के हामीले पनि स्वदेशी ‘ग्यास’मा खाना पकाउने दिन आउँदै छ ?
काठमाडौँ । विजुली चुल्होको सुन्दर सपनालाई एकातिर पन्छाउने हो भने हामीमाझ अर्को स्वप्न छ– आफ्नै देशको ग्यासमा खाना पकाउने । ‘स्वदेशी’ भन्ने बित्तिकै ‘सस्तो’ हुन्छ भन्ने कुनै सुनिश्चितता पनि छैन र जरुरी पनि छैन ।
सिमेण्टदेखि चिनीसम्मका सामग्रीमा विदेशीभन्दा स्वदेशी सामानकै लागि नेपाली उपभोक्ताले ज्यादा मूल्य चुकाउनु परिरहेको छ । तर आफ्नो देशको उत्पादन भनेर गौरवप गर्न सकिन्छ ।
साँच्चै नै नेपालमा व्यावसायिक रुपले प्राकृतिक ग्यासको उत्पादन थालियो भने त्यसले राष्ट्रिय अर्थतन्त्रलाई थोरबहुत सहयोग गर्ने नै छ । यसले स्वदेशमा रोजगारी सिर्जना गर्न, प्राकृतिक ग्यासको आयात कम गर्न र थोरबहुत राजस्वमा पनि सकारात्मक योगदान पुग्ने छ ।
यही प्रतीक्षाको घडि अब नजिकिन थालेको छ ।
पेट्रोलियम अन्वेषणका लागि दैलेखमा भइरहेको उत्खनन अन्तिम चरणमा पुग्न लाग्दा त्यहाँ प्राकृतिक ग्यास रहेको हुन सक्ने कैयौँ सङ्केतहरू भेटिएको सरकारी अधिकारीहरूले बताएका छन्।
चीनको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको ‘ड्रिलिङ’ अन्तर्गत गहिराइसम्म उपकरणको सहायताले सतहदेखि ४,००० मिटर गहिराईसम्म खनेर नमुना निकाल्न सुरु भएको थियो। गत शुक्रवारसम्म ३,९४४ मिटर गहिराइसम्म ड्रिलिङ सकिएको विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ।
बाँकी ५६ मिटर ड्रिलिङ छिट्टै सकिने आँकलन गरिएको परियोजनाका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन्।
तर प्राप्त नमुनाहरूको विश्लेषणपछि मात्रै व्यावसायिकरूपमा ग्यास उत्खननको सम्भावना रहे–नरहेको थाहा हुने खानी तथा भूगर्भ विभागका विज्ञहरूको भनाइ छ।
चीनको चाइना जिओलोजिकल सर्वेले दैलेखको जलजलेमा पेट्रोलियम अन्वेषणको दोस्रो चरणको काम सक्न आगामी फागुन १६ (फेब्रुअरी २८) सम्मको समयसीमा पाएको छ।
तर त्यहाँबाट व्यावसायिक रूपमा पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने निर्क्योलका लागि अझै समय लाग्ने अधिकारीहरुको भनाइ छ । त्यस्तो कुरा थाहा पाउन अहिले खनन (ड्रिलिङ)का क्रममा सङ्कलन गरिएका चट्टानका नमुना थप अध्ययनका लागि चीन पठाइने छ। त्यसको विश्लेषण समेतका आधारमा मात्रै त्यहाँ कति मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने थाहा हुने छ ।
चीनबाटै ल्याइएका उपकरणहरुको सहायताले हरेक २४ घण्टामा औसत ४० मिटर ड्रिलिङ भइरहेको छ । यसरी हरेक १ मिटरको ‘इन्टरभल’मा प्राप्त हुने चट्टान वा माटोलाई नमुना (स्याम्पल)को रुपमा संकलन गरिएको छ ।
ती नमुनाहरु दैलेखमै स्थापना भएको भूगर्भ प्रयोगशाला (जिइओलोजी ल्याब)मा नेपाली र चिनियाँ भूगर्भशास्त्रीहरुले परीक्षण गरिरहेका छन् । ती नमुनाहरु थप परीक्षणका लागि चिनियाँ ल्याबमा पठाइने भएको हो ।
विभागका अनुसार चिनियाँ पक्षले दिने प्रतिवेदनबारे थप अध्ययन पछि मात्रै दैलेखमा व्यावसायिक रूपमा पेट्रोलियम पदार्थको उत्खननको सम्भाव्यता पत्ता लाग्छ।
विभागका अधिकारीहरूका अनुसार ड्रिलिङका क्रममा उक्त क्षेत्रमा पेट्रोलियम पदार्थ रहेका ‘सकारात्मक सङ्केतहरू’ भेटिएका छन्। ड्रिलिङका क्रममा २,२०० मिटरको गहिराइबाटै ग्यास भेट्न सुरु भएको र त्यसभन्दा तलको गहिराइमा पनि विभिन्न तहमा ग्यास भेटिएको छ ।
अधिकारीहरुका अनुसार अहिलेसम्म भएको अध्ययनले प्राकृतिक ग्यास‘ छ कि छैन’ भनेरमात्रै पत्ता लगाउने छ । तर त्यो ग्यास साँच्चै व्यापारिक महत्त्वको वा व्यावसायिक उत्पादन योग् हो वा होइन भनेर छुट्ट्याउन चाहिँ थप अध्ययन र विश्लेषण हुन जरुरी हुन्छ।
चट्टानमा भएका छिद्रको अध्ययनबाट भण्डारणको अवस्था पत्ता लगाउन सकिन्छ। त्यहाँ भएका सोर्स रक र रिजभ्वेर रक ग्यास वा तेलको स्रोत बन्न सक्ने किसिमका छन् कि छैनन् भन्ने आधारमा भण्डारण कत्रो छ भनेर विश्लेषण गर्नु पर्ने अधिकारीहरु बताउँछन् । त्यसैले चीनबाट समेत परीक्षणको नतिजा आइसकेपछि मात्रै नेपालमा कुन स्तरको भण्डारण हुन सक्छ भन्न निक्र्योल हुने छ ।
दैलेखसँगै पाल्पाको तानसेन क्षेत्रमा पनि चिनियाँ सहयोगमा पेट्रोलियम अन्वेषणको प्रारम्भिक अध्ययन भएको छ । विभागले चितवन र लुम्बिनीमा पेट्रोलियम अन्वेषणका लागि बोलपत्र आह्वान गरे पनि तोकिएको शर्त पूरा गरेका कम्पनीहरूबाट आवेदन परेन ।
विगतमा नेपालका विभिन्न स्थानमा पेट्रोलियम अन्वेषणको कार्य अघि बढाइएको भए पनि बाँकी स्थानमा थप प्रगति हुन नसकेको विभागले जनाएको छ।
नेपालको दक्षिणी भाग, चुरे र महाभारत आसपासको क्षेत्रमा पेट्रोलियम हुनसक्ने सम्भावना औँल्याइएको छ। विगतमा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् पेट्रोलियम कम्पनीहरू छानेर अन्वेषणको कार्य अघि बढाइएको थियो। वि.सं. २०४५ सालमा मोरङको बाहुनीमा ३,५०० मिटरसम्म ड्रिल गर्दा त्यहाँ पेट्रोलियम पाइएको थिएन।
सरकारले देशभरि १० वटा ‘ब्लक’ (क्षेत्र)मा अन्वेषणको कार्य अघि बढाउनका लागि काम गरिरहेको छ । विगतमा ती ब्लकहरूमा युरोप, अमेरिका र अरब राष्ट्रहरूले काम गरेका थिए। यद्यपि वर्षौँसम्म त्यसमा प्रगति हुन नसकेपछि उनीहरूसँगको सम्झौता सरकारले रद्द गरिएको थियो।
नेपालले १० वर्षअघि सन् २०१४ मा अमेरिकाको बीबीबी च्याम्पियन र दुबईको इमिरेट्स असोसिएटेड बिजनेस ग्रुपको अनुमति रद्द गरेको थियो। त्यस्तै सन् २०१५ मा अमेरिकी कम्पनी टेक्साना रिसोर्सेस र यूकेको केन इनर्जीको पनि इजाजत रद्द गरियो।
नेपालको तराई र शिवालिक क्षेत्रमा सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि झन्डै पाँच–पाँच हजार वर्ग किलोमिटरका १० वटा ब्लक (क्षेत्र) छुट्टाएको छ। ती ब्लक पूर्वदेखि पश्चिमसम्म फैलिएका छन्।
चीनले अघि बढाएको अध्ययनमा प्रगति देखिए नेपालमा पेट्रोलियम अन्वेषण गर्ने कार्यमा धेरैको आकर्षण बढ्ने अपेक्षा सरकारी अधिकारीहरू गर्छन्। तर शिवालिक पर्वत श्रृङ्खला (चुरे)भन्दा दक्षिणमा चाहीँ पर्याप्त आधारहरु फेला पर्न सकेको छैन ।
स्रोतः बीबीसी नेपाली सेवा ।