहरूका लागि मनोरञ्जनका थुप्रै साधनहरू हुनेछन्। यदि जमिनमा गर्मी र आर्द्रता बढी छ भने मानिसहरूले तलको पार्कको चिसो मौसममा समय बिताउन सक्ने छन् ।’

सूर्यको प्रकाशको अभाव भूमिगत कम्प्लेक्सहरूको कमजोरी भएको छ तर यसलाई गिलासको छानाबाट पनि हटाउन सकिन्छ। आधुनिक वास्तुकलामा अपवर्तन र फाइबर अप्टिक केबलहरू प्रयोग गरेर भूमिगत कम्प्लेक्सहरूमा सूर्यको प्रकाशको उपयोग गर्ने प्रयासहरू भइरहेका छन्।

न्यूयोर्कको लो–लाइन पार्क ।

तर यहाँको दोस्रो ठूलो समस्या भनेको जमिन मुनि खन्न निकै महँगो काम हो । न्यूयोर्कमा यस्तै एउटा भूमिगत ‘लो–लाइन’ पार्कको निर्माण सन् २०१९ मा सुरु भएको थियो । तर बजेट अभावका कारण एक वर्षपछि रोकिएको थियो। यो परियोजना पुनः सुरु हुने अपेक्षा गरिएको छ।

एन्टोनिया कोर्नारोले यस पार्कमा जमिनमुनि धेरै किसिमका बिरुवा उब्जाउन परिक्षण गरिएको बताइन् । यो एउटा अति सुन्दर सार्वजनिक पार्क बन्न सक्छ, जहाँ मानिसहरू वर्षको कुनै पनि समयमा, दिन वा रात भ्रमण गर्न सक्षम हुनेछन्। त्यहाँ फाइबर अप्टिक केबल मार्फत सूर्यको किरण पुर्‍याउने गरी रूख र बिरुवाहरू फूल्न तथा फल्न सक्नेछन्।

‘लो‘लाइन पार्क’मा बिरुवा हुर्काउन सकिन्छ भने प्रतिकूल अवस्थामा खाद्य सुरक्षा सुनिश्चित गर्न यस्ता खाली भूमिगत ठाउँमा बिरुवा हुर्काउने वा खेती गर्नेबारे गम्भीरता पूर्वक किन नसोच्ने ? उनले लन्डनमा एउटा भूमिगत खेती परियोजना देखिन्, जुन दुई युवा व्यवसायीले सुरु गरेका हुन् । उनीहरुले यसअघि प्रयोग नगरिएका पुराना भूमिगत बङ्करहरूमा यस्तो खेती सुरु गरे। यो खेती व्यवसाय निकै सफल भएको छ ।

त्यहाँ ‘एलईडी’ बत्ती जडान गरिएको छ। स्विट्जरल्याण्डमा पनि यस्तै परियोजना चलिरहेको छ र यहाँ पनि त्यही रणनीति अपनाएको छ । धेरै भूमिगत ठाउँहरूमा च्याउ खेती भइरहेको छ। सियोलको भूमिगत सबवे स्टेशनमा यात्रुहरूलाई सलाद हुर्काइन्छ र बेचिन्छ।

यस्तै योजना फ्रान्समा पनि सुरु भएको छ । बेलायतमा बन्द भइसकेका पुराना कोइला खानी भित्र खेती गर्ने सुझाव पनि आएको छ । भूमिगत ठाउँहरूमा खेती गर्ने एउटा फाइदा यो हो कि त्यहाँ कुनै कीरा र चराहरू छैनन् । जसले बालीलाई नोक्सान गर्न सक्छ। एकै समयमा खेतहरूबाट शहरहरूमा अन्न लैजाँदा ढुवानीबाट कार्बन उत्सर्जन पनि कम गर्न सकिन्छ।

भूमिगत बाली उब्जाउन जमिनमा उब्जाएको बाली भन्दा कम पानी र ठाउँ चाहिन्छ। भूमिगत परिसरहरूमा तापक्रम स्थिर रहन्छ, त्यसैले तिनीहरूलाई चिसो गर्न इन्धनको आवश्यकता पर्दैन र तिनीहरूको मर्मतसम्भार पनि सस्तो छ।

कुबेर पेटीको बाहिरि भाग ।

खन्ने चुनौती

अमेरिकाको मेरिल्याण्ड युनिभर्सिटीका सहरी योजना अध्ययन कार्यक्रमका निर्देशक प्रोफेसर क्लारा इराजाबेल अहिले विश्वका अधिकांश जनसंख्या सहरमा बस्न थालेको विश्वास गर्छिन् । यस्तो अवस्थामा ठाउँको अभाव हटाउन भूमिगत कम्प्लेक्स निर्माण गर्नु राम्रो तर साहसी विकल्प हुनसक्छ ।

उनका अनुसार ‘जमिनमुनि भवन निर्माण गर्दा लागत बढी हुने र प्रक्रिया झन्झटिलो हुनेछ। त्यसपछि भवन संरचनाको स्थायित्व सुनिश्चित गर्न, वाटरप्रुफिङ, भेन्टिलेसन र मर्मत गर्न पनि थप चुनौतीपूर्ण हुनेछ। यसका लागि आधुनिक प्रविधि चाहिन्छ। भूमिगत भवनहरू डिजाइन गर्दा, हामीले त्यहाँ बस्दा हाम्रो दिमागमा कस्तो प्रभाव पार्छ भनेर पनि सोच्नुपर्छ किनभने बाढी वा आगलागीको खतरा भएको ठाउँमा बस्न सजिलो नहुने उनको भनाइ छ ।

प्रोफेसर क्लारा इराजाबेल भने आकाश र सूर्यको किरण बिना प्राकृतिक संसारबाट अलग्गै जीवन बिताउँदा निश्चित रूपमा मनोवैज्ञानिक असर पर्ने विश्वास गर्छिन्। यो नकारात्मक पक्षलाई नजरअन्दाज गर्न नसकिने उनको बुझाइ छ । भूमिगत जीवनको अर्को समस्या यससँग सम्बन्धित विश्वासहरू हुन्। ओस्कार अवार्ड विजेता कोरियन फिल्म ‘प्यारासाइट’ ले बेसमेन्टमा बस्ने गरिब परिवारको कथालाई चित्रण गरेको छ ।

सियोलमा यस्ता ‘बन्जिया’ घरहरूमा करिब दुई लाख मानिस बस्छन्। उनीहरुले बाढी र कीराहरूको समस्याको सामना गर्नु परिरहेको छ । यी समस्याहरू समाधान भए तापनि यस प्रकारको जीवनसँग सम्बन्धित नकारात्मक धारणालाई समाधान गर्न अझै गाह्रो छ।

प्रोफेसर क्लारा इराजाबेलका अनुसार भूमिगत जीवन सधैं गरिबीसँग जोडिएको छ। र, जमिनभन्दा माथि बस्ने साधन नभएकाहरू जमिनमुनिको घरमा बस्ने जनविश्वास छ । उनी भन्छिन्, ‘यसबाहेक दोस्रो कुरा के हो भने मानिसलाई जमिनभन्दा माथि बस्ने बानी छ, रीतिरिवाज र परम्पराअनुसार बाँच्ने भएकाले हामीलाई आफ्नो बानी परिवर्तन गर्न सजिलो छैन । तर हामीले साहसी र सृजनात्मक सोच अपनाउनुपर्छ ।’

अहिले पनि संसारका धेरै शहरहरूमा सपिङ मल, क्यासिनो र रेलहरू भूमिगत छन्। त्यो प्रणालीलाई अझ धेरै बलियो र राम्रो बनाउनु अबको आवस्यकता हो । ताकि आवासीय परिसरहरू पनि भूमिगत बनाउन सकियोस् ।

मुख्य प्रश्न त फेरि पनि उही छ, ‘के हाम्रो भविष्य भूमिगत हुनेछ ?’

संसारभर नै धेरै मानिस सहरतिर सर्दै छन्, र सहरमा ठाउँको अभाव बढ्दै गएको छ । त्यसपछि जमिन मुनिको तापक्रम नियन्त्रण गर्न सजिलो हुन्छ र प्रविधिको सहयोगले त्यहाँ प्राकृतिक प्रकाश ल्याउन र तरकारी खेती गर्न सकिन्छ ।

वास्तवमा, हामीसामु वास्तविक चुनौती भनेको भूमिगत जीवनसँग सम्बन्धित धारणा परिवर्तन गर्ने र भूमिगत भवनहरू निर्माण गर्न स्रोत जुटाउने हो।
तर आधुनिक विश्वले सामना गरिरहेको जलवायु परिवर्तन र बढ्दो जनसङ्ख्याको समस्यालाई हेर्दा हामीसँग गहिराइमा जानुको विकल्प छैन ।

बीबीसी हिन्दीबाट अनौपचारिक अनुवाद सहित साभार ।


प्रतिक्रिया दिनुहोस्